लकडाउन थप्दै सत्ता विवाद बल्झाउँदै

२०७७ बैशाख २४ बुधबार १६:५३:०० मा प्रकाशित

 यतिबेला राजनीति अल्मलिएको छ । अल्मलिएको राजनीतिले राज्यका अंगहरु र सन्यन्त्रहरुलाई समेत अल्मल्याएको छ । राज्यशक्ति अलमलमा परिरहँदा त्यसको प्रत्यक्ष असर जनताको दैनिक जीवनमा परिरहेको देखिएको छ । सरकारले लकडाउन अवधि थपेर जेठ ५ सम्म पुर्याएको छ । लकडाउन थप्दै जानु परिस्थितिको वाध्यता हो भन्ने सबैले बुझेका छन् । त्यसैले सरकारको यो निर्णयको समर्थन र पालना पनि गरिरहेका छन् । लकडाउन थप्दै जाने तर कोरोना संक्रमणबाट उत्पन्न समस्याहरुको समाधानतिर कम र राजनीतिक लडाईं झगडामा बढी अल्मलिने सरकारको तरिकाले भने सर्वसाधारणमा आक्रोश र निराशा बढाएको छ । यसमा सत्तारुढ दल र विपक्षी दलहरुको उदासिनता भंग हुन सकेको देखिँदैन ।


 कोरोना संक्रमण सुरु भएदेखि नै सरकार चलाउने दल नेकपाको सत्ता संघर्षले विभिन्न घटनाहरु उत्पन्न गरिसकेको छ । विश्वभरी नै यो महामारीको असर छ र अरु देश यही समस्याको समाधानमा मात्र केन्द्रीत भएर काम गरिरहेका छन् । तर नेपालमा भने सत्तारुढ दलले दुनियाँलाई नै आश्चर्यचकित पार्नेगरी राजनीतिक विवाद बल्झाएर अन्योल सिर्जना गरेको छ । दलीय झगडा नै नेपालको मुख्य चासोको बिषय पो  हो भने झैं विवाद छेडिएको छ र यसले राज्य शक्तिको दुरुपयोग मात्र गरिरहेको छैन । सरकारका निकायहरुलाई  समेत पंगु बनाउँदै देश र जनतालाई निराशाको बादलभित्र धकेलेको छ । यसबाट पार पाउन सत्तारुढ दलका कुनै पनि नेतासँग ठोस योजना भएको देखिँदैन भने संसदको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि केवल रमिते मात्र भैरहेको देखिएको छ ।

 

बेमौसमको बाजा उपमा पाएको नेकपाको सस्तो विवादले जननिर्वाचित संसदको शक्ति र उसले चुनेको शक्तिशाली सरकारको प्रभावकारितालाई अर्थहीन बनाउने खतरा बढ्दै गएको छ । पार्टीमा सर्वसम्मत साथ पाउन लायक कुनै एक नेता समेत नभएको नेकपाले जनताबाट पाएको ऐतिहासिक मतको सम्मान गर्न सक्ला र भन्ने प्रश्न उठ्न थालेको छ । सर्वसाधारण जनताको विश्वास र समर्थन गुमाउँदै गएको सत्तारुढ दल र उसको  सरकारले आसन्न संसद् अधिवेशनबाट जनतामा आशाको संचार गराउनेमा पनि यही कारण आशंका गरिँदैछ । कहिले सचिवालय र कहिले स्थायी समितिको बैठक र अनेकौं कोठे बैठकमा व्यस्त नेताहरुले संसद्मा के कस्तो राहतको कार्यक्रम ल्याउने तयारी गरिरहेका छन् भनेर जनता आशाको नजरले सिंहदरबारतिर हेरिरहेका छन् ।

 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँडलगायत मुद्दामा सहमति नभएपछि नेकपाको विवादले विश्राम लिनेमा शंका छ । संसद् अधिवेशनको तयारी त कता कता स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा नै अझै नेताहरुवीच समझदारी जुट्न सकेको देखिँदैन । स्थायी समिति बैठकले पनि निकाश दिनेमा विश्वस्त देखिँदैनन् नेता कार्यकर्ता । देशको वर्तमान अवस्था र संसद् अधिवेशनको विशेष समयमा नेकपाले जेजस्तो गतिविधि गरेर समय खर्च गरिरहेको छ, यसले उसको प्राथमिकता र गन्तव्यप्रति नै आशंका उत्पन्न गरिदिएको छ ।

 

‪पूर्व सभामुख दमननाथ ढुंगानाले वर्तमान सत्ता संघर्षका बारेमा टिप्पणी गर्दै लेखेका छन्– ‘प्रधानमन्त्रीको आफ्नो दलसँगको सम्बन्धको सीमा के ? कानूनमा लेखेर साध्य चल्दैन । रीतिस्थिति, संस्कार र प्रवृत्ति बिकासबाट मात्र स्थायीत्व आउँछ । दलले प्रधानमन्त्रीलाई पेल्ने र प्रधानमन्त्रीले दललाई हेप्ने रीतले पहलमानीको खेल जारी रहन्छ ।’‬

‘चालू सत्ता संघर्षमा वरिष्ठ नेता वामदेव गौतमको नाम प्रधानमन्त्रीमा उच्चारित हुनुको आशय के हो ? समस्याको समाधान संसदबाहिर छ भनेर दर्शाउन खोजिएको हो ? कि के     हो ?’ ढुंगानाले प्रश्न गरेका छन् ।‬

 

कोरोना संक्रमणको असर बढ्दै जाने हो कि भन्ने आशंकाले सबैलाई पिरोलेको छ । काठमाडौं प्रवेशमा भएको लापरवाहीले यस्तो आशंका बढ्नु स्वाभाविक नै हो । विदेशमा रहेका नेपालीलाई पनि त्यहाँका सरकारले विदा दिने समाचारहरु आईरहेका छन् । उनीहरु आउने भनेको आफ्नै देशमा हो । यसरी स्वदेश फर्किने नेपालीको संख्या हजारमा होइन लाखमा हुनेमा कुनै शंका छैन । निकट भविष्यमा आईपर्ने यो जिम्मेवारीको व्यवस्थापन कसरी गर्ने भनेर सरकारले तयारी गरेको देखिँदैन । दिनदिनै खस्कँदो अर्थ व्यवस्था र अनिश्चित बन्दै गएको लकडाउनले भविष्य निकै चुनौतिपूर्ण बन्दै जाने देखिँदैछ । यस्तो जटिल परिस्थितिमा नेकपाले आफ्नो दलगत विवादलाई केही समय थाँती राखेर तत्कालको संकटको व्यवस्थापनमा केन्द्रित हुन तयार भए वुध्दिमानी हुने छ । तर त्यस पार्टीभित्र सरकार ढालेरै छाड्ने र पेलेरै जाने दुइ चरीत्रका शक्तिहरु आपसमा भिडेको देख्दा कोरोनाको कारण विद्यमान समस्याले बिकराल रुप पो लिने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको देखिएको छ । 

दिनदिनै खस्कँदो अर्थ व्यवस्था र अनिश्चित बन्दै गएको लकडाउनले भविष्य निकै चुनौतिपूर्ण बन्दै जाने देखिँदैछ । यस्तो जटिल परिस्थितिमा नेकपाले आफ्नो दलगत विवादलाई केही समय थाँती राखेर तत्कालको संकटको व्यवस्थापनमा केन्द्रित हुन तयार भए वुध्दिमानी हुने छ । तर त्यस पार्टीभित्र सरकार ढालेरै छाड्ने र पेलेरै जाने दुइ चरीत्रका शक्तिहरु आपसमा भिडेको देख्दा कोरोनाको कारण विद्यमान समस्याले बिकराल रुप पो लिने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलेको देखिएको छ । (फायल तस्बिर)

 

ताजा खबर