उदयका तीन कविता

२०७७ जेठ १२ सोमबार १५:३९:०० मा प्रकाशित

  १. स्वतस्फुर्त
 
मिल्केको लेकमा लालि गुराँस फुलेछ
बिना आदेश र बिना अनुमति ।

हाँस पोखरीको जंगलमा
क्यामुना लटरम्मै पाकेछ
कसैलाई नसोधि ।

हिमालबाट हिँऊ
पग्ली झरेछ 
केही खेतहरू
केही पर्यटकका थोत्रा पालहरू
पनि बडारेछ
पर्यटन मन्त्रालयलाई जानकारी नै नदिई ।

अरू त अरू 
न्यायाधीशको दारी बढेछ
सेतै चुना पोतेर
बेञ्चलाई सुँइकै नदिई ! 

 

२. यो विज्ञानको युग

तलाउ, झिल र पोखीहरूमा
बिम्ब खोज्न कठिन हुन्छ 
किनकि बारूदले पानी धमिल्याएको
वा त पक्कै हल्लाएको हुनुपर्छ ।

यो वैज्ञानिक युग
मान्छे खोज्न निकै कठिन हुन्छ
मान्छे खोज्न
अक्करको पहरो छिचोलेर
सुदुर गाउँ पुग्नुपर्छ ।

सुदुर बस्ती छुनुपर्छ
सिंगमर्मरको भुँई र हिलजुत्तामा यो संभव होला र ?

यो विज्ञानको युग पनि साह्रै मापाको बा !
मान्छे जमिन टेकेर आकाश टेकेँ भन्छ
टेकेको जमिन बिर्सेर
दिनको सयफिट तल झर्छ
तै पनि म उचैछु 
अलग्गैछु संझन्छ
कमिलाले हात्ती पछारेको कथा जस्तो
श्याल र अमिलो अंगुरको कथा जस्तो ।

यो त विज्ञानको युग
मान्छे भन्दा बढी
कार्टुनको महत्व हुन्छ 
रोबर्टको क्यानभासमा सजाइएको
चित्रको आँखाहरूले
पढेको ढोलकको संवाद मीठो हुन्छ
बजाएको बाजा रमाइलो हुन्छ
मान्छे यतिबेला रोबर्टको आँखाबाट विश्व हेरिरहेछ
र नदेख्नुपर्ने देखिरहेछ 
देख्नुपर्ने  छोपिरहेछ,

उसो त सिंहाशनमा बसेको मान्छे 
सधै धृतराष्ट्र नै हुन्छ
विज्ञानको युगमा मान्छे कम र 
बढी धृतराष्ट्र नै फल्छ
यो विज्ञानको युग बढी र,


ज्ञानको युग कमै भएकाले हनुपर्छ
तलाउ, झिल र पोखरीहरूमा
 विम्ब खोज्न कठिन हुन्छ
पानी कि त हल्लिएको हुनुपर्छ 
कित धमिलिएकै हुनुपर्छ ।

विम्ब भेट्न कठिन हुन्छ
साँच्चिकै मान्छेको विम्ब पाउन त 
बढ्तै कठिन हुन्छ ।

 

३. हेडसर र हेडमास्टरहरू

 उहिले उहिले
हाम्रा पालामा
हाम्रा हेडसर मान र सम्मान भन्दा माथि हुनुहुन्थ्यो
लोभमोहको डंगुर फोहरभन्दा अलिकति परै हुनुहुन्थ्यो
अलिकति मान्छे र अलिकति मान्छेभन्दा माथि उठेर
उहाँ स्कूलको घण्टी ठोक्दै
नानीहरू मात्र होइन 
सिंगो युगनै ब्युँझाउनु हुन्थ्यो
सिंगै गाउँनै उठाउनु हुन्थ्यो 
उहाँ हेडसर थोरै र बढी गुरु हुनुहुन्थ्यो
हो साँच्चिकै उहाँ बढ्ता चैं गुरु नै हुनुहुन्थ्यो ।

आफ्नो सबैथोक त्यागेर
भविष्य नै छाडेर
वर्तमानको लौरो टेक्दै टेक्दै
अरूकोलागि उकालीमा फोक्सोभरी हावाको बच्छेबाजा ख्याँ ख्याँ बजाउँदै बजाउँदै 
छाती फुलाउँदै फुलाउँदै
उकालिनु हुन्थ्यो 
र आफूलाई ओरालेर अरूहरूलाई उकाल्न
आगतको चुचुरो बनिदिनु हुन्थ्यो 
साँच्चिकै उहाँ हेडसर कम 
र बढ्तै गुरु हुनुहुन्थ्यो ।

 

आफ्नी प्रियतमाका तमाम इच्छाहरूलाई बगाएर 
काखको प्रिय सन्तानलाई  आमाको दूधमै छाडेर
आफ्नो मझेरीको पूर्ण सुख सयल र विलासलाई तिलाञ्जली दिएर
खाऊँ खाऊँ र लाऊँ लाऊँको बाईसे बयमा
अर्काको लोटा रुँङ्दै रुङ्दै विगतमा सधैं सधैं
पाहुना बनेका
 वर्तमानका बूढा कपाल दाह्री सेतै फुलेका बेदव्यास
वा विश्वामित्र वा त द्रोणाचार्य
हाम्रा हेडसर
उहाँ सतोसत् धरोधरम्
हेडसर कम र बढ्ता गुरु नै हनुहुन्थ्यो
बढ्ता त धरोधरम् गुरु नै हुनुहुन्थ्यो । 

 

ऐले पनि हेडसरहरू छन्
तर हेडसर कम र बढ्ता कायर्कर्ता छन्
सज्जनको व्याकरणमा उनीहरू खामिएका छैनन्
दुष्ट वर्णविन्यासमा उनीहरू उखुम दरिएका छन्
अर्थात् गुरु कम र बढ्ता हेड्मास्टर छन्
खसोखासमा उनीहरू हेडमास्टर नै हुन् ।

 

हाम्रा हेडसर वर्तमानमा युवालाई साटेर
समयसँगै कच्याककुचुक अनुहारमा देखिए पनि
सुकिलो पथमा सजिनुभएको छ
ऐनामा खासगरेर हाम्रा ऐनामा
उहाँ ऐले पनि हेडसर थोरै 
र यद्यपि  गुरू  धेरै हुनुहुन्छ
यद्यपि गुरू बढ्तै हुनुहुन्छ ।
 

ताजा खबर