सम्पादक बन्न भोगेको पहिलो केरकार

२०७७ बैशाख २४ बुधबार ११:५०:०० मा प्रकाशित

त्यतिबेला म पुस्तकहरु खुब पढ्थें । 

एसएलसी दिए लगत्तै जिल्ला सडक कार्यालय अन्तर्गत चरिकोट—दोलखा सडक खण्डमा ‘सडक सुपरभाइजर’ को रुपमा काम गर्न थालेको थिएँ । मेरो उमेर १५ वर्षपनि पुगेको थिएन । यो २०४५ सालको कुरा हो ।

 दिनभरी फिल्डमा जान्थें । फिल्डमा मेरो काम हुन्थ्यो एउटा कुनामा बसेर पुस्तक पढ्नु । चरिकोटमा त्यतिबेला पाठ्यपुस्तक बाहेकका अरु पुस्तक बेच्ने पसल थिएनन् । लालीगुराँस युवा क्लबको एउटा सानो पुस्तकालय थियो । त्यहाँ केही पुस्तकहरु थिए । लैजाने पढ्ने, फिर्ता गर्ने गर्न थालें । त्यतिबेला काठमाडौंबाट जाने कोही भए पत्रपत्रिका मगाउने गर्थें । त्यही पढ्थें । 

सघन पहाडी क्षेत्र बिकास आयोजनाबाट टुकी पत्रिका प्रकाशन हुन्थ्यो । त्यो पत्रिकाको म नियमित पाठक थिएँ । त्यसैबेला ‘सोभियत भूमि’ नाउँको चिल्लो गाता भएको पत्रिका मेरो घरमा आइपुग्थ्यो । त्यो पत्रिकामा तत्कालिन सोभियत संघको बिकासका रहरलाग्दा तस्बिर हुन्थे । राजनीतिक लेखहरुमा भन्दा म तस्बिर र गैरराजनीतिक आलेखहरु पढ्न मन पराउँथें ।

एकदिन पत्रिका पढ्दा पढ्दै त्यस्तै टाइपको साहित्यिक पत्रिका निकाल्न पाए हुन्थ्यो भन्ने लाग्यो । तर कसरी ? न राम्रो लेखन, सम्पादनको शिल्प ? न त पत्रिका छाप्ने पैसा नै ? मनमनै सम्पादक बन्ने हुटहुटी भने मज्जाले चल्यो । भनौं, मेरो मनले सम्पादक बन्ने सपना बुन्यो ।

२०४६ को असार महिना थियो । एसएलसीको रिजल्ट भयो ।  चरिकोटकै गौरीशंकर क्याम्पस भर्ना भएँ । क्याम्पस पढ्न थालेपछि सडक विभागको कामपनि छाडेको थिएँ । त्यसैबेला जनआन्दोलन देशव्यापी भयो । हामी सवै कुनै न कुनै माध्यमबाट जनआन्दोलनको रापमा परेका थियौं । क्याम्पसमा पढाउन आउनु भएको थियो  रामजीवन सिंह ।

त्यतिबेलै मेरो हात सुन्निने गथ्र्यो । धेरै औषधिमु्लो गर्दापनि निको भएको थिएन । कसैले सुझायो रामजीवन सरलाई भेट्नु उहाँको औषधिले काम गर्छ ।

त्यतिबेला उहाँले होमियोप्याथीबाट उपचार गर्नुहुन्थ्यो । म उहाँको क्लिनिकमा गएँ । जाँदा जाँदै उहाँसँग समसामयिक राजनीतिका धेरै कुरा सिक्ने मौका पाएँ ।

 उहाँले  वीपी कोइराला र उहाँको राजनीतिक जीवनसँग सम्वन्धित पुस्तकहरु पढ्न दिनुहुन्थ्यो । पछि क्याम्पसबाटै वीपीका  साहित्यिक पुस्तक पनि पढ्ने मौका पाएँ । म वीपीको बिचार पढेरै क्याम्पस पढ्दा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुन थालें । जनआन्दोलनपछिको खुला अवसरको उपयोग गर्दै २०४७ सालमा क्याम्पसमा ‘प्रतिभा’ नाउँको भित्ते पत्रिका प्रकाशन गर्न थाल्यौं । त्यतिबेला पत्रिका प्रकाशनको सम्पादकका रुपमा म, देवी (देवेन्द्र) पोखरेल, राजेन्द्र मानन्धर संलग्न भयौं ।


प्रत्येक १५ दिनमा निकाल्ने योजनाका साथ सुरु गरिएको ‘प्रतिभा’ म क्याम्पसको दोस्रो बर्ष सकेर निस्केसँगै बन्द हुन पुग्यो । १६ पेजको हस्तलिखित पत्रिकालाई हामीले क्याम्पसकै सूचना पाटीमा टाँस्ने गरेका थियौं । कसले के लेख्यो भनेर निकै चासो हुन्थ्यो त्यतिबेला क्याम्पसमा । राजनीतिक संगठनका हिसाबले देवी, राजेन्द्र र म फरक फरक बिचार राख्थ्यौं । तर, पत्रिका प्रकाशनमा हाम्रो गज्जवको सहयात्रा थियो । क्याम्पसको परीक्षा जनआन्दोलनका कारण एक बर्षपछि धकेलियो । 

त्यस वीचमा मलाई साहित्यिक पुस्तक पढ्ने लत बसेको थियो । राजधानीबाट नयाँ नयाँ पत्रिका निस्कने होड चलेको थियो । भेटेजति पत्रिकामा कविता, गीत पठाउने गर्थें । कतिपयमा पाठक–पत्र, कतिमा पत्र मित्रमा नाम छपाउने रहर थियो । पुस्तकको विषयमा छलफल गर्ने । गीत र कविता लेख्ने । त्यति बेला लेखेको ‘युद्ध’ खण्डकाव्यको पाण्डुलिपि अझै छँदैछ । 

एकदिन साथी चिरन्जीवी मास्केको व्यङ्ग्य छापिएछ एउटा पत्रिकामा । शीर्षक थियो ‘रित्तो गोजी जागिरको खोजी’ । एकदमै मन प¥यो उनको लेखन । त्यो व्यङ्ग्य पढेपछि मलाई चिरन्जीवीसँग मिलेर पत्रिका प्रकाशन गर्न मन लाग्यो । हामीले छलफल ग¥यौं । जिल्लाबाट बेलाबेलामा पत्रिका प्रकाशन भएपनि ती कि त क्लवको मुखपत्रका रुपमा निस्केका थिए कि त बुलेटिन भनेर छापिएका थिए । हामीलाई भने पत्रिकाकै रुपमा स्थापित गर्ने रुचि बढेको थियो । पत्रिकाको नाम राख्ने जिम्मा मैंले पाएँ । नाम जु¥यो— ‘अरुणिमा’ ।

पत्रिका निकाल्ने योजना त गरियो । तर कसरी निकाल्ने ? पैसा थिएन । राजेन्द्र मानन्धर, चिरन्जीवी मास्के र मेरो पहिलो प्रयास थियो यो । राजेन्द्रले व्यवस्थापकीय र प्रेसको जिम्मा लियो । कुमार थापाले अरुणिमाको सुन्दर मास्टर हेड बनाई दिए । चिरन्जीवी र मेरो काम थियो रचना जम्मा गर्ने र सम्पादन गर्ने ।

दुई चारवटा पुस्तक पढेको, दुई चारवटा कविता गीत लेखेको बाहेक सम्पादन र प्रकाशनका मामलामा मलाई रत्ति पनि ज्ञान थिएन । हामी त रहरै रहरले पत्रिकाको सम्पादक बनेका थियौं । पत्रिका प्रकाशन गर्नु अघि कहाँ दर्ता गर्नुपर्ने हो हामीलाई थाहा थिएन । त्यतिबेला हामीलाई कसैले सुझायो जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ भनेर ।

जिल्ला प्रशासन कार्यालयमा गएर सोधें । फाँटका कसैले कुरै पत्याएनन् । थाहा छैन हामीलाई भनिदिए । खुरुक्क फर्कें । जे त होला दर्ता नगरी निकाल्ने भन्ने निश्कर्षमा पुगें ।

चिनेजानेको साथीभाइ, इष्टमित्र सवैसँग सहयोग जुटाउँदै हामीले पत्रिकाको प्रकाशनका लागि पुग्ने पैसा जम्मा ग¥यौं । हामीलाई साहित्यिक पत्रिका निकाल्ने रहर हुँदाहुँदै बजारमा साहित्यिक भन्दा विविध संकलन भनेर निकाल्दा राम्रो हुने बिचार साथीहरुको आयो । त्यसैले पत्रिकामा विविध विषयहरु समावेश गरियो ।

अरुणिमाको पहिलो अंक निस्क्यो, साउन २०४९ मा । तत्कालिन चर्चित कलाकार साम्दे शेर्पाको अन्तर्वार्ता लिएको थियो राजेन्द्रले । अरु विविध बिषयहरु समेटेर पहिलो पटक निकालेको अरुणिमा अफसेट प्रेसमा छापिएको पहिलो पत्रिका थियो । त्यस अघि सवै लेटर प्रेसबाट प्रकाशन हुने गरेको थियो ।

पहिलो अंक हातमा परेको दिन खुसीले रातभरि निन्द्रा लागेन । सयौं पटक पढें होला आफू सम्पादक बनेर छापेको आफ्नै नाम ।

चिनेजानेका सवैलाई बाँड्यौं । सवैजसोले प्रशंसा गरे । हामी गदगद भयौं । ठूलै काम गरिएछ जस्तो भयो । कतिले अर्को अंकमा मेरो पनि रचना छापिदिनु है भने । कतिले सम्पादक, पत्रकार भन्दै गिल्ला पनि गरे । जे होस हामीलाई ठूलो प्रेरणा भने मिल्यो ।

पत्रिका प्रकाशन भएको करिव दशदिन पछि सिडिओ कार्यालयमा बोलाएको छ भनेर जिल्ला प्रशासन कार्यालयको पियन हाम्रो पसलमा आए । त्यतिबेला हाम्रो ‘दुर्गा होजियारी’ नाम गरेको सुईटर उद्योग थियो । सिडिओ कार्यालयमा बोलाएको सुनेर अलिअलि डर लाग्यो । तैपनि कुनै बिगार गरेको थिइन । म सरासर सिडिओ कार्यालयको प्रशासन फाँटमा पुगें ।

एकजना सापकोटा थरका सुब्बाले सोधे— ‘तिमी हो भोजराज न्यौपाने ?’

‘हो’ — मैंले जवाफ दिएँ ।

‘तिमीलाई थुन्दिउँ ? खुब पत्रकार बनेर हिँड्ने ? ’— उनले एकैचोटी कड्केर यसरी थर्काए ।

मलाई डर लाग्यो । 

‘मैंले के गल्ती गरें र सर ?’— मैंले कामेको स्वरमा भनें ।

‘खुब सम्पादक बन्नु प¥यो हैन ? दर्ता नगरि पत्रिका निकाल्ने ?’— उनको आक्रोशको अर्थ बल्ल बुझें ।

‘म दर्ता गर्न, प्रक्रिया बुझ्न आएकै थिएँ । तर तपाईकै फाँटबाट अहिलेसम्म यहाँबाट पत्रिका दर्ता भएको छैन, हामीलाई थाहा छैन भनेपछि मैंले दर्ता नगरि छापेको हूँ ।’— मैंले एकै सासमा जवाफ दिएँ । 

सुब्बा साप् अलिकति लत्रे । अझै केरकार भने जारी थियो ।

 किन निकालेको पत्रिका ? के उदेश्य थियो ? सवै सोधखोज गरे । घर ठेगाना सोधे ।  बुबाको नाम सोधे । मैले मेरो बुबाको नाम भनेपछि उनले पुलुक्क मेरो मुखमा हेर्दै भने — ‘ए ! तिमी त मेरो गुरुको छोरा पो रहेछौ । ल बाबु जाउ । अब पत्रिका दर्ता गरेर मात्रै निकाल्नु है ।’

सम्पादक बनेकामा निकै ठूलो उत्साह थियो । सुब्बाको धम्कीले डर लाग्यो । मेरो उत्साहमा रोकावट थियो त्यो । प्रशासनिक अल्झनले  दोस्रो अंकको तयारी अलि पछि गर्ने बिचार गरियो । अब भने दर्ता गरेर मात्र पत्रिका निकाल्ने योजनामा पुग्यौं हामी ।


हाम्रो अनुरोधमा हाम्रै गुरु देवदास श्रेष्ठको प्रधान सम्पादकत्वमा म र चिरन्जीवी मास्के, शम्भु गौतम र राजेन्द्र मानन्धरको सम्पादकीय टीम बन्यो । जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता नम्बर एकको रुपमा  अरुणिमा पत्रिकाको दर्ता भयो । र, २०५० असोजमा अरुणिमाको दर्ताका हिसाबले पहिलो अंक प्रकाशन भयो । यही पत्रिका नै दोलखाको व्यवसायिक पत्रिकारितामा कोशेढुंगो सावित भयो । 

ताजा खबर