खासखुस नगर सरकार निदाएको छ

२०७७ बैशाख २७ शनिबार ०८:५६:०० मा प्रकाशित

बिस्तारै पनि नबोल
खासखुस पनि नगर अब।

बिरालो जस्तो हिँड्नू
केही चपाउनु छ भने 
बर्कोले मुख छोपेर खानू,
आवाज नगर कतै पनि ।

सन्नाटा होस् यत्र तत्र सर्वत्र
कोही नबोल 
सरकार निदाएको छ।

घरमा पसेर बलात्कार भइरहेको छ 
आर्तनाद सुनिन्छ कताकता 
किन रोएका आमा,दिदीबहिनी र
छोरीबुहारीहरु !

थाहा छ‌ैन र,
सरकार निदाएको छ।

सरकारको निन्द्रा बिथोलिने डर छ
बुलडोजर कुदोस् हाम्रो छातिमा
सहनु पर्छ रैती भएपछि 
भोकै सुत , 
हल्ला नगर,सुत्न देऊ सरकारलाई 
सरकार थाकेको छ।

भयो नरोऊ,न चिच्याउ
सरकारलाई सुत्न देऊ।

बिन्ति छ कोही नबोल
सरकार निदाएको छ मस्तले।

(वरिष्ठ पत्रकार युवराज गौतमको फेसबुकबाट साभार) 

ताजा खबर