मोफसलको पत्रकारिता अनुभूति: क्यामेरा किन्ने पैसा नहुँदा टेलिभिजन छाडें 

२०७७ जेठ १ बिहीबार १०:२३:०० मा प्रकाशित

दोलखाको पहिलो पत्रिकाको रुपमा अरुणिमा पत्रिका दर्ता भयो ।  हामीलाई एक किसिमको आनन्दको अनुभूति भयो ।  थाहा थियो पत्रिकाको दर्ता ठूलो कुरा होइन । निरन्तरता ठूलो कुरा हो । जसोतसो दर्तापछिको पहिलो अंक निकाल्ने तयारी ग¥यौं । यो अंकमा हामीले कलाकार मदनदास श्रेष्ठको अन्तरवार्ता प्रकाशन गर्ने फाइनल भयो ।

मदनदास श्रेष्ठ त्यो बेला निकै व्यस्त हुनुहुन्थ्यो । अन्तरवार्ता लिन साहित्यकार अमरकुमार प्रधान, शम्भु गौतम र म उहाँको निवास मैतिदेवी पुग्यौं । विहानको समय थियो । हामीसँग सानो टेप रेकर्डर पनि थिएन । उहाँकै ठूलो क्यासेटप्लेयरमा हामीले अन्तरवार्ता रेकर्ड ग¥यौं । त्यसलाई पछि सुन्दै उतार्दै गर्ने काम शम्भु दाइले गर्नु भयो । लामो थियो अन्तरवार्ता । यो अंकको आवरण तस्विर समेत मदनदास दाइकै राखियो । 

यो अंकमा शम्भु गौतमले धेरै मेहनत गर्नुभयो ।

 मुस्किलले अलिअलि पैसा जम्मा गरियो । पत्रिका छाप्ने प्रेस अमर दाइकै साथीले चलाउने थियो, आवर्त प्रेस । हामीले अनुमान गरेकोभन्दा पेज अलि बढ्यो । त्यसैले खर्च पनि बढी हुने भयो । हामीसँग भएको पैसाले नपुग्ने भयो ।  पत्रिका छाप्न दिने पैसा नपुगे बाँकी केहीदिन पछि तिर्ने सल्लाह ग¥यौं ।

हामीले जानेसम्म पठनिय बनाउने प्रयास ग¥यौं । पत्रिकालाई रोचक कसरी बनाउने भनेर निकै मेहनत गरियोे । चिरन्जीवी मास्के र राजेन्द्र मानन्धरले दोलखाबाट रचनाहरु संकलन गरे । थप रचनाहरु शम्भुदाइ र म भएर सम्पादन ग¥यौं । 

पत्रिकालाई खोजमुलक विषय पनि राख्ने भन्ने सल्लाह भए बमोजिम हामीले गिनिज बुक अफ वल्र्ड रिकर्डको इन्डियन एडिसन किनेका थियौं । यसो पढ्दै जाँदा हामी रन्थनियौं । त्यसमा त सगरमाथा इन्डियामा पो पर्छ भनेर लेखेको थियो । पछि हामीले त्यसलाई किताबमै करेक्सन ग¥यौं । हामी कति कच्चा थियौं भने यो पुस्तकको विषयमा त्यतिबेला कतै केही लेख्ने होस नै आएन छ । जब जब देशको सीमा मिचिएको चर्चा हुन्छ, शम्भुदाइ र म भारतीय पुस्तक र मिडियाका यस्तै विषयको चर्चा गर्छौं । 

 पत्रिकाको आवरणमा मदनदास श्रेष्ठको  फोटो छापियो । पत्रिका त निस्क्यो । तर प्रेसलाई  दुई हजार रुपयाँ तिर्न बाँकी थियो । प्रेसका मालिक आफैं पनि साहित्य रुचाउने मान्छे रहेछन् । कसरी तिर्ने होला त्यो पैसा ? घरमा माग्ने कुरा भएन । त्यतिबेला दुई हजार जम्मा गर्नपनि हामीलाई कठिन हुन्थ्यो ।

 शम्भु दाइ र म एकदिन नेपाल वायु सेवा निगम अगाडिबाट ट्याम्पु चढ्न लागेका थियौं । शम्भु दाइ त अचानक फु्त्त अर्को भित्तातिर हानिनु भो । मपनि भीड छिचोल्दै उहाँ भएकै ठाउँमा पुगें ।

‘ट्याम्पु चढ्न लागेको मान्छे, किन यता हुत्तिनु भएको ?’— मैंले सोधें ।

‘देखेनौ ? त्यो प्रेसवाला ठ्याक्कै अगाडि आई हाल्यो । पत्रिका छापेको पैसा माग्यो भने के दिनु ?’— शम्भु दाइले हतार हतार भन्नु भयो ।

हामी दुवैजना लज्जित भयौं ।

यो २०५० सालको कुरा हो ।

त्यही वीचमा राजधानीबाट धेरै दैनिक र साप्ताहिक पत्रिकाहरुको प्रकाशन सुरु भयो । मपनि राजधानीमै नेपाल जागरण साप्ताहिकमा रिपोर्टिङ गर्न थालें ।

त्यतिबेला नेपाल जागरण साप्ताहिकको प्रधानसम्पादक धनन्जय शर्मा अधिकारी हुनुहुन्थ्यो । प्रकाशक कैलाश प्रधान । मलाई नेपाल जागरणमा जान पत्रकार साथी हरि थापाले सुझाएका थिए ।

नेपाल जागरणको कार्यालय बसन्तपुरमा थियो । सुरुमा धनन्जय सरले मेरो अन्तरवार्ता लिनु भयो । उहाँले धेरै केही सोध्नु भएन । काँग्रेस नेता भीमबहादुर तामाङलाई चिन्नु हुन्छ भन्नु भयो । मैले एकदमै नजिकबाट चिन्दछु, उहाँ मेरो सम्मानित नेता हो भनें । एकछिनको कुराकानी पछि उहाँले मलाई रिपोर्टिङ गर्नुस् भन्नुभयो ।

त्यतिबेला विमल बैद्य दमदार रिपोर्टिङ गर्नुहुन्थ्यो । दर्वेरत्न शाक्य, तरुण पौडेल, युगनाथ शर्मा पौडेल, धु्रव मधिकर्मी पनि नेपाल जागरणमै आवद्ध हुनुहुन्थ्यो । मलाई विमल दाइले फिचर न्युजका विषयमा सिकाउनु भयो । उहाँकै सल्लाहमा मेरो पहिलो फिचर पहिलो पेजमै छापियो । व्युटीपार्लरको विषयमा लेखिएको यो फिचर मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना भएको भोलिपल्टकै अंकमा छापिएको थियो, जेठ ३ गते २०५० साल ।

त्यतिबेला राष्ट्रिय स्तरको राम्रै नाम कमाएको पत्रिकामा आफूले लेखेको समाचार छापिएपछि के चाहियो ? मैंले आफ्नो बाइलाइनको त्यो समाचार सय पटक भन्दा बढी पढें होला । पछि बिमल दाइले पत्रिका छाड्नु भयो ।

 मैले नेपाल जागरणबाट आफूलाई मज्जाले प्रस्तुत गर्ने मौका पाएँ । समाचार बाहेक पनि  आर्टिकल लेख्थें । व्यङ्ग्य लेख्थें । आफूलाई मन लागेको लेख्ने अवसर पाएको थिएँ ।  धेरै सिक्ने मौका पाएँ । त्यसको केही महिनापछि म दोलखा पुगें ।

 दोलखामा रहेकै बेला देशमा मध्यावधि चुनावको घोषणा भयो । त्यतिबेला रेडियो नेपालबाट प्रशारण हुने घटना र विचार कार्यक्रम एकदमै लोकप्रिय थियो ।  कार्यक्रमका संचालक पुरुषोत्तम दाहालसँग चिनजान भएको थियो । जिल्लाका केही महत्वपूर्ण समाचारहरु म यो कार्यक्रममा रेकर्ड गर्न थालें ।

घटना र विचारमा मेरो आवाजमा केही समाचार बज्न थालेपछि मलाई धेरैले चिन्न थाले । त्यतिबेला तत्कालिन गाउँ विकास समितिका अधिकांश निर्वाचित जनप्रतिनिधिसँग मेरो चिनजान थियो । सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि सबैसँग सुमधुर सम्वन्ध थियो । 

त्यही बेला राजधानीबाट निस्कने हिमालय टाइम्स दैनिकमा दोलखाबाट रिपोर्टिङ गर्न थालें । यो कामका लागि मित्र सञ्जय घिमिरे र विजय घिमिरेले मलाई डो¥याएका थिए ।

त्यतिबेला दोलखाबाट मसँगै राससमा देवदास श्रेष्ठ, गोरखापत्र र कान्तिपुरमा ईश्वरी न्यौपाने, नेपाल समाचारपत्रमा चिरञ्जीवी मास्के, श्री सगरमाथा दैनिकमा राजेन्द्र मानन्धर र लोकपत्र दैनिकमा सूर्य खड्का लगायतका साथीहरु रिपोर्टिङ गर्दथे । केही समयपछि नै विभिन्न पत्रपत्रिकामा दिनेश श्रेष्ठ, बालकृष्ण शर्मा, धर्मेन्द्र मोक्तान, प्रविण प्रधान, विष्णु सुवेदी लगायत साथीहरुको उपस्थिति रह्यो । 

सानो ठाउँमा पत्रकारिता प्रतिको बढ्दो उत्साह देखेर राजधानीका पुराना पत्रकारहरु समेत छक्क परेका थिए । हामी वीच एक आपसमा मित्रवत व्यवहार थियो । 

त्यतिबेला दोलखामा सिमित कार्यालयमा मात्र टेलिफोन सेवा उपलव्ध थियो । ईमेल इन्टरनेटको पहुँचको कुरै थिएन । काठमाडौंका मिडिया हाउसमा समाचार पठाउन अतिनै कठिन थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु कार्यालयमा त फ्याक्स समेत थिएन । त्यही बेला सांसदहरुको नामको फोन दुईजना व्यवसायीले व्यवसायिक प्रयोग गर्न मिल्ने गरि राखे । हाम्रै अनुरोधमा मनसुव श्रेष्ठले फ्याक्स सुविधा पनि थपे । 

मनसुव भन्ने ती मनुवाले चर्को पैसा त लिन्थे नै  विद्युत आपुर्ति नहुने, टेलिफोन सेवा अवरोध भएका बेला हामीले लेखेर पठाएका समाचार उनकै पसलमा पेन्डिङ हुन्थे । तिनै समाचार टिपेक्स लगाएर अरु संवाददाताको नाममा समेत पठाईदिन्थे । उनका यस्ता हर्कतले कहिलेकाहीं केही पत्रिकामा उस्तै समाचार दोहोरिन पनि पुगेका थिए । 

कति पटक त चरिकोटमा विद्युत आपूर्ति निकै दिनसम्म रोकिन्थ्यो । यस्तो बेला हामीले कहिले खरिढुंगा त कहिले चरिकोटबाट ५५ किलोमिटर टाढा लामोसाँघुसम्म पुगेर फ्याक्स गरेका थियौं । हाम्रो त्यो उत्साह सम्झिँदा निकै रमाइलो लाग्छ ।

 जे होस् । फ्याक्सको माध्यमबाट हाम्रो समाचार तत्काल राजधानी पुग्ने अवस्था भयो । यसले दोलखालाई संसारभर जोड्न सहयोग पुग्यो । 

२०५३ सालको भिषण बाढी पहिरोले दोलखामा ठूलो क्षति भयो । त्यतिबेला दोलखाबाट गरिएको रिपोर्टिङले जिल्लाको समस्यामा राज्यको ध्यान खिचेको थियो ।

साना साना कार्यक्रम मात्रै होइन २०५४ सालमा तत्कालिन स्विस राष्ट्रपति प्रोफेसर आर्नोड कोलारले जिरीको भ्रमण गर्ने भए । हामीले यो मैत्रीपूर्ण भ्रमणलाई कसरी राम्रो कभरेज दिने भनेर निकै मेहनत ग¥यौं । कुशलतापूर्वक मिडियामा कभरेज गरेका थियौं । भरखरै पत्रकारिता सुरु गरेका हाम्रालागि यो एकदमै महत्वपूर्ण र दुर्लभ अवसर थियो ।

 विदेशी राष्ट्रप्रमुखको त्यति ठूलो भ्रमणमा दोलखाका पत्रकारहरुले गरेको सुन्दर रिर्पोटिङको  जिल्ला नेतृत्व र प्रशासनिक क्षेत्र तथा काठमाडौंका मिडिया हाउसका साथीहरुबाट पनि प्रशंसा भएको थियो ।

जिल्लाका विभिन्न गाउँघरमा पुगेपछि मलाई गाउँलेले गरेका कृषि, वन, सिंचाई लगायतका विकासका गतिविधिलाई समेटेर उनीहरुको पहुँचमा पुग्ने गरि पत्रिका निकाल्न पाए हुन्थ्यो भन्ने लाग्यो । म, चिरञ्जीवी मास्के, शम्भु गौतम, राजेन्द्र मानन्धर र विष्णु सुवेदी मिलेर   ‘हाम्रो गाउँघर’ नामको गाउँले पत्रिकाको प्रकाशन सुरु ग¥यौं । 

तीन तीन महिनामा प्रकाशन गर्ने गरि सुरु गरिएको हाम्रो गाउँघर दोस्रो अंक छाप्न सामग्री तयार भयो । पैसापनि तयार  पारेका थियौं ।  चरिकोटमा अफसेट प्रेस थिएन । सिन्धुपाल्चोकका एकजना कसजू थरका पत्रकार चरिकोट पुगेका थिए । म छापेर पठाउँछु भनेर सम्पादित सामग्री र पैसा लिएर गए  । न पत्रिका छापे, न पैसा नै फिर्ता दिए । तिनै पत्रकार साथीका कारण बन्द हुन पुग्यो हाम्रो गाउँघर ।

मैले मासिक, साप्ताहिक, दैनिक र रेडियोमा त केही अनुभव बटुलेको थिएँ । तर, टेलिभिजनमा मलाई कुनै अनुभव थिएन । टेलिभिजन पत्रकारिताको रहर भने एकदमै थियो । २०५४ सालमा काठमाडौं आएको थिएँ । साथी तीर्थ पौडेलको सहयोगमा नेपाल टेलिभिजनको दोलखा सम्वाददाताको नियुक्तिपत्र लिएँ । तत्कालिन समाचार महाशाखा प्रमुख दुर्गानाथ शर्माले टेलिभिजनका आधारभूत कुराहरु सिकाउनु भयो । 

नेपाल टेलिभिजनमा रिपोर्टिङ गर्न त थालें तर मसँग भिडियो क्यामेरा थिएन । यताउता साथीभाइसँग मागेको क्यामेराले खिचेर कालिञ्चोक मन्दीरको विषयमा एउटा रिपोर्ट पठाएँ । नेपाल टेलिभिजनमा प्रशारण भएपछि मेरो भुईमा खुट्टै भएन । संयोग नै भनौं, जिल्लामा टेलिभिजन पत्रकारितामा मेरो संलग्नताले दोलखालाई टेलिभिजनका माध्यामबाट संसारभर जोड्ने बाटो भने खुलेको थियो ।

मलाई तत्काल भिडियो क्यामेरा चाहिने भयो । यसको लागि पचास हजार रुपयाँको खाँचो पर्दथ्यो । मैंले विभिन्न व्यवसाय गर्ने भन्दै बुबाको धेरैपैसा मासेको थिएँ । मलाई बुबाआमासँग क्यामेरा  चाहियो भनेर पैसा माग्ने हिम्मतै आएन । मलाई पहिलो पटक पैसाको महत्व याद आयो ।  मैले विचार गरें म अब दोलखाको पत्रकारिता छाड्छु । 

 २०५५ सालदेखि मैंले दोलखा छाडें ।

ताजा खबर