लक्की लकडाउनः जम्यो छन्द कविता, रसाए लाखौं आँखा

२०७७ बैशाख २५ बिहीबार १०:२७:०० मा प्रकाशित

नेपाली छन्द साहित्यको मिठास अहिले निकै फैलिएको छ । संस्कृत साहित्यको यो सौन्दर्य नेपाली साहित्यमा दरिलोसँग स्थापित छ । नेपाली कविताको आकाशमा छन्द कविताको मर्म र मौलिकता निकै रसिलो पनि छ । संस्कृत भाषाकै कोखबाट नेपाली भाषा जन्मिएका कारण संस्कृत साहित्य एवं दर्शनको रसिलो बिम्ब नेपाली साहित्यमा दरिलोसँग परेको छ । नेपालको शिक्षा नीतिमा विदेशी मौलिकताको पोषण हुने गरी परिवर्तन गरिएपछि नेपाली साहित्यलाई संस्कृत साहित्यको छायाँबाट टाढा पुर्याउने प्रयास भयो । फलस्वरूप विगत केही दशकहरूमा नेपाली छन्द कविता हेयको विषय बन्यो । कालिदासलाई पढ्नेहरु निकम्बा, पुरातनवादी एवं अबौद्धिक ठहरिन थाले भने शेक्सपियर पढ्नेहरू समाजका सुपठित एवं उद्भट विद्वान गनिए । नेपाली भाषा बोल्दा दुइचार वटा टुटे फुटेका अंग्रेजी शब्द मिसाएर बोल्नेहरु विद्यारत्न नै बने । संस्कृत साहित्यको बिम्ब परेका सबै ज्ञान भण्डारहरू अनुपयोगी भनेर प्रचार गरियो । यतिसम्म भयो कि राजनैतिक आन्दोलनका नाममा संस्कृत ज्ञान माथि गम्भीर प्रहार गरियो । गाउँ गाउँमा संस्कृत विद्यालयहरू बन्द गराइयो, संस्कृतका ग्रन्थहरू जलाइयो । यो कर्म वास्तवमा प्रकारान्तरले नेपाली भाषा र राष्ट्रियता माथिकै निर्मम आक्रमण थियो । त्यसबेलादेखि अहिलेसम्म पनि विभिन्न रूपबाट आक्रमण जारी छ । तिनै आक्रमणकारीहरूका निर्जीव अनुचरहरू आज आफुलाई छन्द साहित्यको स्वनामधन्य अभियन्ता बताइरहेका छन् ।

 

नेपालमा एउटा यस्तो निर्लज्ज वर्ग छ, जो सकेसम्म नेपाली मौलिक संस्कृति एवं ज्ञान साहित्य परम्परालाई सिध्याउन चाहन्छन् ।  बाह्य शक्तिको हुन्डी खाएर पर्दा पछाडिबाट सकुन्जेल नेपाली भाषा साहित्यमाथि आक्रमण गर्छन्, फेरी एकातिरबाट त्यसैको नामबाट आफु हिरो हुन अनेक प्रपञ्च रचना गर्छन् । आफैंले आफुलाई छन्द कविताको विद्वान भन्दै जातीय संगठन हुन्छ कि राजनीतिक संगठनको हौवा फिँजाएर कब्जा गर्छन् ।  अहिले छन्द साहित्यमा त्यस्तै देखिएको छ । बुर्जुवा शिक्षा पढ्नु हुन्न भनेर कलिला बाल बालिकाहरुलाई जबर्जस्ती बन्दुक बोकाएर आफ्नो निकृष्ट स्वार्थ सिद्ध गरे, पछि त्यही बुर्जुवा भनिएको शिक्षामा हालीमुहाली गरिरहेका छन् । गरीव जनताका छोरा छोरीहरू पढ्नबाट वञ्चित भए । वैदिक ज्ञान अभिशाप हो भन्ने केही स्वनामधन्य बिद्वानहरू आज वेदाङ्गकै एउटा अङ्ग छन्द साहित्यलाई प्रयोग गरेर रमाइरहेका छन् । जे भए पनि यो राम्रो नै पक्ष हो । ढिलै भए पनि नाली मन पराउनेहरु छन्द साहित्यको सौरभबाट आकर्षित हुन थाले । वैदिक परम्परालाई मास्न हिँडेकाहरू आज छन्द साहित्यको पराग खोज्दै हिँडेका  छन् । यो गौरवकै विषय हो ।

 

कोरोना भाइरसका कारण अहिले सबै घर घरमै बसिरहनु परेको अवस्था छ । यस्तो बेलामा छन्द कवितामा रुचि र दख्खल भएकाहरूले धमाधम कविता लेखिरहनु भएको छ । धेरै विशिष्ठ छन्द कविताहरू यो लकडाउनको बेलामा सामाजिक मिडिया मार्फत सार्वजनिक भए । कविता लेख्न सक्ने तर वाचनमा भनेजस्तो गला नभएका कविहरूले मीठो वाचन कला भएकाहरूलाई गाउन दिएर आफ्नो सुरम्य कवितालाई अझै सुललित बनाएर पस्कनु भयो । कविता गाउँने कलामा नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएकी रञ्जना पौडेलको कर्णप्रिय गला एवं कलाले नेपाली छन्द कविताको तृष्णालाई अझ जनसमक्ष बढाइदियो । रञ्जनाले कविशिरोमणि लेखनाथ पौडेलको कालमहिमा गाएर आफ्नो पेजमा राख्नुभएको   छ । त्यो कविता यो आलेख तयार पार्दासम्म दश लाख ६ हजारले सुनिसक्नुभएको छ । वहाँ आफैं पनि कवयत्री हुनुहुन्छ ।  रञ्जना आफ्नो सामान्य मोबाइलबाट मात्र गाउँनुहुन्छ । वहाँसँग न त स्टुडियो छ न त संगीतकै सहारा छ, तर पनि वहाँको गायनले श्रोतालाई मन्त्रमुग्ध बनाउँछ । गायन कलामा रुचाइएको अर्को नाम शिव त्रिपाठी हो । वहाँ पनि नेपाली साहित्यका प्राध्यापक हुनुहुन्छ । आफैं पनि कविता लेख्नुहुन्छ । छन्द कविता वाचन गरी सामाजिक मिडियामा राखेर लोकप्रिय बनाउने काममा शिव त्रिपाठीको महत्वपूर्ण योगदान छ । कवि हिरा भट्टका छन्द कविताहरू त्रिपाठीले धेरै गाउनुभयो । हिरा भट्टका कविता अति नै मीठा र चोटिला हुन्छन् । वहाँले आफ्नो फेसबुक वालमा महाकाव्य लिएर श्रोता सामु आउने प्रण गर्नुभएको छ । नेपाली छन्द साहित्यका लागि यो एउटा गौरवको कुरा हो । शिव त्रिपाठीले शुरुगरेपछि अहिले छन्द कविता गाउँने क्रम खूब बढेको छ । सरु गुरागाईं पनि अहिले गायन कलामा अब्बल भएर प्रस्तुत हुनुभएको छ । वहाँ आफैं पनि कविता लेक्नुहुन्छ ।  त्यसैगरी सरु बस्नेतको गायन कलालाई पनि श्रोताले निकै रुचाएका छन । वहाँ पनि आँफै राम्रो कविता लेख्नुहुन्छ । दीपा भट्टराईको वाचनले पनि सबैको मन जितेको छ । छन्द कविता गायनमा सरस्वती चौलागार्इं र गार्गी चौलागाईको पनि आवाज अति नै मीठो छ । वहाँहरू दुवैजना भागवत वाचनमा पनि निकै प्रवीण हुनुहुन्छ । कविता वाचनमा बिनिता उपाध्यायको पनि राम्रो कला छ । वहाँ कविता लेखनमा पनि कलम चलाउँदै हुनुहुन्छ । त्यस्तै कविता वाचनमा बिनिता अधिकारीको पनि मनोल्हादक कला छ । छन्द कविता लेखनमा कवयत्रीद्वय मिरा ज्ञवाली र भावना न्यौपानेको कलम पनि निकै सृजनात्मक देखिन्छ ।

 

आफंै लेख्ने र गाउँने दुवै कला भएका छन्द कविहरू पनि धेरै हुनुहुन्छ । सुदेश सत्याल पछिल्लो पुस्ताका छन्द कविहरूमा प्रसस्त सम्भावना भएका कवि हुन् । वहाँका कविता सरल, सम्बोध्य अनि अभिधा, लक्षणा र व्याङ्ग्यले भरिपूर्ण हुन्छन् । वहाँको गायन कला पनि धेरै मीठो छ । त्यस्तै वरिष्ठ रेडियोकर्मी एवं कवि नवराज लम्साल पनि आँफै मीठोसँग गाउँन सक्नुहुन्छ । वहाँको छन्द कविताको यात्रा धेरै लामो हो । त्यसैगरी बलराम दाहाल, प्रभा भट्टराई, सरु बस्नेत, सविता बराल, गाउँले बलदेव अधिकारी, मनोज भण्डारी, टीका आत्रेय लगायतका कविहरूको लेख्ने र गाउने दुवै कलामा परिपूर्णता पाइन्छ । कवि बलराम दाहालका कविता व्यावहारिक जीवनको यथार्थ बिम्ब खिच्न सफल छन् । आजभन्दा पाँच वर्ष अगाडि नै छन्द कविता गाएर यू ट्यूबमा लोकप्रिय भएको थियो । गायिका निक्की कार्की र प्रेक्षा लम्सालद्वारा गाइएका कविताहरूले धेरैको मन छोयो । निक्की कार्कीले पाँच वर्ष अगाडि नै आमा शीर्षकमा कविता गाएर धेरैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । तर पनि वहाँहरू पछि गीत गायनको क्षेत्रतिर लाग्नुभयो । छन्द कविता गाउँन छोड्नुभएको जस्तो देखिन्छ । यस्ता धेरै प्रतिभा छन् तर उनीहरूको प्रतिभा बाहिर आउन सकेको छैन ।

 

कतिपय मानिसहरू आफू प्रचारमा आउन निकै सिपालु हुन्छन् । आफ्नो यथार्थ क्षमताभन्दा भन्दा धेरै हाउगुजी सृजना गरी आफू के के न हो भन्ने छाप पार्न सक्नेले आजभोलिको यो सस्तो मिडियाबाजीमा बाजी नै मार्छन् । छन्द कविता क्षेत्रमा पनि केही प्रचारकुशलहरू सफल भैरहेका छन् । प्रतिभा भएका मानिसहरू प्रचार गर्दै हिँड्न लजाउँछन् पनि । असीम कवित्व क्षमता भएका तर बाहिर प्रकट नभएका कविहरूको खोजी गर्नुपर्ने आवश्यकता छ । आज भोलि, जुनसुकै क्षेत्रमा पनि भूईफुट्टा बर्गको हाबी छ । सर्जकको कविता गाएर मेरो कविता भन्ने काम पनि गायक गायिकाबाट भएको भेटिएको छ । साङ्गीतिक क्षेत्रमा पनि यो समस्या धेरै छ । गीत लेख्नेको कतै पनि नाम आउँदैन तर गायक गायिकाको मात्र नाम आउँछ ।

 

 नेपाली छन्द साहित्यमा अद्भूत प्रतिभा भएका तर प्रचारमा न आएका प्रतिभाहरुलाई श्रोता पाठक सामू ल्याउनुपर्ने अवस्था छ । नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक मुकुन्द प्रसाद लामिछाने एउटा अप्रतीम प्रतिभा हो । वहाँ छन्दमा धाराप्रवाह कविता लेख्न सक्नुहुन्छ । त्यस्तै तीर्थराज अधिकारी अर्को एक गुमनाम छन्द कवि हुनुहुन्छ । दैवज्ञराज न्यौपाने छन्द कविताका एक स्थापित कवि हुन् । त्यस्तै सीताराम अधिकारी, बिष्णुहरी पौडेल, प्रा. मोहन प्रसाद तिमल्सिना, प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल, रमेश खकुरेल, रामरञ्जन पौडेल, कोषराज न्यौपाने, शरद कुमार भट्टराई, लक्ष्मीकान्त पन्थी, राम प्रसाद ज्ञवाली र देवीप्रसाद नेपालका पनि नेपाली छन्द कवितामा स्मरणयोग्य योगदान छ । दाङ्ग निवासी वेदान्त दर्शनका विद्वान नारायण प्रसाद नेपाल एक उत्कृष्ट कवि हुनुहुन्छ । वहाँ छन्द कविता र गजल दुवै गाउँने र लेख्ने गर्नुहुन्छ । प्राध्यापक जगतप्रसाद उपाध्याय पनि मीठो कविता लेख्नुहुन्छ । पूर्वमा महानन्द तिमल्सिनाको पनि छन्द कवितामा महत्वपूर्ण योगदान रहेको पाइन्छ । सुदूर पश्चिममा टेकराज पन्त दाङ निवासी हरिप्रसाद पोखरेल र रमेशचन्द्र घिमिरेका कविताहरू पनि पढौ पढौं लाग्ने खालका हुन्छन् ।

 

चितवनमा केदार खनाल एवं अमेरिकामा बसोबास गर्ने पीपलमणि सिग्देल तथा बेलायत बस्ने दुर्गा प्रसाद पोखरेलको पनि छन्द कवितामा राम्रोसँग कलम चल्छन् । हरि प्रसाद पोखरेल राष्ट्रिय कविता महोत्सवमा पुरष्कृत हुनुभएको कवि हुनुहुन्छ । दुर्गा प्रसाद पोखरेलका कवितामा यथेष्ट युगचेत पाइन्छ । कवि विदुर अधिकारीका कविता पनि धेरै पठनीय छन् । जयदेव गोविन्द, नारायण प्रसाद निरौला, उमेश प्रसाद घिमिरे, पोखरा निवासी चण्डिका त्रिपाठी, अमेरिका निवासी गायत्री तिमल्सिना, रीता पोखरेल, रामचन्द्र घिमिरे, सुदीपभद्र खनाल, पुष्प आचार्य, ऋषभदेव घिमिरे, भवानी खतिवडा, धर्म पोख्रेल, माधव खतिवडा, यानिराम दाहाल, जगन्नाथ रेग्मी, छविनारायण पाण्डे, गणेश पाण्डे, श्याम रेग्मी लगायत छन्द कवितामा कलम चलाउने स्रष्टाहरूको नाम धेरै छन् । यो एउटा खुसीको कुरा पनि हो । पूर्वीय दर्शनकी अनुसन्धाता एवं कवयत्री अलका आत्रेयका कविता पनि सरल भाषामा तर गम्भीर अर्थबाहक हुन्छन् । वहाँका कविताहरू वहाँको आफ्नै ब्लगमा पढ्न पाइन्छ । सरु गुरागाईद्वारा गाइएका प्राडा हेमनाथ पौडेल, जीवनहरि शर्मा, दीपकप्रसाद न्यौपाने, कमल कोइरालाका कविता यो लकडाउनको बेला निकै चर्चित भए । यदु  पन्थी, प्रेम मरासिनी, भूपति ढकाल कमल, लेखप्रसाद निरौला, वामदेव पण्डित जस्ता कविहरूले पनि छन्दमा हात चलाइरहनु भएको छ ।

 

मुकुन्दशरण उपाध्याय जस्ता विद्वान एवं स्रष्टाको त यो सानु आलेखमा चर्चा गर्नु असम्भव नै हुन्छ । कवि कृष्ण प्रसाद भट्टराई जसको आमा शीर्षकको कविता औपचारिक पाठ्यक्रममा नै राखिएको थियो, अति नै मर्मस्पर्सी कविता वहाँ लेख्नुहुन्छ । घटराज भट्टराई, पीताम्बर दाहाल जस्ता अग्रज कविहरूको कविता पनि हामीले पढ्न पाएका छौं । आदिकवि भानुभक्त आचार्यले रामायणलाई नेपालीमा समछन्दमा लेखेर नेपाली छन्द कवितालाई व्यापक बनाउनु भयो ।  कवि शिरोमणि लेखनाथ पौडेलले त झन् छन्द कविताको आकाशलाई चम्किलो तारा बनेर स्थापित गर्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली छन्द कविताका महर्षि नै हुनुहुन्छ । यो आलेखमा कति प्रतिभाशाली छन्द कविहरूको नाम प्रस्तुत गर्न सकिएको छैन । सानु आलेखमा सबै नाम उल्लेख गर्न असम्भव नै छ । केही प्रतिनिधि कविका रूपमा केही नामहरू उल्लेख गरिएको मात्र हो ।
  
 

ताजा खबर