अति भयो, बन्द गर राष्ट्रिय झुट !

२०७७ जेठ ४ आइतबार ०९:४३:०० मा प्रकाशित

झुट पनि यतिसम्म बोल्नु कि सुन्नेले पनि पत्याईरहोस् तर यति धेरै नबोल्नु स्वयं बोल्नेलाई नै सत्य जस्तो लाग्न थालोस् । ‘अति सर्वत्र बर्जयेत्’ शास्त्रमा भनिएको छ । ‘अति भएपछि खति हुन्छ’ भनेर हाम्रा अग्रजले नै भन्दै आएका छन् । आज पनि यस भनाईको महत्व र सान्दर्भिकता हराएको छैन, जीवितै छ ।

सन्दर्भ हो, मदन भण्डारी र उनका सहयात्री जीवराज आश्रितको रहस्यमय मृत्यु ! तत्कालिन एमालेका महासचिव थिए भण्डारी र आश्रित थिए संगठन विभाग प्रमुख । पार्टीको उच्च तहमा रहेका यी दुइ नेताको मृत्युको कारणलाई तीन दशक बित्न लाग्दा पनि रहस्यमय नै मान्दै आएको छ नेपाली समाजले ।

 पार्टीहरुले आरोप प्रत्यारोपमा लाभहानीको राजनीति गरेको कुराप्रति नेपाली जनताले अनेक पटक घृणा व्यक्त गरिसकेका छन् । यसले कसैलाई छोए पनि या नछोए पनि भण्डारी र आश्रितको रहस्यमय मृत्युमाथि गरिएको राजनीतिले तत्काल कसैलाई लाभैलाभ भएको छ भने पनि कालान्तरमा उसले पनि टाउकोमा हात राखेर रुनै पर्नेछ । यसको खास कारण हो– दास ढुंगा जीप दुर्घटनाको अनुसन्धान गर्ने फोस्रो आश्वासन र निरन्तरको झुट !

बितेका २७ वर्षमा त्रिशुलीमा धेरै पानी बगिसकेको छ । मुङ्लिन – नारायणघाट मार्गको दासढुंगाबाट जिपसँगै त्रिशुलीमा खसेर ज्यान गुमाएका ती नेताका आत्माले पनि धिक्कार्ने गरी उनका अनुयायीले कम्तिमा पनि २७ पटक झुट बोलिसकेका छन्, वर्षको एकपटक – ‘दासढुंगा जीप दुर्घटनाको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्छौं’ ।

  प्रधानमन्त्री केपी शर्मा ओलीले उनका सहयात्री पुष्पकमल दाहालसँग मिलेर यसपाली पनि झुट बोले । जेठ ३ गते २७ औँ मदन – आश्रित स्मृति दिवसको अवसरमा यी दुइ नेताले यतिन्जेल वरको सिन्को पर पनि सार्न नसकेको कुरालाई चटक्क बिर्सेर स्वरमा स्वर मिलाएर फेरि पनि झुट बोलेका छन् । यिनको यो आश्वासन पत्याउनका लागि त केही न केही अनुसन्धानको काम थालिएको या गरिँदै गरेको हुनुपर्ने थियो । तर दासढुंगा जीप दुर्घटनाको एकमात्र जीवित साक्षी रहेका अमर लामाको समेत हत्या भैसकेको छ । लामाको हत्याको दोष दाहालले नेतृत्व गरेको तत्कालिन माओवादी पार्टीमाथि लागेको छ । आजका मितिमा ओली र दाहाल एउटै पार्टीको छातामुनि ओतिएर बसेका छन् । 

जेठ ३ गतेकै दिन उनीहरुले आ–आफ्ना नेतृत्वमा रहेका दुइवटा पार्टी मिसाएर एउटै बनाएका थिए– ‘नेपाल कम्युनिष्ट पार्टी’ (नेकपा) । यो जेठ ३ गते पार्टी एकताको उत्सव मनाउँदा ओली र दाहालले मिलेर झुट बोलेका छन् ‘मदन र आश्रितको रहस्यमय मृत्युको गहन अनुसन्धान गर्छौं’ भनेर । दासढुंगा जीप दुर्घटनापछि अनेक छानविन आयोग र समिति बनेका थिए । ओली स्वयंले पनि एमालेका तर्फबाट अनुसन्धानको कर्मकाण्ड गरेर कार्यकर्ताको आक्रोश शान्त बनाउने प्रयाश गरेका थिए । तर उनको अनुसन्धानको के असर पर्यो त्यो कसैले पनि जान्न पाएन । 

यसवीच देशको राजनीतिमा अनगिन्ती घटनाहरु भएका छन् । समकालिन पुस्ताले कल्पना समेत नगरेका घटनाको साक्षी बन्नु परेको छ । राजनीतिको उतारचढावमा दिवंगत भण्डारीको पार्टी एमाले शक्तिको  शिखरमै छ भन्दा अन्यथा हुने छैन । प्रतिपक्षमै रहँदा समेत तागतवर नै थियो । अहिले नेकपाको रुप धारण गरेपछि उसको शक्ति अपरम्पार भएको छ । चाहेको कुरा गर्न सक्ने सामथ्र्य भएको समयमा भण्डारी र आश्रितको आत्मालाई वैतरणी पार गराउन सके भने ओली र दाहालको पनि परत्र सुध्रने छ ।

अहिले राष्ट्र प्रमुखको पदमा रहेकी विद्यादेवी भण्डारीले भण्डारखाल छेउको सिफल चउरमा पहिलो चुनावी सभालाई सम्बोधन गर्दा ‘दासढुंगा दुर्घटनाको दोषी पत्ता लगाई छाड्ने र कडा भन्दा कडा कार्बाही गर्ने’ घोषणा गरेकी थिईन् । ‘शोकलाई शक्तिमा बदल्दै’ उनी सत्ताको शिखरमा पुगेकी छन् । त्यो रहस्यमय घटनाको गहन छानविन गरेर सत्यतथ्य प्रकाशमा ल्याउन र दोषी फेला परेमा कार्बाही गर्न अब केले रोकेको छ, केले छेकेको छ ? काम केही पनि नगर्ने अनि हरेक जेठ ३ गते झुट माथि अर्को झुट थप्दै जाने हो भने बन्द गर यो राष्ट्रिय झुट, जनतालाई बेवकूफ नबनाउ ! 

जनताले सम्मानपूर्वक दिएको दर्जा ‘जननेता’ नै दिवंगत मदन भण्डारीका लागि पर्याप्त छ, इतिहासमा त उनी स्मरणीय हुनेछन् नै । उनीसँगै छाँया बनेर अर्का नेता जीवराज आश्रितको पनि सम्झना भैरहने छ प्रत्येक जेठ ३ गते ।

तर भण्डारीको उत्तराधिकारमा पाएको सत्ता राजनीतिमा मस्त रहेका नेताले २०५० साल जेठ ३ गते भएको दासढुंगामा जीप दुर्घटनालाई अब पनि राजनीतिको जूवामा खेल्ने कौडा बनाईरहन भने पाउने छैनन् ।

सक्छौ अनुसन्धान गरेर देखाउ, सक्दैनौ जीवनभर झुट नबोल ।

अति भयो, बन्द गर राष्ट्रिय झुट !

(तस्बिर: दासढंगामा रहेको भण्डारी र आश्रितको शालिक )


 

ताजा खबर