चिनौ सम्बुद्ध सदगुरुलाई

२०७७ बैशाख २५ बिहीबार ०८:४२:०० मा प्रकाशित

 गुरु अग्नी हुन्, दिन्छन् ताप ज्योतीको न्यानोपन

गुरु वायु हुन्, फैलाउँछन् सुगन्ध सुभाषको शुद्धतन ।

गुरु आकाश हुन्, महाचेतनाको विशाल अनन्त

गुरु पृथ्वी हुन् , सहनशक्तिको भारबहन पोषण ।

गुरु जल हुन्, गर्दछन् यात्रा अविरल, सिन्चिन्छन् जगत र जीवन ।

 

  गुरु दीप हुन्,  तेल वात्तिको बल्ने आधार

   बहाउँछन्, गुरुले जीवन उर्जाको निरन्तर धार ।

   गुरु हुन्, तेज ओजशक्ति वलबुद्धि प्रसारको माध्यम

    गुरु हुन्, दिब्य ज्ञानज्योती फैलाउने सर्बोत्तम साधन ।

 

 गुरु हुन्, महान पवित्र आत्मा सन्देश वाहक परमात्माको

 गर्दछन् गुरुले कर्तब्य अनि कर्म, अधिकतम जोस जाँगरको ।

 गुरुमा हुन्छ, अडिग संकल्प  वचन अमृत  निडर अनि सत्यवादिता

 प्रदुषित क्लेषकाया विकार हटाउने कदममा, लिन्छन केही कठोरता ।

 बजाउँछन्  गुरुले मुरली, लयबद्ध एकै सुरतालमा

 उन्दछन गुरुले फूलका माला, थुँगाहरु एकै धागोमा।

 

गुरु नृत्य हुन्,  स्थिरता  र सन्तुलनबीचको गतिशिलता

गुरु संकीर्तन हुन्, सुरलय भक्तिभाव र समर्पणको माधुर्यता  ।

गुरु अक्षर हुन्, शब्द वाक्य र अर्थको मिठो संयोजन

गुरु श्रवण हुन्, मधुर ध्वनी र तरंग बीचको कर्णप्रिय सुमिरन ।

 

गुरु कला हुन्, मुक्त कंठ अनि प्रशंसा जुक्ति

गुरु भक्ति हुन्, शिव संकल्प अनि इच्छा शक्ति ।

गुरु मिठास हुन्,  भोक भोजनको तृप्त रसास्वादन

गुरु सुगन्ध हुन्,  फूल मन्जरीको मिठो वास्नावादन ।

 

गुरु हुन् जीवनकलाका सिद्धहस्त कलाकार

गुरु हुन् उल्झनका एक कुशल सुल्झनकार ।

गुरु हुन् चरित्र सुधारक, चित्तबृत्ति शुद्धिकरणकर्ता

गुरु हुन् प्रबन्ध संचालक, जन्ममरणको मुक्तिभर्ता ।

गुरु हुन् मन शरीर, उत्कृष्ठ तन्त्रसंग्रह अनुभूति

गुरु हुन् कर्मशिलता, परिश्रम मेहनतको परिणति ।

गुरु हुन् गतिला पाठ, सिकार्इ ठक्कर अनि हण्डरका

 गुरु हुन् अनुभव भोक्ता, आफ्नै बुझाई अनि भोगाईका ।

 

गुरु द्रष्टा हुन्,  सुखदुःख दिनरात बरावरी

उचनिच सबैप्राणीमा करुणा छ सरावरी ।

गुरु हुन् इन्द्रियानुभुति, ग्रहणशिलता अनि रीतिस्थिति

गुरुको सदैव गुणकारी उच्चताबोध अनि भावस्थिति ।

गुरुले अनुशासन प्रेरित दिलाउँछन् शिक्षादीक्षा

गुरुलाई रत्तिभर अपेक्षा छैन, गुरुदक्षिणाको भिक्षा ।

गुरु बस्तछन्, समयऋतु अनुकुल मनशरीर अनि प्रकृतिमा

गुरु हुन्, गन्तब्य यात्राको साधन, पुर्याउने जीवचेतना  मूलस्रोतमा ।

 (सदगुरुप्रति समर्पित, सन्दर्भ: बुद्धपूर्णिमा)

                       

                                                                

ताजा खबर