केबी गुरुङ्गको आपत्तिजनक कथन

२०७७ जेठ ९ शुक्रबार १५:५५:०० मा प्रकाशित

 २०७२ फागुनमा सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी नेता शेरबहादुर देउवा सभापतिको उमेदवार बन्दा ना नेता कुलबहादुर गुरुङ्गले पार्टी केन्द्रिय समितिको बैठकमा सदस्यका रुपमा उपस्थित भएर देउवालाई महाधिवेशनताका आफु प्रस्तावक नै रहेर उनलाई सो पदमा आसिन गराएको तर त्यस यताका २६ महिनामा उनका बचन र कामलाई हेर्दा आफ्नो अपेक्षामा ठेस लागेको जनाउँदै नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङ्गले पार्टी केन्द्रिय समितिको बैठकमा सदस्यका रुपमा उपस्थित भएर देउवालाई महाधिवेशनताका आफुले दिएको त्यो समर्थन फिर्ता लिएको व्यहोराको पत्र प्रस्तुत गर्नुभएको रहेछ । सो पत्रलाई नुवाकोट एक्स्प्रेस डट कमले २०७७ जेठ ९ को डेटलाइनमा  (पुनः ?) प्रकाशन गरेको रहेछ ।

त्यस पत्रको एउटा खण्डमा “२०३३ साल पौष १६ गते वीपी निर्वासनलाई परित्याग गरी नेपाल आउनुभन्दा अगाडि वीपी कोइरालाको ज्यान जोखिमबाट बचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालिन सरकारले मलाई मारे वीपी नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने शर्तमा (आफू) नेपाल आएको....” लेखिएको रहेछ । सम्बन्धित अनलाइनले उहाँका कुरालाई जस्ताको तस्तै राखेको हो भने उहाँको त्यो अभिव्यक्ति आपत्तिजनक छ । किनभने त्यस कथनले उसबेला वीपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको प्रस्थापनालाई अपव्याख्या गर्छ । त्यस कथनले वीपीको व्यक्तित्वको अवमूल्यन समेत गर्छ ।

राष्ट्रिय एकता तथा मेलमिलापको नीति वीपीको नेपाल फिर्तिको आधारभूमि थियो । त्यसका लागि उहाँ जस्तोसुकै जोखिम मोल्न तयार हुनुहुन्थ्यो । स्वदेश आगमन पश्चात मृत्यु दण्ड दिइन्छ भन्ने भयमा उहाँ त्यो नीति त्याग्ने वा बदल्ने मानसिकतामा हुनुहुन्नथ्यो । यस तथ्यलाई गुरुङ्गजीको भनाइले खण्डित गर्छ ।

वीपीभन्दा करिब डेढ महिना पहिले (कार्तिक २८ गते ?) कुलबहादुर गुरुङ्ग, वासु कोइराला र म एकसाथ नेपाल आएका हौं । त्यसबेला निर्वासन त्यागेर स्वदेश फर्कने पहिलो टिममा थियौं हामी तीन जना । त्यसैले राष्ट्रिय एकता तथा मेलमिलापको नीतिप्रति गुरुङ्गजीको आफ्नो निजी बुझाइ त्यस्तो थियो भने बेग्लै कुरा हो तर तथ्य भने त्यस्तो होइन । त्यस सन्दर्भलाई प्रत्यक्ष भोग्ने योद्धाहरु अब धेरै हुनुहुन्न, त्यसैले गुरुङ्गजीको अभिव्यक्तिलाई सच्याउनु मैले कर्तव्य ठाने अन्यथा इतिहासमा एउटा गलत सूचना अभिलेख रहनेछ । म गलत भए, बासु दाइलाई मेरो भनाइ सच्याइदिन यही टिपोट मार्फत आग्रह गर्दछु । उहाँ अहिले सर्लाहीमा हुनुहोला ।

गुरुङ्गजीकै कुरा मान्ने हो भने त कथम् ‘उहाँ’ लाई मारेको भए वीपी नेपाल फिर्नु हुने नै थिएन । उसोभए उहाँलाई मार्ने नमार्ने टुङ्गै नलागी वीपी कसरी नेपाल फिर्नु भयो त ? हामी पटनाबाट तत्कालिन शाही नेपाल वायु सेवा निगमको विमानबाट आएका थियौं । विमानस्थलमै हामीलाई गिरफ्तार गरेर थुनामा राखियो र हामीमाथि मुद्दा चलाउने प्रक्रियामा थियो तत्कालिन सरकार । मुद्दा फैसला हुने बेला भएकै थिएन । सजाय के हुन्छ टुङ्गै थिएन ।

अर्को कुरा त्यसको एक डेढ बर्षपछि वीपी अमेरिकामा उपचार गरेर फिर्दैगर्दा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई अप्रत्यासित रुपमा मृत्यु दण्ड दिइयो । वीपी भारत आइपुगेपछि उहाँका अनुयायी, शुभचिन्तक र मित्रहरु धेरैले थापा र श्रेष्ठलाई दिएको मृत्युदण्ड तपाईंका लागि चेतावनी हो, तपाईंको ज्यान जोखिममा छ, नेपाल जानुहुन्न भनेर भनेका थिए तर उहाँले कसैको कुरा सुन्नु भएन । उहाँ काठमाडौं आउनु भयो र पुनः गिरफ्तार हुनुभयो ।

राष्ट्रिय एकता तथा मेलमिलापको नीति र वीपीको नेपाल फिर्ति ऐतिहासिक महत्वको परिघटना हो । त्यसैको पृष्ठभूमिमा जनमत संग्रह र पछि जनआन्दोलन भयो र नेपालमा तीस बर्षे पञ्चायती शासन व्यवस्थालाई समाप्त गरेर प्रजातन्त्रको पुनःस्थापना गर्न सफलता मिल्यो । त्यसबेला वीपीको स्वदेश फिर्ति नभएको भए इतिहासको मोड कस्तो रहन्थ्यो यसै भन्न सकिन्न ।

बन्दाबन्दीमा घर बसेका बेला समय कटाउने एउटा सहज साधन सामाजिक सञ्जाल भएको छ । फेसबुक लगायतका सामाजिक सञ्जालतिर मेरो ध्यान यसअघि उति गएको थिएन । त्यस्तै थरिथरिका अनलाइनहरु बारे पनि मलाई उति जानकारी थिएन । यसपालि भने चाहेर/नचाहेर समय कटाउन यिनै माध्यममा अल्झिनु परेको छ ।

अर्को कुरा यतिबेला चर्चाको शीखरमा छ भारतले मिचेको नेपालको पश्चिमी सीमाना क्षेत्रको केही भूभाग । कालापानीमा रहेको भारतीय सैनिक क्याम्प कहिलेदेखि र कसरी त्यहाँ बस्यो भनेर निकै खोजि भइरहेको छ । कतिले त्यस क्याम्पलाई उसबेला नेपालको उत्तरी सीमामा रहेका भारतीय सुरक्षा पोस्टसँग दाँजेर १६र१७ ती पोस्ट कीर्तिनिधि बिष्ट प्रधानमन्त्री भएका बखत हटाइए पनि कालापानीको त्यो क्याम्प हटेन भने जस्तो पनि सुनियो तर मैले सुने जाने अनुसार उपरोक्त सुरक्षा पोस्ट र कालापानीको क्याम्प फरक समयका कुरा हुन् ।

सन् १९६२ मा भारत चीन युद्ध अन्त्य भएपछि चीनको सीमा क्षेत्रमा पुगेको भारतीय सैनिक टोली फर्केर कालापानीमा बसेको हो । त्यसको जानकारी नेपालको तत्कालिन सरकारलाई कहिले कसरी प्राप्त भयो भन्नेमा ठोस कुरा हालसम्म सार्वजनिक भए जस्तो लाग्दैन । विश्ववन्धु थापाले आफु त्यसबखत गृहमन्त्री रहेको र त्यसको जानकारी राजा महेन्द्रलाई गराउँदा उनले अहिले त्यो कुरा रहन देऊ भनेको जस्ता कुरा पनि चर्चामा छन् ।


हालै एक टेलिभिजन अन्तरवार्तामा थापाले त्यस प्रयोजनका लागि नेहरुले राजा महेन्द्रलाई पत्र पठाएका थिए पनि भनेको सुनियो । त्यो पत्र आएको भए दरबारको अभिलेखालयमा त्यो पक्कै होला । त्यो पत्र फेला परे अहिलेको सन्दर्भमा भारत समक्ष प्रस्तुत गर्ने एउटा निर्णायक प्रमाण हुनसक्छ ।

ऐतिहासिक दस्तावेजको महत्व कति हुन्छ भन्ने कुरा अहिले हामीले राम्ररी अनुभूत गरेका छौं । त्यसै सन्दर्भलाई ध्यानमा राखेर गुरुङ्गजीको कथनलाई सच्याउने जमर्को गरिएको हो । अन्यथा कसले कहाँ के बोल्छ भन्ने कुरा पंक्तिकारको चासोको बिषय होइन ।


 

ताजा खबर