प्रचण्डको ‘सुरुङ युध्द’ र गगनको कविता 

२०७७ बैशाख २९ सोमबार १६:१०:०० मा प्रकाशित

नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रतिनिधि सभामा कविता पढेर सुनाएछन् । रोष्ट्रममा उभिएर सुनाएको गगनको कविता प्रधानमन्त्री लक्षित थियो । कविताको भाषाले यही  भन्छ । देशको सीमा मिचिएकोमा ध्यानाकर्षण गराउँदै उनले प्रधानमन्त्रीलाई कर्तव्य सम्झाएका थिए । मिडिया प्रेमी गगनको कविता सार्वजनिक भैसकेको छ ।

प्रश्न यतिमात्र हो के भविष्यका लागि आशा गरिएका नेताले संसद्मा कविता सुनाउने हो कि सार्वभौमिकताको रक्षाका लागि उठाउने हो साहसको कदम ? केवल प्रधानमन्त्री बन्न मात्र राजनीति गरेको जस्तो पम्परा बसिसकेको नेपालमा नयाँ पुस्ताले संघीन अवसरमा जोखिम उठाउनुपर्ने होइन र ?

माननीय कवि थापालाई पक्कै पनि राष्ट्र कवि माधव घिमिरेको यो अमर कविता कण्ठस्थ होला नै– 

‘नेपाली हामी रहूँला कहाँ नेपालै नरहे 
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे....!’


देशको सुदूर पश्चिमको डँडेलधुराका जनप्रतिनिधि शेरबहादुर देउवाले राष्ट्रियताको प्रश्नमा सरकारलाई साथ दिने घोषणा गरिदिएपछि अर्को कुनै ठोस कार्यक्रमबारे बोलेका छैनन् । देउवा चारपटक प्रधानमन्त्री भैसकेका नेता हुन् । सर्वविदितै छ उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति हुन् र संसद्मा नेता पनि । महाकाली सन्धी संसद्बाट पारित गर्दा केके बिषयमा मौनता साँधिएको थियो भन्ने कुरा देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जति त प्रचण्डलाई जानकारी नहुन सक्छ । राष्ट्रियताका पर्याय बनाईएका ओली पनि मौन छन् यतिबेला अर्थपूर्ण रुपमा ! भारतले छद्म शैलीले नाकाबन्दी लगाउँदा देखिएको ओलीको राष्ट्रवादी जोश सिंहदरबारसम्म पुग्नमात्र त थिएन होला ! अब उनले संसद्मा के जवाफ दिनेछन् त्यसको प्रतीक्षा गर्नैपर्छ ।

मधेशी दलसँग लिपु लेकका बारेमा धेरै आशा गर्न सकिँदैन । उनीहरु यसमा मौन बस्न विवश छन् भन्ने कुरा जानी जानी थप आशा गर्नु नै व्यर्थ छ । 

कहाँ गयो सुरुङ युध्द ?

प्रचण्डले उनी पुष्पकमल दाहालको पहिचानमा बालुवाटार उत्रिनु अघि गज्जबको छवि बनाएका थिए । छवि निर्माणको ठोस आधार थियो आतंक । देश थिलथिलो हुनेगरी मच्चाईएको हिंसात्मक द्वन्दको सबैभन्दा ठूलो परिणाम हात लागेको थियो हज्जारौं स्वजनको निर्मम हत्या । अनि महत्वपूर्ण पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरहरुको सर्वनाश ! अरु के ?

त्यसपछि त्यही आतंकको रापतापमा संसद् प्रवेश अनि प्रधानमन्त्री पद । प्रचण्ड यस कथाका नायक थिए । अहिले चर्को राष्ट्रवादी देखिन आतुर बाबुराम भट्टराई र उनका कैयौं सहयात्री सबैले सिंहदरबार र शीतल निवासको शासकीय व्यंजन भोजन गरिसकेका छन् ।

‘जनयुध्द’ का संचालक, प्रेरक र पटकथाकारहरु सबैले इतिहासको यो कालखण्ड आफ्नै आँखाले देखिसकेका छन् । देशको आन्तरिक शक्ति खल्बल्याउन र हस्तक्षेपकारीलाई परिस्थिति खुकुलो बनाईदिन बाहेक बितेका दशकले देशका लागि के त्यस्तो योगदान गर्यो भनेर भावी पुस्ताले खोजी गर्यो भने हिस्स पर्ने छ । 

अहिले नेपालको पश्चिमी सीमा मिचिएको छ । भारतले सार्वभौम मित्र राष्ट्रको भूमिमाथि बलजफ्ती हस्तक्षेप गर्दै सडक निर्माण गरिसकेको छ । लिपु लेक क्षेत्रमा भारत र चीनको मिलीभगत चलिरहेको कुरा पहिले नै सार्वजनिक भैसकेको थियो । नेपाल केवल प्रतिक्रियात्मक मात्र भएर बस्यो । न सरकार न त दलहरुले नै  आफ्नो स्वाधिन राष्ट्रको संरक्षणका लागि साहसपूर्वक कुनै काम गरे ।

भारतको नेतृत्वसँग आँखामा आँखा जुधाएर यस बिषयमा छलफल गर्न कोही पनि अघि सरेनन् । परराष्ट्रको कर्मकाण्डी वक्तव्य र नेताहरुका मलिन स्वरका विरोध बाहेक थप पहल हुँदै भएन । एककिसिमले भन्ने हो भने सबैको मौनसम्मति जस्तो अवस्था रहिरह्यो र भारतले यही मौनताको भाषा समर्थनका रुपमा उपयोग गर्दै सडक बनाउने आफ्नो मिसन सफल गरेको छ ।

लखनउमा ‘भूमिगत’ बसेका प्रचण्डले भारतसँग सुरुङ युध्द गर्ने ध्वाँस दिँदा जमिनमुनि विश्राम गरिरहेका गणेशका बाहनहरु हाँसेर मुर्छित् भएका थिए होला । जमिनमाथि हिँडडुल गर्ने मानिस र चौपायाले त उतिबेलै सुरुङ युध्दको घोषणा पत्याईसकेकै थिए । माध्यमिक तहका विद्यार्थी पनि तर्क गर्थे– प्रचण्डले लखनउमा बसेर भारतविरुध्द सुरुङ युध्द गर्ने भनेको त जसको काँधमा बसेको छ उसकै नाक तान्नु जस्तै होइन र ! विद्यार्थीले विश्वास गर्न नसकेजस्तै भयो प्रचण्डको घोषणा सुरुङ युध्द कहिले पनि भएन ! त्यो त केवल सपनाको वर्णन जस्तो मात्र भयो र विलायो इतिहासको गर्तमा ।

आज तिनै प्रचण्ड सत्तारुढ दलका अध्यक्ष छन् । उनले यसबीच देशका लागि के कस्तो योगदान गरिसके भनेर चर्चा गरिरहनु पर्दैन । समकालीन पुस्ता विदितै छ । देशको सीमा अतिक्रमणमा परेको छ र भारतले सडक नै बनाएर नेपालको सार्वभौमसत्तामाथि चुनौति दिएको छ । के सुरुङ युध्द गर्न तयार भैसकेका प्रचण्ड भारतलाई प्रश्न मात्र गर्न तयार छन् ? देशलाई थिलथिलो बनाउन उचालिएका उनका लडाकु कहाँ गए, कहाँ छन् सदरमुकाम खरानी बनाउन सफल बीर छापामार ? एउटा कर्मकाण्डी प्रतिक्रिया दिएर सशस्त्र प्रहरीको चौबिस घण्टे सुरक्षा पहरामा बसिरहेका प्रचण्ड के  लिपु लेक जान साहस गर्छन् ? छ उनको शरीरमा देशभक्तिको रगत ? के उनले प्रधानमन्त्री पदमा टाँसिन र सत्ताको दाउपेच खेल्न मात्र त्यत्रो हिंसात्मक द्वन्द गराएका थिए कि देशको रक्षाका लागि पनि हो उनको राजनीति ?

 प्रचण्डले नेपाली जनतालाई स्पष्ट जवाफ दिनुपर्ने दिन आएको छ, मौन बस्ने छुट छैन प्रचण्डलाई अब ।

पुराना पंच नेताको चर्को विरोध र आलोचनाप्रति कम्तीमा समकालिन पुस्ता पत्यार गर्न सक्दैन । उनीहरुको फुटको राजनीतिले गर्दा नयाँ पुस्तामा विश्वासको एउटा ईंट पनि राख्न सकेको छैन । अहिले देशको सीमा मिचिँदा उनीहरु सरकारको मात्र विरोध गरिरहेका छन्, किन ?  (फायल तस्बिर)

 


 
 

ताजा खबर