कपिलस्तुमा भेटिए नयाँ दश संक्रमित, देशभरको संक्रमित संख्या १२०

२०७७ बैशाख २९ सोमबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । कपिलस्तुमा भेटिएका नयाँ दश कोरोना संक्रमित भारतबाटै लुकिछिपी नेपाल पसेको थाहा भएको छ । कपिलवस्तु प्रशासनका अनुसार, उनीहरू भारतबाट नेपाल भित्रिएको पत्ता लागेको छ ।

भारतको मुम्बई, दिल्ली लगायतका शहरहरूबाट ती संक्रमित मानिस नेपाल पसेका थिए । तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे यथार्थ विवरण खुल्न बाँकी रहेको बताईएको छ । 
आज संक्रमण फेला परेका व्यक्तिहरू कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेको क्यारेन्टाईनमा बसेका थिए । उनीहरुलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा लगिने भएको छ । यसअघि कपिलवस्तुमै फेला परेका संक्रमितहरू पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल छिरेका  थिए । अघिल्ला संक्रमित र नयाँ संक्रमितबीचको सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रशासनले बताएको छ ।

अब कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । प्रारम्भिक जानकारीअनुसार तीमध्ये यशोधरा गाउँपालिकाका ८ र बुद्धभूमि नगरपालिकाका २ जना   छन् ।  पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य  प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशोधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीय पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू  स्वास्थ्यकर्मीको सम्पर्क रहेको मन्त्रालयले जनाएको छ ।
 

ताजा खबर