लकडाउनको औचित्यमा गम्भीर प्रश्न !

२०७७ बैशाख २३ मंगलबार १६:५५:०० मा प्रकाशित

काठमाडौं । कलंकी बस्दै आएका गजुरीका रुपेश कँडेल गत शुक्रबार काठमाडौं आइपुगे । लकडाउनको अवधिमा काठमाडौं आइपुगेका उनलाई देखेर साथीभाई जिल्ल परे !

कोभिड–१९ को प्रकोप रोकथाम गर्नका लागि विगत ४२ दिन देखि नेपाल लकडाउनको अवस्थामा छ । तर, कँडेललाई लकडाउनले छेक्न सकेन । कसरी आइपुग्नु भयो भनेर सरल पत्रिकाले सोधेकोमा उनले सरकारी गाडीमा आउन सकेको जवाफ दिए ।

नाताले काका पर्ने व्यक्ति सडक विभागमा कार्यरत रहेको र सोही कार्यालयको गाडीमा आफूलाई लकडाउनको समयमा ओहोरदोहोर गर्न सहज भएको उनको भनाई थियो । उनले भने, ‘लकडाउनको बेला मैले तीन पटक काठमाडौं ओहोरदोहोर गरिसकें । अब केही दिन यहाँ बसेर फेरि फर्कन्छु ।’

यो घटना नजिकबाट नियालेका कँडेलका छिमेकी सत्यराम श्रेष्ठले लकडाउनको औचित्य नै नरहेको बताए । ‘लकडाउन भनेर व्यापार–व्यवसाय सबै ठप्प भएको छ । मानिसहरु यसरी आउजाउ गर्ने हो भने यसको के औचित्य रह्यो ?,’ उनले गम्भीर प्रश्न गरे । कँडेल त प्रतिनिधि पात्र मात्र हुन् । अहिले दैनिक सयौंको संख्यामा अनुमति पाएका गाडी चढेर सर्वसाधारण आउनेजाने क्रम रोकिएको छैन ।

केहीसमय अघि सरकारले काठमाडौंमा बस्दै आएका तर गाउँ फर्कन चाहनेलाई गाउँ फर्कन सहजीकरण गरेको थियो । यही पदचिन्ह पछ्याउँदै केही दिनअघि धरान, इटहरी र विराटनगर क्षेत्रमा बस्दै आएका करिब १५ सय व्यक्तिलाई त्यहाँको स्थानीय सरकारले काठमाडौं पठायो । बिना रोकटोक आइरहेका उनीहरु चौतर्फी दबाबपछि भने नागढुंगामा रोकिए ।

आवतजावत रोक्न र ठूलो संख्यामा मानिस जम्मा हुन नदिनका लागि लकडाउनको निर्णय भएको थियो । कोरोनाको महामारी फैलन नदिने उद्देश्यले यो कठोर कदम चालियो । तर,लुकिछिपी सयौंको संख्यामा आवतजावत भइरहँदा लकडाउनको औचित्यमै गम्भीर प्रश्न खडा भएको छ । सरकारलाई व्यंग्य गर्दै अहिले सर्वसाधारणहरु प्रश्न गरिरहेका छन्, ‘लुकिछिपी आउँदा कोरोना नसर्ने रहेछ कि के हो ?’

नेपालमा गत चैत ११ बाट लकडाउन लागू गरिएको थियो । तर, भारतीय सीमा नाकाबाट आउनेलाई कडाइ नगर्दा अहिले कोरोना संक्रमितको संख्या ८२ पुगिसकेको छ । अझै पनि सीमा क्षेत्र पूर्ण रुपमा बन्द हुन सकेको छैन । काठमाडौं लगायतका शहरको भित्री क्षेत्रमा भने लकडाउन कडा पारिएको छ । लकडाउन प्रभावकारी बनाउन नसकेको सरकार नियमित रुपमा लकडाउनको अवधि भने बढाउँदै आएको छ ।

लकडाउनको उद्देश्य महामारी व्यापक रुपमा फैलनबाट रोक्नु मात्र नभइ यो रोगको नियन्त्रण पनि रहेको बताइन्छ । जनस्वास्थ्य विज्ञहरु अहिले नेपालको अवस्था कठिन रहेको र बेवास्ता गरेमा भयावह हुन सक्ने चेतावनी दिइरहेका छन् ।

तर, कोरोना संक्रमणको परीक्षण पनि अपेक्षाकृत संख्यामा हुन सकेको छैन । अहिलेसम्म देशभर पोलिमरेज चेक रियाक्सन (पीसीआर) विधिबाट १३ हजार ६ सय व्यक्तिको मात्र परीक्षण हुन सकेको छ । विश्वसनीय नमानिएको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) भने करिब ५१ हजारको परीक्षण भएको छ ।


कोरोना संक्रमितको संख्या पत्ता लगाउनका लागि अहिले पीसीआरको संख्या बढाउन आवश्यक रहेको महामारी तथा जनस्वास्थ्य विज्ञ सुजन मरहठ्ठाले बताएका छन् । ‘पीसीआर विधिबाट कम्तिमा दैनिक एक हजारको परीक्षण गर्नुपर्छ,’ द हिमालयन टाइम्ससँगको कुराकानीमा उनले भने, ‘अहिलेको वास्तविक अवस्था पत्ता लगाउन यो सहयोगी सिद्ध हुन्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरल रोगका विज्ञ श्रवणकुमार मिश्रले सोही पत्रिकासँगको कुराकानीमा भनेका छन्, ‘अहिले मांशपेशी दुखेका, ज्वरो आएका र सुख्खा खोकी लागेका सबैको परीक्षण गर्ने समय आएको छ ।’ कोरोना संक्रमित धेरै भेटिएका उदयपुर र नेपालगञ्ज क्षेत्रमा परीक्षणको दायरा व्यापक बनाउनु पर्ने उनको सुझाव छ । नेपालगञ्जमा परीक्षणको दर अहिले बढाइए पनि अन्य स्थानमा भने आरडीटीमै ध्यान केन्द्रित गरिइएको छ ।

कोरोनाको महामारी दुई वर्षसम्म रहन सक्ने विज्ञहरुले विश्लेषण गरिरहेका छन् । यसको नियन्त्रणका लागि सो अवधिसम्म लकडाउन विकल्प हुन सक्ने देखिँदैन । यसका लागि लकडाउनलाई जिल्ला भित्र मात्र नभइ हरेक जिल्लाका सीमा र देशको सीमामा कडा गर्न आवश्यक रहेको बताउँदै परीक्षणको संख्या बढाउन जानकारहरु सुझाव दिइरहेका छन् ।  

ताजा खबर