कोरोना महामारीः सरकारसँग जनताको असन्तुष्टि, यस्ता छन् पाँच कारण

२०७७ जेठ ६ मंगलबार १६:०१:०० मा प्रकाशित

काठमाडौं । कोभिड–१९ महामारीको सुरुवातमै सरकारले घोषणा गरेको लकडाउनलाई जनस्तरबाट साथ दिइयो । यसले लकडाउनको सुरुवातीकाल विशेष सफल बन्न सक्यो । सरकारले सुरु देखि नै लकडाउनको अवधि लामो नहुने आशय व्यक्त गरेको थियो ।

तर, विश्वभर संक्रमणको जोखिम बढ्दै गयो । सोहीकारण नेपालमा लकडाउन बढाउनुलाई स्वभाविक मानियो । सातौं पटकसम्म लकडाउन बढाउँदा पनि जनस्तरबाट विरोध भएको छैन । तर, सरकारका पछिल्ला काम र घटनाक्रमले गर्दा भने जनमानसमा आक्रोश फैलिइरहेको छ ।

कारण १ः

गत बिहीबार धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भयो । सो घटनाको जानकारी शनिबार मात्र सार्वजनिक गरियो ।


ती महिला त्रिवि शिक्षण अस्पतालमा केही समयअघि सुत्केरी भइ टोखा क्षेत्रमा बसेकी थिइन् । त्यहाँबाट उनी सिन्धुपाल्चोक पुगेकी थिइन् । समयमै यो घटना बाहिर नल्याउँदा ती क्षेत्रका बासिन्दाहरु सतर्क हुन पाएनन् । ढिलो खबर हुँदा संक्रमणको जोखिम बढेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिने क्रम बढ्यो ।

ती महिलाको मृत्यु भएकै दिन संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । कोरोनाको कारण कुनै व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार प्रतिबद्ध रहेको राष्ट्रपतिले उद्घोष गरिन् ।

बिहीबार नै यो घटना बाहिरिएको भए नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने हुन्थ्यो । अहिले नियतबश नै घटना लुकाइएको आशंका जनस्तरमा व्यक्त भइरहेको छ । 

कारण २ः

यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ८७ पुगिसकेको छ । यी सबैजना कोरोना रहेको पुष्टि अत्याधुनिक प्रविधिबाट भएको हो । ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट गरिने परीक्षणको संख्या बढेसँगै बिरामी बढी देखिएको बताइने गरिएको छ ।

तर, गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको सम्पूर्ण परिवारको परीक्षण रिपोर्ट नेगेटिभ आयो । यो सँगै परीक्षण विधिमै शंका गर्न थालिएको छ ।

तीव्र गतिमा संक्रमण फैलिने हुनाले कोरोना भाइरसको प्रकृति खतरनाक रहेको बतान्छ । ती महिला सुत्केरी भएकाले एक्लै हिँड्न नसक्ने र साथमा हिँडेका परिवारका सदस्यमा समेत संक्रमण नदेखिएको घटना पत्याउन सकिने नरहेको आवाज उठिरहेको छ ।

जनस्वास्थ्यविज्ञहरु समेत कोरोना परीक्षणको शैलीमा प्रश्न उठाइरहेका छन् । कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप परीक्षण नगर्ने र पोजेभिट आएमा तीन–चार पटकसम्म परीक्षण गर्ने प्रवृत्ति सही नभएको एक जनस्वास्थ्यविज्ञले सरल पत्रिकालाई बताए । उनले क्षयरोग (टीबी) परीक्षणको उदाहरण दिँदै भने, ‘टीबीको परीक्षण तीन पटक गरिन्छ । एक पटक मात्र पनि नतिजा पोजेटिभ आएमा ती व्यक्तिलाई टीबी रहेको मानिन्छ ।’ तर, कोरोनाको घटनामा भने नेगेटिभ आउँदा थप परीक्षण नगर्ने र पोजेटिभ आइसक्दा पनि पटकपटक परीक्षण गर्नु गलत रहेको उनले बताए ।  

कारण ३ः 

गत आइतबार बाँके जिल्लाको क्वारेन्टिनमा एक युवकको मृत्यु भयो । वैशाख ३० का दिन भारतबाट नेपाल आएका २५ वर्षका ती युवा नरैनापुरस्थित दीपेन्द्र माविको क्वारेन्टिनमा थिए ।

त्यही बसेका उनको स्वास्थ्य बिग्रिइ मृत्यु भयो । ज्यान जोगाउन परदेशबाट फर्केका युवाले सुविधा बिहीन क्वारेन्टिनमा ज्यान गुमाए । उनले जीवन जल नपाएर ज्यान गुमाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश बढीरहेको छ ।

नरैनापुरको सो क्वारेन्टिन केन्द्र त नमुना मात्रै हो । नेपालमा अहिले क्वारेन्टिन भनिएका अधिकांश स्थानको हालत यस्तै छ । कोरोना उपचार केन्द्र भनिएका स्थानमा समेत न्यूनतम आधारभूत सुविधा छैन ।

लकडाउन गरेर मात्रै कोरोनाको प्रकोप नियन्त्रण नहुने पक्का छ । यसका लागि परीक्षण र उपचारमा ध्यान दिनुपर्नेमा सरकारको चासो नगएको भन्दै जनमानसमा आक्रोश बढेको छ । 

कारण ४ः 

चैत्र ११ बाट सुरु भएको लकडाउन सात पटक लम्बिइसकेको छ । लकडाउन गरेर आवागमन रोक्दै कारोना संक्रमण फैलन नदिने आश्वासन दिएपनि व्यवहारमा भने यस्तो हुन सकेको छैन ।

व्यापक रुपमा कोरोना फैलिएको भारतबाट दैनिक हजारौंको संख्यामा नेपाल भित्रिइरहेका छन् । नेपालमा भेटिएका अधिकांश संक्रमितसँग भारतबाट आउँदा भाइरस आएकोे पाइएको छ । लकडाउनको उद्देश्य संक्रमितलाई रोक्नु भएपनि सरकारी संयन्त्रले यसलाई रोक्न कुनै ठोस कदम चालेको छैन । फलस्वरुप सीमा जोडिएका प्रदेश २ र प्रदेश ५ मा अहिले संक्रमण अन्य क्षेत्रको तुलनामा बढी देखिएको छ ।

ती क्षेत्रबाट काठमाडौं लगायतका क्षेत्रमा पनि सहजै आवागमन हुनाले संक्रमणको जोखिम यी स्थानमा पनि बढिरहेको छ । कुनै विशेषकाम बिना नै मोटरसाइकल, एम्बुलेन्स, सामान बोक्ने गाडी प्रयोग गर्दै यी स्थानमा संक्रमितहरु आउने क्रम बढिरहेको छ । यसलाई रोक्नका लागि सरकारी संयन्त्र असफल भएको छ । सम्पूर्ण व्यापार–व्यवसाय बन्द गरेर घरमा बसेर सरकारलाई सहयोग गरिएपनि संक्रमण बढाउने यो घटनाले जनस्तरमा  आक्रोश बढिरहेको छ ।

कारण ५ : 

नेपालमा लकडाउन लागू भएसँगै कोरोना सम्बन्धी जानकारीका लागि आमनागरिकको चासो बढ्यो । यस्तोमा मिडियाले पनि नियमित रुपमा स्वास्थ्य मन्त्रालयसँग जानकारी माग्न थालेपछि दैनिक रुपमा पत्रकार सम्मेलन गरेर जानकारी दिने व्यवस्था मिलाइयो ।

तर, यो पत्रकार सम्मेलनको उद्देश्य सही सूचना दिनु भन्दा पनि मन्त्रालयले गरेका कामको बढाइचढाई गर्नु रहेको छ ।

कुल संक्रमितको संख्या र अवस्था सो पत्रकार सम्मेलन अघि नै सार्वजनिक हुने गरेको छ । ठूलो संख्यामा बिरामी भेटिएका दिन पत्रकार सम्मेलन सकिएको १ घण्टापछि प्रेस वक्तव्य मार्फत् मात्र यस्ता जानकारी दिइने गरिएको छ ।

कतिपय घटनामा कोरोना पुष्टि भएको धेरै दिनपछि मात्र बताइने गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा भेटिएकी बालिकाको संक्रमणको खबर होस् वा धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको खबर, मन्त्रालयले यसको जानकारी धरै ढिलो दिने गरेको छ । यसरी ढिलो खबर दिइँदा स्थानीय रुपमा सतर्कता अपनाउन कठिन हु्न सक्ने तथ्यलाई बेवास्ता गरिएको पाइएको छ ।

बिहीबार नै मृत्यु भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना पुष्टि भएको खबर आएपनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबारको पत्रकार सम्मेलनमा पुष्टि नभइसकेको भन्दै झुठ बोलेका थिए ।

संक्रमणको बेलामा स्वास्थ्य मन्त्रालयको भूमिका पनि सन्तोषजनक हुन सकेको छैन । अन्य मन्त्रालयले पनि यो संकटको घडीमा कुनै प्रभावकारिता देखाउन सकेका छैनन् । यिनै अकर्मण्यताका कारण नै जनता सरकारसँग असन्तुष्ट बन्न बाध्य भएका छन् ।

ताजा खबर