शिक्षा  ऐनले प्रतिस्पर्धाको हक खोसेको विद्यार्थी संगठनको आरोप 

२०७४ कार्तिक ८ बुधबार ०६:४५:०० मा प्रकाशित

काठमाडौँ, ८ कात्तिक ।  दश  विद्यार्थी संगठनले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने नागरिकको हकविपरीत आएको शिक्षा ऐन (नवौँ शंसोधन) को विरोध गरेका छन् । 

अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको  विद्यार्थी संगठनको संयुक्त बैठकले ६८ लाख विद्यार्थीको दक्ष शिक्षक पाउने अधिकारको हनन भएको र शिक्षक हुन योग्यता पुगेका र प्रतिस्पर्धाका लागि तयारी रहेका आठ लाख विद्यार्थीको भविश्यमाथि खेलबाड भएको निर्णय गरेको छ । 

विद्यार्थी संगठनले विवादित शिक्षा ऐन कार्यान्वयन नगराउन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि कुनै पनि तहको शिक्षकको पदपूर्तिको व्यवस्था नगर्नसमेत शिक्षा सेवा आयोगलाई आग्रह गरिएको अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले जानकारी दिए । 

यस्तै जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रकोविरुद्ध अभिव्यक्ति नदिनसमेत विद्यार्थी संगठनले पूर्वराजालाई सचेत गराएका छन् । 

बैठकमा अनेरास्ववियूका महासचिव ऐन महर, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीलगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो । रासस

ताजा खबर