कोरोनालाई अरु भाइरसको साथ, संकटमा मानव अस्तित्व !

२०७७ बैशाख २९ सोमबार १४:३०:०० मा प्रकाशित

काठमाडौं । मानवले एकछत्त राज गरेको प्रकृतिमा अहिले भाइरसको समय सुरु भएको छ । यसअघि अनेक भाइरसहरु देखिएपनि मानवको अध्ययन अनुसन्धानका अगाडि ती भाइरस टिक्न सकेनन् । मानवको सतर्कता तथा प्रविधिको पहुँचका कारण भाइरसको प्रभावले मानव अस्तित्वलाई चुनौति दिन सकेको थिएन ।

 अहिले अवस्था फेरिएको छ । अहिलेको समय भाइरसका लागि स्वर्णकाल बनेको छ । विश्वभर कोभिड–१९ फैलिएको छ । विश्वको ध्यान कोभिड–१९ को महामारी तर्फ गइरहेका बेला अन्य भाइरल रोगहरु पुनः देखिन थालेका छन् । कुनैबेला महामारीका रुपमा देखिएका डेंगू, इबोला र दादुरा जस्ता रोगहरु समेत क्षेत्रिय रुपमा पुनः उदाउँदै छन् ।

इन्डोनेसियामा अहिलेसम्म १४ हजार भन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ भने ९ सय ६३ को मृत्यु भइसकेको छ । त्यहाँका अस्पताल अहिले कोभिड–१९ का संक्रमितको उपचारलाई प्राथमिकता दिइरहेका छन् ।

त्यहाँ कोरोना मात्रै होइन लामखुट्टेको टोकाइबाट सर्ने डेंगूको प्रकोप पनि तीव्र गतिमा बढिरहेको छ । यो वर्ष मात्र इन्डोनेसियामा डेंगूका ४० हजार नयाँ संक्रमित फेला परिसकेका छन् । तर, त्यहाँका अस्पताल डेंगू लगायत अन्य रोगका बिरामीको उपचार गरिरहेका छैनन् । यसले डेंगू संक्रमण अझै बढ्ने र यो रोगका कारण मर्नेको संख्या बढ्ने जोखिम बढेको छ ।

ल्याटिन अमेरिकाको अवस्था अझै खराब छ । गत वर्ष सो क्षेत्रमा डेंगू रोग इतिहासमै सबैभन्दा बढी देखिएको थियो । यो वर्षको अवस्था उस्तै छ ।

अर्जेन्टिना यसको एउटा उदाहरण हो । त्यहाँ अहिले कोरोनाको तुलनामा डेंगू संक्रमितको संख्या अधिक छ । 

यस्तै ब्राजिलमा कोरोनाको कारण ११ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या बढ्दो क्रममा छ । अबका दिनमा ब्राजिल कोरोनाको नयाँ इपिसेन्टर बन्ने विश्लेषकहरु बताइरहेका छन् । कोरोना मात्र नभइ त्यहाँ डेंगूको प्रकोप पनि बढिरहेको छ । डेंगू प्रति भने सतर्कता कम अपनाएको पाइएको छ । यी दुई संक्रमणका कारण ब्राजिलको अवस्था बिगँ्रदो छ ।

यी देशमात्रै होइन सिंगापुर, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, बंगलादेश र नेपालमा पनि डेंगूका बिरामीको संख्या बढिरहेको छ ।

कुनैबेला नियन्त्रणमा आइसकेको इबोला अहिले फेरि देखिन थालेको छ । कंगोमा यसले महामारीको रुप लिँदै छ । सन् २०१८ मा यो रोगका कारण कंगो लगायतका अफ्रिकी मुलुकमा ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो । कंगोमा ३५ सयमा यो संक्रमण देखा परिसकेको छ । यो संख्या अझै बढ्ने आँकलन गरिएको छ ।


इथियोपिया भने जण्डिस रोगका कारण पीडित छ । यो रोग नियन्त्रणका लागि स्थानीय स्वास्थ्यकर्मी खटिरहेका छन् । जण्डिसका कारण अहिलेसम्म त्यहाँ चार जनाको मृत्यु भइसकेको छ ।

मेक्सिको र बुरुण्डीमा दादुरा रोग पुनः देखिइरहेको छ । व्यापक रुपमा फैलिइरहेको यो रोगले सो क्षेत्र प्रभावित छ । साउदी अरेबियामा भने मर्स भनिने मध्य पूर्वी श्वासप्रश्वास सम्बन्धी रोगको प्रकोप बढेको छ ।

अहिले मानिसलाई संक्रमित गर्ने भाइरस मात्र होइन जनावरमा देखिने भाइरस पनि शक्तिशाली भएको छ ।

भारत र दक्षिण अफ्रिकामा स्वाइन फ्लूको प्रकोप देखिएको छ । सन् २०१८ मा एसिया क्षेत्रको कुल संख्याको १० प्रतिशत जनावर यही रोगका कारण नष्ट भएका थिए । यो रोग मानिसमा पनि सजिलै सर्न सक्छ ।

अमेरिकामा भने यतिबेला बर्ड फ्लूको संक्रमण बढेको छ । दक्षिण क्यारोलिना क्षेत्रमा व्यवसायिक रुपमा पालिएका टर्कीमा यो रोग बढिरहेको छ । यो रोग अन्य क्षेत्रमा फैलिएमा त्यहाँको पोल्ट्री व्यवसायमा नराम्रो असर पर्ने बताइएको छ । बर्ड फ्लू बढ्दै गएमा कोभिड–१९ का कारण गलेको अर्थतन्त्रमा थप असर पर्ने पक्का छ । यही रोगका कारण सन् २०१४ र २०१५ मा अमेरिकाको १५ राज्यमा ५ करोड कुखुरा र टर्की नष्ट गर्नुपरेको थियो । त्यो क्षतिले अमेरिकी अर्थतन्त्रलाई नराम्रो प्रभाव पारेको थियो । यो रोग पंक्षीहरुबाट मानिसमा समेत सर्न सक्छ ।

कोभिड–१९ बाहेकका संक्रमण क्षेत्रिय रुपमा फैलिइरहेको छ । अन्यको तुलनामा मानवलाई अहिले कोभिड–१९ को चुनौति बढी छ । तर, अन्य महामारीलाई पनि बेवास्ता गर्दा यसले थप क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन विशेषज्ञहरु सुझाव दिइरहेका छन् । (एजेन्सीहरुको सहयोगमा)
 

ताजा खबर