एउटा श्रद्धाञ्जलि पत्र: दुई सज्जनले यसरी संसार त्यागे

२०७७ बैशाख ३१ बुधबार १७:२६:०० मा प्रकाशित

यहाँ म दुई महान आत्मा प्राडा विष्णु पौडेल र कविवर उपेन्द्र बस्नेत ‘पागल’ को स्मरणमा एउटा संयुक्त श्रद्धाञ्जलिपत्र पेश गर्दैछु ।


जन्म र मृत्यु शाश्वत हो । हरेक प्राणीको जन्म–मृत्यु र जीवनचक्रको आआफ्नै परिवेश हुन्छ । जगतमा हरेक मानिस भिन्न छ । हरेकको बाँच्ने प्रवृत्ति भिन्न छ र मृत्युको प्रवृत्ति पनि  भिन्न । कोही सहसा जीवन निवृत्ति प्राप्त गर्छन् त कसैलाई जीवन बोझ पनि हुन सक्छ । पूर्वीय दर्शनले जीव उत्पति र त्यसको परागमनलाई जीवनचक्र भनेको छ । अरू दर्शनहरूमा पनि जीवन प्रक्रियाका आआफ्नै आधार छन् ।

सबै दर्शनले जीवनलाई सुख र दुःखको तराजुमा राखेका छन् । जीवनको सार्थकता के हो, स्वर्ग र नर्क के हो अनि यो जीवनभित्रको जीव के हो भन्ने विषयमा व्याख्याका तरिका आआफ्नै भए पनि सार  एउटै हो । जीवनभित्रको जीव उडेपछि शरीर भनिँदैन, लास हुन्छ । लासले त्रास उत्पन्न गराउँछ । लाससित प्रेम रहँदैन । प्रेमशक्ति निर्जीवमा सञ्चार हुँदैन ।

संसारको सत्यका बारेमा जान्ने कोही पनि छैन । न कसैले यथार्थमा जीवनको आरम्भ प्रक्रिया अनुभव गरेको छ न मृत्युपछिको प्रक्रिया । आजसम्म मृत्युको अनुभव कसैले कसैलाई सुनाएको छैन ।

यस अर्थमा जीवनको आरम्भ र अन्त्यको अनुभव कसैलाई पनि भएको छैन । भविष्यमा पनि कसैले अनुभव गर्ला भन्ने आधार छैन । यदाकदा अतिशय प्रेमवश आफन्तहरूले ‘उहाँमा पूर्वाभास थियो’ भन्ने गरेको पनि सुनिन्छ तर उसले अनुभव सुनाएको हुँदैन ।

प्राणीमात्रमा सबैभन्दा ठूलो भय मृत्युको हुन्छ । मानिसमा यस्तो भय अझ प्रबल हुन्छ । संसारका सबै दर्शन र नीतिशास्त्रले मृत्यु सत्य हो, यसको भय आवश्यक छैन भन्छन् । मैले आजसम्म मृत्युको सत्य  स्वीकार गरेर मृत्युमा रमाउन चाहने मानिस भेटेको छैन ।

मैले मृत्यु अवश्यम्भावी ठानेर प्राणत्याग पर्खेर बसेका थुप्रै मानिसहरूसित कुरा गरेको छु । उनीहरूमा पनि जीवनको लोभ देखेको छु, बाँच्न नसकिने भो भनेर मात्रै मर्न चाहेको पाएको छु । ती सबैसित कताकता मृत्युको त्रास थियो, कुनै न कुनै गुनासो थियो र बाटो बिराएको आभास थियो ।


वैकुण्ठवास हुने हाम्रो सामाजिक विश्वासअनुसार प्राणत्यागका लागि भारतको वाराणसी पु¥याइएकाहरूमा पनि जीवनको आशा   देखेँ । मैले यसलाई जीवनको अत्यन्तै महत्वपूर्ण शिक्षा ठानेको छु ।

मृत्यु सत्य हो, मृत्यु हुँदै गर्दाको र मृत्युपछिको प्रक्रियाको अनुभव कसैसित छैन । अनुभवदेखि अनुभवसम्ममात्र जीवन हो ।  यसमा पनि जुन अनुभव चीरकालसम्म स्मरणमा रहन्छ र समाजका लागि प्रेरणादायी हुन्छ त्यो चाहिँ सार्थक जीवन हो ।

हाम्रो पूर्वीय दर्शनले भन्छ ः मरेर जाँदा कसैले केही पनि लाँदैन । 

मरेर जानेले केही छोड्न त सक्छ, अरूका लागि केही बाँड्न  सक्छ । शरीर नाशवान भए पनि उसको अनुभव अविनाशी हुन सक्छ, दीर्घकाल जीवित रहन सक्छ ।

ज्ञान, साहित्य, कला, संस्कृति, संस्कार, तिनैले छाडेर गएका हुन्, जो आज धरोहर बनेर रहेका छन् । जीवितले त्यसमा नयाँपन ल्याउँछ, परिस्कार गर्छ । भावी पिँढीले यसै गर्छ र यो प्रक्रिया निरन्तर चालु रहन्छ ।

प्राकृतिक सत्य र जीवन दर्शनको यो पृष्ठभूमिमा यो आलेखको मुख्य उद्देश्य हामीलाई छाडेर गएका महान आत्मा प्राडा विष्णु पौडेल कविवर उपेन्द्र बस्नेत पागलको स्मरण हो ।

हामीले गुमाएका धेरै स्वजनहरूले केही न केही दिएरै गएका  छन् । सञ्चितिको काम वर्तमान र भावी पुस्ताको हो । यहाँ स्मरण गरिएका दुई महात्माको स्वाभाविक प्राकृतिक निधन भएको हो ।  कोरोना भाइरसको साम्राज्य फैलिएको अमेरिकामा हामीले हाम्रा समिपका यी महात्मालाई अन्तिम विदाइ पनि गर्न पाएनौँ ।

प्राडा विष्णु पौडेललाई म गुरुजी भन्थेँ । उहाँ बहुमुखी प्रतिभाका व्यक्तित्व हुनुहुन्थ्यो, थुप्रै किताब लेख्नुभयो र अरूलाई मनसा, वाचा कर्मणा उत्प्रेरित गर्नुभयो । राजनीतिक, सामाजिक र धार्मिक सबै क्षेत्रमा सक्रिय रहनुभयो र सक्रियताकै क्रममा ८५ वर्षको उमेरमा प्राण त्याग्नुभयो ।

मैले गुरुजीलाई चिनेको तीन वर्षअघि मात्र हो । मेरा मित्र राजन अधिकारी र मेदिनी अधिकारीले मलाई उहाँसित अमेरिकाको बाल्टिमोरमा एउटा कार्यक्रममा चिनजान गराउनुभएको थियो । उहाँको समिपबाट उहाँका बारेमा धेरै जान्न नपाई उहाँको देहान्त भयो । गुरुमा र छोराछोरीलाई पनि केहीपटक भेटेको थिएँ । मैले गुरुजीलाई उहाँको परिवारिक विषयमा कहिल्यै केही सोधिनँ । उहाँ मेरो बारेमा भने आद्योपान्त जान्नुहुन्थ्यो ।

गुरुजीसँगको सम्बन्ध आध्यात्मिक, सामाजिक र बौद्धिक किसिमको थियो । उहाँ इक्वालिटी फाउण्डेसन, अमेरिकाका अध्यक्ष हुनुहुन्थ्यो । कोषाध्यक्षका हैसियतले धेरै पटक भेट   गरेँ । सँगै काम गर्ने अवसर पाएँ । थोरै बोलेर धेरै बुझाउने र छिटो कुरो टुङ्गो लगाउने गुरुजीको स्वभावका कारणले म आज्ञा र निर्देशन पालनको हैसियतमा हुन्थेँ । गुरुजी फाउण्डेसनको छाहारी हुनुहुन्थ्यो । 

गुरुजीको असीम फराकिलो बौद्धिक व्यक्तित्व मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा हो । मेरा तीन वटा किताबमा गुरुजीले मन्तव्य लेखिदिएर उत्पे्ररणा दिनु भएको छ । मैले लेखेका अधिकांश आलेखमा उहाँले आफ्नो विचार लेखिदिनुभएको छ । कोरोना भाइरसको सन्त्रासबारे हालैको मेरो एक लेखमा पनि आफ्नो विचार लेखिदिनुभएको थियो ।

मैले मन्तव्यको आशले नपठाए पनि गुरुजी केही न केही लेखिदिनुहुन्थ्यो र प्रशंसा पनि गर्नुहुन्थ्यो । मेरा लेख प्रशंसालायक थिए भन्ने होइन, मेरा कमजोरीबारे राम्रो जानकारी भएकैले केही न केही लेखिदिएर प्रेरित गर्नुहुन्थ्यो । गुरुजीका धेरै शिष्य थिए मजस्ता । थोरै समय भए पनि म उहाँको शिष्य हुन पाएर धन्य भएको छु ।

गुरुजीको देहान्तको खबर मेरा लागि मेरा पिताजीको देहान्तको क्षणभन्दा कम पीडादायी भएन ।

गुरुजीको अर्काे महŒवपूर्ण पक्ष जीवन दर्शनको आदर्श थियो । उहाँले ‘वसुधैव कुटुम्बकम्’ अनि ‘बाँच र बाँच्न देऊ’ भन्ने पूर्वीय दर्शन वातावरणसम्बन्धी मेरा दुई वटा किताबको भूमिका मन्तव्यमा जोड्नु भएको छ । गुरुजीले ‘वसुधैव कुटुम्वकम्’ को मूल आधार, त्यसमा अन्तर्निहित गुणवत्ता र आदर्श आफ्नो जीवनमा उतार्नुभएको थियो । मैले ‘वसुधैव कुटुम्बकम्’ र ‘बाँच र बाच्न देऊ’ भन्ने पूर्वीय दर्शनबारे लेखेँ तर गुणवत्ता चाहिँ गुरुजीले मेरो पुस्तकको भूमिका लेखेपछि मात्र चाल पाएँ । 

गुरुजी जति जिउनुभयो जीवनप्रतिको गौरव र खुशीका साथ जिउनुभयो । आफ्नो जीवनप्रति र अरू कसैप्रति कहिल्यै कुनै गुनासो गर्नुभएन । जीवनपर्यन्त खुशी र ज्ञान सञ्चार गर्नुभयो । उत्साह र उमङ्गका लागि प्रेरित गर्नुभयो । मजस्ता असङ्ख्यको ज्ञानको स्रोत हुनुभयो । 

यस्ता महान गुरुले कुनै बिरामी विना अचानक अन्तिम श्वास लिनुभयो । धन्य हो ! त्यो आदर्श जीवन र आदर्श निधन ।

गुरुजीको जीवनबाट मैले चिने जानेकै धेरैले ज्ञान आर्जनको सिक्ने मौका पाएका छन् । मैले नचिने नजानेका असङ्ख्य छन् । मेरालागि भने तीन वर्षको सामिप्य अभूतपूर्व र अविष्मरणीय रह्यो । 
हामीसित अब हाम्रा आदर्श गुरुज्यू रहुनु भएन । म गुरुजीको आदर्शको मार्गमा खुला दिलले लाग्नेछु ।  

अर्का अत्यन्त प्रियपात्र हुनुहुन्थ्यो कवि प्राध्यापक उपेन्द्र बस्नेत ‘पागल’ । उहाँका बारेमा पनि मलाई धेरै कुरा थाहा छैन । म उहाँलाई उपेन्द्र दाइ भन्थेँ । म र मेरी श्रीमती प्रजिता झण्डै ३५ वर्षअघि वैवाहिक सूत्रमा एकबद्ध हुने निधो गर्दा उहाँले नै सहजीकरण गरिदिनुभएको थियो ।  त्यस बेला म विराटनगरमा कविका रूपमा चिनिन थालेको थिएँ । प्रजिता पनि कवयत्रीका रूपमा चिनिएकी थिइन् ।

हामी विराटनगरका कुनै पनि कविगोष्ठी छुटाउँदैन थियाँै । दुईचार जनाका अगाडि कविता सुनाउन पाउनु ठूलो प्राप्ति ठान्थ्यौँ । उपेन्द्रदाइ सुपरिचित कवि हुनुहुन्थ्यो । उहाँलाई कविता सुनाउन पाउनु साह्रै खुशीको कुरा हुन्थ्यो । उहाँ पनि पनि खुशीका साथ हामीलाई कविता सुनाउनु हुन्थ्यो ।

प्रजिता र मेरो बिहे भयो । हाम्रो घर र उपेन्द्र दाइको सरकारी निवासका बीच पाँच मिनेटको दूरी थियो । उहाँ त्यसताका सूचना केन्द्र नामक कार्यालयमा काम गर्नुहुन्थ्यो । कविता सुनाउने र सुन्ने क्रममा एकअर्काका निवासमा आउजाउ गथ्र्यौं । यो क्रम करीब दुई वर्षजति चल्यो ।

उपेन्द्र दाइको सरुवा भयो । मेरो पनि बैंकमा नोकरी भयो । हामी बसोबासले अलिक टाढा भयौँ तर कहिलेकाहीँ कविगोष्ठीमा भेट हुन्थ्यो । उहाँ मेरा कवितालाई हाडेओखर र मेरा निबन्धलाई पाखाबारीको जौ भन्नुहुन्थ्यो । प्रजिताका कवितालाई सलल बग्ने नदीको प्रवाह भन्नुहुन्थ्यो ।

हाडेओखर भन्दा म दङ्ग पर्थें । मलाई असाध्यै माया गर्ने गुरु नरेन्द्र चापागाईं र गुरु वालकृष्ण पोखरेल पनि मेरा कवितालाई हाडेओखर भन्नुहुन्थ्यो । समयले कसलाई पर्खने होइन ।  नरेन्द्रगुरु अल्पायुमै जानुभयो । वालकृष्ण गुरु पोहोरसाल । उपेन्द्रदाइ पूर्वी नेपालको इटहरीमा बस्नुहुन्थ्यो । कोरोना कहरकै बीच गत चैत २५ गते हामीबाट बिदा हुनुभयो । 

म बाँच्ने क्रममा संसारतिर भौँतारिन हिँडे, घर न थर भएर । उपेन्द्र दाइ सुकुना कलेजमा पढाउनुहुन्छ भन्ने थाहा थियो तर सम्र्पक थिएन । पोहोर साल करिब बीस वर्षपछि फेसबुकमा भेट भयो । तुरुन्तै साथी बन्यौँ, उहाँले फोन गर्नुभयो । पहिलो बोलीमै सोध्नुभयो– हाडेओखर लेख्दैछौ कि छौड्यौ ? अनि सोध्नुभयो घर न घाटकै छौ कि कतै कुनै देशमा स्थायी भयो ?

म विराटनगर छोड्दा जस्तो थिएँ उस्तै छु । घर र घाटको टुङ्गो छैन । म अझै पनि घरविहीन र घाटविहीन छु । यसबारेका सोचेकै पो छैन । म त विज्ञानतिर पो लागँे । अङ्ग्रेजी भाषामा मा छ वटा किताब लेखेको छु । दर्जनौँ वैज्ञानिक लेख प्रकाशन भएका छन् ।

एकै सासामा मरो अवस्थाबारे जानकारी गराएँ । उपेन्द्रदाइ खुशी हुनुभएन । उहँले भन्नुभयो, ‘म अङ्गे्रजीका हाडेओखर फुटाउन सक्तिनँ अनि तिमी  नेपाल आमालाई त गुन तिर्दै होलाउन नि !’

मैले भने, ‘दाजु ! मेरा प्रायः किताबहरू नेपालकै बारेमा छन् ।’

 उहाँँले फेरि थप्नुभयो, ‘नेपालमै बसेका भए नेपालीले धेरै हाडेओखर पाउँथे, तिमी पनि प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुन्थ्यौ होला ।’

उपेन्द्रदाइ प्राज्ञसभाको सदस्य पनि हुनुभएको रहेछ । उहाँ सच्चा राष्ट्रवादी र नेपाली भाषाको पुजारी हुनुहुन्थ्यो । उहाँले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ को मर्म र आदर्श साँच्चै गहिरो गरी बुझ्नुभएको थियो । 

उपेन्द्र दाइ रसिक पनि हुनुहुन्थ्यो:


तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ ।
आफ्नै देखायौ परेलीमा र पो तिमीतिरै धाएको थिएँ । 
हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी ।
तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ ।

यो उहाँको नामी कविता थियो । उहाँ सहजताको पात्र हुनुहुन्थ्यो ।

उपेन्द्रदाइका सयौँ कविता प्रकाशित छन् । किताब पनि प्रकाशित छन् । मूलरूपमा उहाँ एउटा उत्प्रेरक प्राध्यापक हुनुहुन्थ्यो । जीवन र जगत बुझ्ने उहाँको आफ्नै दृष्टि थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, ‘यो सासै फेर्न अप्ठ्यारो हुने रोगले त जीवनको परिभाषा नै परिवर्तन ग¥यो त !’

उपेन्द्रदाइ अनेक कष्टभित्र पनि खुशी खोज्न जान्नुहुन्थ्यो । पीडाभित्र आनन्द खोज्नुहुन्थ्यो र आफ्नै तरिकाले परिभाषित गर्नुहुन्थ्यो । अनि, पीडाभित्र भेटेको आनन्दलाई कवितामा पोख्नुहुन्थ्यो । उहाँ पढाउनुलाई सबैभन्दा उत्तम दान भन्नुहुन्थ्यो अनि विद्यार्थीको उन्नतिमा मख्ख पर्नुहुन्थ्यो ।

हरेक गफमा मेरो यो विद्यार्थी यो पदमा पुग्यो । अर्को यो देशमा छ । फलानो यसो गर्दैछ भनेर रमाउनुहुन्थ्यो । आफू नेपाली भाषाको प्राध्यापक भएकोमा गर्व गर्नुहुन्थ्यो ।

संसार व्यक्तिवादी छ । व्यक्तिवादबाट अलिकति माथि उठेका प्राडा पौडेलगुरुजी र कवि उपेन्द्रदाइको देहान्तबाट एउटा युगान्तरकारी इतिहास नै गुमाएको अनुभव भएको छ । दुवैजनाको जीवनको ध्याउन्न अरूलाई प्रोत्साहन र प्रशंसा गर्नु अनि कमी कमजोरी जस्ताको तस्तै उजागर गरेर सुधार्न प्रेरित गर्नु थियो ।

दुवैजनाले आफूसँग भएको ज्ञान भरपूर बाँडेर जानुभयो । बाँड्ने तरिका सिकाउनु भयो । त्यो आर्दश अवलम्बन उहाँहरूका हामी शिष्यमा निहित छ ।

प्राडा विष्णु पौडेल गुरुज्यु र कवि प्राध्यापक उपेन्द्र बस्नेतलाई हार्दिक सम्मानका साथ बिदा भन्छु । तपाईंहरूको आदर्श कुनै न कुनै रूपमा जीवित रहनेछ ।

दुवै महात्माबाट थोरैतिनो सामिप्य पाएकोमा म गौरवान्वित छु । आफूलाई धन्य ठानेको छु । दुवै पुण्यात्माको चिरशान्तका लागि हार्दिक प्रार्थना गर्दै  यो श्रद्धाञ्जलिपत्र समर्पण गर्दछु । 

अन्त्यमा, कोरोना भाइरस रोग (कोभिड–१९) ले ज्यान गुमाएका सबै आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । तपार्इंहरू जो जहाँका हुनुहुन्थ्यो हाम्रा बन्धु हुनुहुन्थ्यो, अद्वितीय हुनुहुन्थ्यो । तपाईंहरू आआफ्ना समूहमा प्रिय हुनुहुन्थ्यो । हामीलाई तपाईंहरूको अभाव खट्किरहने छ ।  

(लेखक अमेरिकाको अकामाई युनिभर्सिटी र युक्रेनको समी स्टेट युनिभर्सिर्टीमा पढाउँछन् ।) 

ताजा खबर