सन्दर्भ बुध्दजयन्तिः मुक्तिको मार्ग हिँड्नेहरुको नाममा

२०७७ बैशाख २५ बिहीबार ०९:२३:०० मा प्रकाशित

यो प्रकृतिमा सूर्य, पानी, हावा आदिको कुनै विकल्प छ ? यसलाई जसले जे नाम दिएपनि यसको गुण धर्म स्वभाव उहि हुने हो । कुनै मुस्लिम, कुनै हिन्दु वा कुनै बुद्धिष्टहरुले यिनिहरुको विकल्पको रुपमा केही प्रयोग गर्ने गरेको पाउनु भएको छ ? इश्वर पनि एकै छ रे ! के अब रे कै आधारमा मानेर बस्ने त ? ठीक छ इश्वर एकै छन् वा दुइ छन् वा ३३ करोड नै किन नहुन एकछिनलाई छन् भन्ने मान्ने हो भने पनि कुनै इश्वरवादी होस् वा अनिश्वरवादी होस् यसको वास्तविकता अनुभूतिमा आउने कसरी ? शताब्दियौंदेखिका सम्प्रदायिक, सामाजिक मान्यताका आधारमा विभिन्न परम्पराहरु समाजमा चल्दै आए जो जुन परम्पराबाट आयो उसको लागि उस्तै इश्वर छन् संसारमा । यसैले अनेक उल्झनको विकास गरेको छ । यस प्रकृतिमा हामीलाई क्षण प्रति क्षण रुपमा चाहिने स्वास, पानीको त कुनै विकल्प छैन भने मुक्तिको मार्गको विकल्प कसरी हुन सक्छ ? यो मनमा बारम्बार प्रश्न उठिरहेको अवस्था थियो कुनै समयमा ।

 

जब धर्मको गंगामा डुबुल्की लगाउने अवसर प्राप्त भयो तब थाहा भयो कि यो चित्तधारा अनुसार हाम्रो शरीरमा उत्पन्न हुने पिडा, सुखद अनुभूतिहरु त परिवर्तन भइरहने रहेछन् । वास्तविक रुपमा थाहा भयो कि मन र शरीरको सम्बन्ध यो स्वासले कसरी बाँधेको रहेछ । जुनसुकै पिडा वा होस् वा सुखदपन शरीरमा प्रकट हुनासाथ स्वासले आफ्नो गति परिवर्तन गरि हाल्दो रहेछ । स्वासको गति सामान्य हुन्जेल शारीरिक मानसिक सुखद् दुःखद् पिडा समाप्त भइसकेको हुन्छ । यी कुराहरु पुस्तकमा पढेर दिमागमा कण्ठस्थ पारेर जतिचोटी पाठ गरेपनि मन र शरीरको सम्बन्ध थाहा पाउन अभ्यास कै खाँचो हुन्छ । अभ्यास के गर्ने भन्ने कुरा मुख्य कुरा हो । बुद्धिविलास, वाणिविलास जुन गफ गर्न वा अरुको अगाडि मैले यतिकुरा जान्या छु भन्न देखाउनको लागि सूचना जम्मा गर्नुलाई धेरैले आफुलाई उच्चकोटिको ज्ञानी हुँ भन्ने भ्रम राखेका हुन्छन् र वाणिविलास गरेर वा भनौ गफ गरेर मात्रै जीवन बर्बाद गरेर वादविवादमा समय नष्ट गर्छन् । 

 

पालि भाषामा भगवान बुद्धले एकाएन मग्गो भनि त्यसको व्याख्या गर्नु भएको छ । एकाएन मग्गो भनेर वहाँले मुक्तिको एउटा मात्र मार्ग छ । धर्मका ६ वटा गुण १) स्वाक्खातो– राम्रो तरिकाले सम्झाइएको, २)  सन्दिठ्ठिको– सहि दृष्टि सहित सिकाइएको, ३)  अकालिको – तत्काल फल दिने खालेको, ४)  एहिपस्सिको – आउ हेर र यसको अनुभव लेउ भन्ने खालको, ५) ओपनियको– निर्वाणसम्मको यात्रामा पुर्याइदिने र ६) पच्चतं वेदितब्बो विञ्ञुहिति– अनुभव गरेर जान्ने खालको गुण भएको धर्म, तीन रत्नहरु बुद्ध, धर्म र संघ, आठ वटा मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि र सम्यक वाचालाई अँगालेर साधनारत भएपछि मात्र निर्वाणिक अवस्था पाउन सकिने कुरा बताउनु भयो । यसको लागि १० वटा परमिताहरु पनि पुरा गर्नुपर्ने अर्को अवस्था पनि छ । ती हुन शील, दान, उपेक्षा, निस्क्रमण, वीर्य, क्षान्ती, सत्य, अधिष्ठान, करुणा र मैत्रीको पारमिताले पुष्ट हुनु पर्छ ।

 

भगवान बुद्धले जीवनभर ४ वटा कुरामा मात्र सीमित रहेर हामीलाई बुद्ध शिक्षा प्रदान गर्नु भएको थियो । त्यसको लागि वहाँले जन्मजन्मान्तर परसेवा गर्दै ध्यान गर्दै एक अवस्थामा पुगेपछि मात्र बुद्धत्व प्राप्त गर्नु भएको थियो । संसारमा वहाँभन्दा पहिला र पछि कति बुद्ध भए त्यसको कुनै गिन्ती छैन । धेरै साधना गर्दै आफु निर्वाणिक अवस्थामा पुगे पनि अरुलाई सिकाउँदा र सिक्नेको वुझाइको क्षमताका आधारमा सम्प्रदायको विकास हुँदै गएको प्रष्ट देखिन्छ । जुनसुकै मार्ग किन नहोस हिँड्न छोडेपछि त्यो मार्गमा अनेक कठिनाइहरु आउँछन नै । केवल पाठ गर्ने माध्यम मात्र बन्न पुग्दछन् । हाम्रो पुज्य गुरुजी सत्यनारायण गोयन्काज्यू मारवाडी समुदायबाट प्रतिनिधित्व गर्नु हुन्थ्यो । गीताको एक अध्यायको पाठ गरे एक जन्मको पाप काटिन्थ्यो भन्ने कुरा वहाँले भन्दा बढि कसले बुझेको थियो होला र ? तर, के पाठ गरेर मात्र जीवनमा पार पाइने हो त ? 

 

साहित्यमा पुरानो वेद हो त्यसमा पनि ऋग्वेद सबैभन्दा पुरानो हो । स्वयं वेदन अर्थात अनुभव, अनुभूतिद्धारा लिखित ग्रन्थ हो । वेदका रचयिता ऋषिले पनि उक्त साहित्यमा सबै विपश्यनाको चर्चा गरेको पाइन्छ । तर,  लगाउनेले लगाउन सक्नु पर्यो । कुनै कलाकार भित्र जस्तो भगवानप्रतिको आस्था छ उस्तै प्रकृतिको आकार रंग रुप भएको बनाउने होला  नि । आलंकारिक भाषामा तयारी गरिएका साहित्यको खास अर्थ खोज्दै जाने हो भनेपनि यहि विपश्यना नै विपश्यना पाउन सकिन्छ । जीवनधाराबाट पार तार्ने गंगाबाट पार गर्ने विद्या त सिकोस् कोही । म्यान्मारका अर्वपति पुज्यगुरुज्यू सत्यनारायण गोयन्काज्यू उद्योगपति हुनुहुन्थ्यो । जीवनभर पैसा कमाउन ध्याउन्नमा जीवन लगाइदिएको भए सायद यो विद्या हामी समक्ष आउने थिएन । केही सम्प्रदायिकताका लेप लगाएका व्यक्तिहरुलाई यस्ता कुराले चित्त दुख्न सक्छ । स्वभाविक हो दुख्नु पनि । सबै मान्ने कुरालाई जीवनभर आचरण गर्यो र उसप्रति यति आशक्ती बनायो कि कसैले उसको मान्यताप्रति बोल्यो चित्तधारामा असुखद समवेदन बढेर जान्छ र मनमा दुःख पैदा हुन्छ । मनको स्वभाव हो हुन्छ   नै । यसमा झगडा गर्ने कुरै छैन ।

 

गीताको एक श्लोकले यसो भन्दो रहेछ । उत्क्रामन्तं स्थितंवापि भुन्जानंवा गुणन्वितं । विमुढा नानुपश्यन्ति पश्यन्ति ज्ञान चक्षुसः ।। अर्थात् ज्ञानको आँखा खोलिएका व्यक्तिले मात्र शरीरका समवेदना जो उत्क्रामण भएर आउँछन् । कान, नाक, आँखा, छाला, जिब्रो र मन जुन चिज वस्तु वा कुनै विषयसँग जोडिन्छ त्यसपनि मनमा कुनै विचार, भाव संचार भएपछि केही कुरा उत्क्रमण हुन्छ । उत्क्रमण भएका विचारहरुको संचार पुरै शरीरमा हुन थाल्छ । ज्ञानको आँखाले हेर्न जानेन भने त्यो संचार संस्कारको रुपमा गुणात्मक रुपमा थप संस्कार विकास हुन थाल्छ वा यसो भनौं शरीरमा उत्पन्न भएको संचारको स्वाद लिन थाल्छ । दःख आए दुःख भोग्छ सुख आए सुख भोग्न थाल्छ । यस श्लोकलाई पनि पाठै गर्ने हो भने यसको मुल अर्थ हराएर जान्छ । दिनानुदिन गीता पाठ गर्नेले म यस्तो गीता पाठी व्यक्ति भनेर घमण्ड बाहेक के उत्पन्न गर्छ होला । गीताको सहि अर्थ त मान्छेले विर्सेर गए । अब पाठ गर्ने काममा लागे । केवल पाठ गर्ने कामले मात्र कोही मुक्त भइन्थ्यो भने यो आँखा बन्द गरेर विपश्यना गर्न के जरुरी छ ? कोही छ जसले गीताले सिकाएको वास्तविक विधिको पालन नगरी केवल पाठ गरेको आधारमा मुक्त अवस्थामा पुगेको ?

 

महावीरको वाणी लिनुहोस् । वहाँ भन्नुहुन्छ “काम कामि खलु अयं पुरुषो, सो सेयेते जुर्रते पिड्डते तप्पति परिपिड्डती परितप्पति” अर्थात् त्यस्तो व्यक्ति जसले मनका कामनाहरु लोटपलोट लगाउँछ उ एकदम दुःखी हुन्छ । काम कामी जो सुकै होस दुःखी हुन्छ नै । यस्तै भाव यसको अर्थ हो । यस्तोबाट कसरी बाहिर निस्किने भनेर फेरि महावीर भन्नु हुन्छ, “आयत चख्खु लोक विपश्यि” साढे तीन हातको यस शरीरलाई पनि उतिखेरको भाषामा लोक भनिन्थ्यो । यसै लोक भित्र विपश्यना गर्ने व्यक्ति सारा दुःखबाट बाहिर निस्किन्छ । शरीरका सबै आयामको दर्शन गरेर मात्र दुःखबाट छुट्कारा पाउन सकिन्छ । यसरी विपश्यना गर्ने व्यक्ति यह लोक परलोक सबै लोक सुधार्न तत्पर रहेको प्रतीत हुन्छ । महावीर अगाडि फेरि भन्नु हुन्छ, “सन्धिं विदित्ता” जुन मन र शरीरको स्पर्श हुने स्वभाव हुन्छ अथवा सन्धि कता हुन्छ ? केको सहाराले थाहा पाउने भन्दा शरीरमा हुने वेदनाको आधारमा थाहा पाउने र त्यसलाई सन्धि हुनै दिएन भने मनका संस्कार बन्न छोड्छन् र मानिस मुक्त अवस्थामा पुग्न सक्छ । यहि एकायनो मग्गो मुल मर्म हो । मुक्तिको एकमात्र मार्ग यसैलाई  भनियो । भगवानले बुद्धले संसारमा ४ किसिमको व्यक्ति हुन्छ भन्नु हुन्छ । एक हो अँध्यारोबाट अँध्यारोको अवस्थामा यत्रा गर्ने व्यक्ति अर्को अँध्यारोबाट उज्यालो तर्फ यात्रा गर्ने व्यक्ति, उज्यालोबाट अँध्यारोमा यत्रा गर्ने व्यक्ति र उज्यालोबाट उज्यालोतर्फ यात्रा गर्ने व्यक्ति भनेर यसलाई सरल भाषामा सम्झाउनु पनि भएको छ ।

 

सन्त कविर वाणी नै लिनुहोस्, “तीन हाथ एक अढढाइ, ऐसा अम्बर चिनो मेरे भाइ” भन्नु भएको छ । यसैमा फेरी भन्नु हुन्छ, “कहे कवीर हरि ऐसा रे जहाँ जसै तहा तैसा रे” । यो शरीरमा जहाँ जस्तो छ त्यहाँ त्यस्तै छ भनेर हेर, प्रतिक्रिया नगर । के हेर ? कसैले रिसलाई हेर भन्यो भने रिसको के हेर्ने ? न रुप हुन्छ न आकार त्यसको के हेर्ने ? कुनै कुरा मनमा जाग्यो भने त्यसको तुरुन्त प्रकटिकरण शरीरमा समवेदनका रुपमा हलनचलन हुन थाल्छ । हो त्यही समवेदनलाई हेर्न सिकाउने विद्या हो यो । यसैमा भगवान बुद्धले “यथाभूत ज्ञान दर्शन” भन्नुभयो । जसमा यथाकृत गर्ने कुनै कामै छैन । अझ अगाडि भन्नुभयो, तुम्हेहि किच्चं आतप्पं स्वयम् आउ र तप सारा दुःखबाट बाहिर आउ । यसको पनि पाठै गर्न थाल्यौ भने त्यो भन्दा अवशकुन के हुन्छ । अगाडि गुरुनाककज्यू यसो भन्नु हुन्छ “बाहिर भितर एको सच य यह गुरु ज्ञान बताइ रे, जननानक विन आपाचिनो कटेन भ्रमकी काइ रे”, हुकम रजाइ चलणा पनि भनियो । यसको पनि पाठै गर्ने ? कुनै सन्तपुरुषले सिकाएको मार्गमा एककदम नचल्ने त्यसको पनि पाठै गर्ने हो भने मुक्ति कसको हातमा छ ? सबै सन्तपुरुषको वाणिमा चित्त विशोधनीको यात्रा मात्र देखिन्छ । फेरी अगाडि भन्नुहुन्छ, “व थापिया न जाए, किता न होय, आपो आप निरन्जन सोही” । आफ्नो अनुभूतिमा केही पनि नथप आफैंमा जे हुँदा छ त्यसलाई सचियारा भएर हेर भन्नु भएको छ । निर्विकार भएर जीवन जिउनेकला सिकाउनु भयो हाम्रा सबै ऋषिमुनिले तर यस्ता भक्त तयार भएकि जे गर्न सिकाएका थिए त्यो त छोडे र पाठ भने खुब गर्ने । डाक्टरले दिएको औषधि न खाने तर मेरो डाक्टर यस्तो उस्तो भनेर पाठ मात्रै गरेर के रोगबाट छुटकारा पाइएला ?


मानिस जन्मन्छ, रोगी हुन्छ, बूढो हुन्छ र जरजरित हुँदै मृत्यु अवस्थामा पुग्छ । यो सबैको लागि लागु हुन्छ । प्रकृतिको नियम सबै प्राणीहरुमा एकसमान लागु हुन्छ । कुनै विषयवस्तुको पाठ मात्र गर्दाखेरी कोही यस्ता दुःखबाट मुक्त हुने भए त के कुरा थियो । भगवान बुद्ध अगाडि भन्नु हुन्छ “तुमेही किच्चं आतप्पं” अर्थात तिमी नै आएर ताप आफैं ताप र दुःखबाट मुक्त होउ । तपस्या कोही अरु गरिदेउ र मुक्ता कोही अरु नै होइजाउ हुनै नसक्ने कुरा हो । जन्म रुनबाटै शुरु हुन्छ । अज्ञानि मनुष्यको जीवन चाहियो चाहियो गर्दैमा व्यतित भइरहेको हुन्छ र मनचाहीं नभएमा दुःखको पहाड खडा गरेर अनेक जन्म दुःखमा हाल्ने काम गर्दछ । नजान्ने हो भने यहि गर्ने त हो । हरेक व्यक्तिलाई आफ्नो रोग ठूलो हुन्छ त्यसैले रोग पनि दुःख हो । त्यस्तै वृद्धा अवस्थामा पनि दुःखदायी नै हो । शरीरका अंग प्रत्यंगले समेत काम गर्न नसक्ने अवस्थामा पुर्याउँछ । शरीर शिथिल भइसक्छ । बाँच्ने मन लाग्दैन । तर, पनि मृत्यु सहज रुपमा प्राप्त हुन सक्दैन । हरेक क्षण वर्षौ जसरी वित्ने भएको हुँदा यसलाई पनि दुःखको रुपमा लिइयो । त्यस्तै अर्को दुःख मृत्यु पनि हो । मर्न को चाहन्छ ? मर्न पनि दुःखदायी भएको हुँदा भगवान बुद्धले यिनै ४ कुरालाई व्याख्या गरी दुःखबाट मुक्त होउ भनेका हुन् ।

 

अतः जब मानिसले दुःख र दुःखको कारण पत्ता लगाउँछ उसको लागि सारा काम छोडेर बढिभन्दा बढि समय मुक्तिको मार्गमा लगाउनु स्वभाविक हो । समाजमा राम्रो नराम्रो टिप्पणी गर्ने थुप्रै देखिन्छन्, एउटा सम्प्रदायबाट अर्को सम्प्रदायमा बाँधिने हो भने पहिलाको र पछि रुपान्तरण भएको सम्प्रदायमा के अन्तर रहन्छ ? आउ र हेर भन्ने भावले विकारयुक्त चित्तलाई सुधार गर्नु नै प्रमुख लक्ष्य मानवको हुनु आवश्यक हुन जान्छ । पहिला अनुभूति गर चित्त बुझ्छ जीवनमा उतार नत्र राम्रो रहेनछ भनेर आफ्नो बाटो लाग्ने स्वतन्त्रता सबैको छ । एउटा १० दिन दिएर त हेर पछि चित्त बुझेन छोड्ने तर जस्तो सिकाइन्छ त्यस्तै गर्यो भने परिणाम हातमा आउँछ । अनेक व्यक्तिहरु आफ्नो मान्यताको टोपी लगाएर १० दिन गयो भने त्यसको कुनै अर्थ छैन । शरीरका ८० प्रतिशत रोगहरु मनसँग सम्बन्धित हुन्छन् । रोग मनको बायोप्रोडक्टस् हो । मन निर्मल भएपछि रोग त आफैं ठीक हुन्छ । कोइ चित्त निर्मल गर्ने गंगामा डुब्की लगाओस् अनि निर्मल नहोस् यस्तो हुनै सक्दैन । पानी पियो र पनि प्यास मेटिएन भन्ने नै हुँदैन । त्यसैले मुक्तिको न अन्य मार्ग एउटै मार्ग चित्त विशोधनीको यात्रा नै हो ।

 

विशोधनी पनि यस्तो कि चित्तलाई एकाग्र मात्र होइन कि गडिएर रहेका मनका विकारको सबैलाई जडबाटै समूल नष्ट गरोस् यस्तो विद्या कोही सिकाओस् एकचोटी डुब्की   लगाउनुस् । त्यसबाट हुने लाभ जतिसक्दो चाँडो लिन नै उत्तम मंगल हो । के थाहा जीवन कति छोटो छ ? कसैको निन्दा गर्न वा कुनै सम्प्रदायमा बाँध्नको लागि यो आलेख लेखिएको होइन । एउटा सम्प्रदायबाट अर्को सम्प्रदायमा लगेर भिड बढाउनको लागि यो लेख लेखिएको होइन । यस विषयमा थप केही जान्नु पर्ने छ भने खोज गरौं । मन र शरीरको सम्बन्धलाई   सम्झौ । आँखा, कान, नाक, जिब्रो, छाला तथा मनको ढोकामा कसैले ढक्ढक गर्यो भने स्वासको गति किन तिव्र हुन्छ यसको खोज गरौं र आफ्नो मात्र सारा जगतको कल्याणमा लागौ । वैदिक सनातन धर्मको पाठ गरेर मात्र केही हुँदैन । वैदिक सनातन वास्तवमा कसलाई भनिएको हो सोचौं । आफूलाई मुक्त अवस्थामा पुर्याऔं । चित्त शुद्ध हुनु नै धर्म हो । सत्य इश्वर हो । तथताको साराबाट मुक्त अवस्थामा पुर्याउने उल्लेखित गुण धर्म भएको कुनैपनि शिक्षा सिक्नुहोस् र मुक्त अवस्थामा पाउनु होस् । कल्याण हुनेछ । 
(लेखक जोशी अधिवक्ता हुन्)
 

ताजा खबर