महामारीमा खुशीको खबरः कोभिड–१९ विरुद्ध सफल देखियो ‘प्लाज्मा थेरापी’

२०७७ बैशाख २२ सोमबार १६:०२:०० मा प्रकाशित

काठमाडौं । सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका अधिकांश देशमा फैलिइसकेको छ । विश्वभर ३५ लाख भन्दा बढीमा यो संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ४७ हजार मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि ७५ जनामा यो संक्रमण देखा परिसकेको छ ।

कोरोना भाइरसको प्रकोप बढेसँगै रोकथामका लागि अनेक प्रयास भइरहेको छ । संक्रमण विरुद्धको खोपको अनुसन्धानमा शक्ति राष्ट्रहरु लागि परेका छन् । ठूलो संख्यामा जनशक्ति र धनराशी खर्च भइसेकेको छ । तर, यो रोग विरुद्धको खोपको अनुसन्धान सफल भने हुन सकेको छैन ।

सारा विश्वलाई चिन्तित बनाउने यस संकटको घडिमा एउटा सकारात्मक खबर आएको छ । यो रोगबाट संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीले सफलता पाएको खबर बाहिरिएको हो ।

यो उपचार पद्धतिले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ । कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिको शरीरमा एन्टीबडी बनेको हुन्छ । सोही एन्टीबडीको प्रयोगबाट प्लाज्मा थेरापी गरिन्छ ।

संक्रमण मुक्त भएका व्यक्तिको शरीरमा बनेको एन्टीबडी रगतको माध्यमबाट निकालिन्छ । त्यसमा रहेको रगतको कोष छुट्याएर बाँकी रहेको प्लाज्मालाई कोरोना संक्रमितको शरीरमा पठाइन्छ । यसरी पठाइएको प्लाज्माले संक्रमितको शरीरमा प्रतिरोधी क्षमता बढाइ रोगसँग लड्न सघाउँछ । फुड एण्ड ड्रग प्रशासन (एफडीए) ले प्लाज्मा थेरापीलाई मान्यता दिएको छ ।

प्लाज्मा थेरापीले सफलता पाएको केही प्रमाण पाइएको अमेरिकी चिकित्सक डा. जेमी नाडलरले बताएका छन् । ‘संसारभर गरिएका केही प्रयासहरु (प्लाज्मा थेरापीको प्रयोग) सफल भएकोे छ,’ डा. नाडलरले भने ‘सहीरुपमा यसको प्रयोग गर्दै उपचारको प्रयास गर्नु उचित छ ।’

अहिलेसम्म विश्वभर ११ लाख ३० हजार व्यक्ति यो संक्रमणबाट मुक्त भइसकेका छन् । ती संक्रमणबाट मुक्त भएका व्यक्तिबाट प्लाज्मा निकालेर अन्य संक्रमितको उपचार गर्न सकिन्छ ।

प्लाज्मा थेरापीको इतिहास

प्लाज्मा थेरापीको इतिहास लामो छ । कुनै बेला महामारीको रुपमा फैलिएको भ्यागुते रोगको उपचारका लागि इमिल भोन बेहरिङले यो विधिको विकास गरेका थिए । यो खोजलाई सन् १९०१ मा मान्यता दिइएको थियो । यही खोजका कारण बेहरिङले चिकित्सा तर्फको पहिलो नोबेल पुरस्कार पनि पाएका थिए ।

सन् २००० को सुरुवाततिर कोभिड–१९ जस्तै गम्भीर प्रकृतिको तीव्र श्वासप्रवासको लक्षणको उपचारका लागि यो विधि प्रयोग भएको थियो ।

सार्स रोगको प्रकोपका समयमा हङकङको एक अस्पतालले ८० बिरामीलाई यही विधि अनुसार उपचार गरेको बताइन्छ । यो विधिले उपचार गरिएकाहरु मध्ये अधिकांशलाई उपचारको १४ दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, इबोला संक्रमणमा भने यो विधिले सकारात्मक नतिजा दिन सकेको थिएन ।

चीनको अनुभव

अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार, कोभिड–१९ का संक्रमितको उपचारका लागि चीनले पनि यो विधि अपनाएको छ । भेन्टिलेटरमा राखिएका ३६ देखि ६५ वर्षका पाँच चिनियाँ बिरामीलाई क्रमिक स्वास्थ्य सुधार गर्र्नेे प्लाज्मा थेरापी सुरु गरिएको थियो । 

ती पाँचमध्ये चार बिरामीको शरीरको तापक्रम तीन दिनमा सामान्य भयोे । यस्तै १२ दिनमा भाइरल पनि नियन्त्रणमा आएको थियो । अस्पतालले त्यसलगत्तै तीनजनालाई डिस्चार्ज गरेको थियो । तापक्रममा सुधार आएका एकजना सहित दुईजना भने ३७ दिन पछि सामान्य अवस्थामा फर्किएका थिए ।

यस्तै अर्को अध्ययन प्रतिवेदन अनुसार चीनमा अर्को एक अस्पतालले १० बिरामीलाई प्लाज्मा थेरापीमार्फत् उपचार गरेको थियो । यसको प्रयोगले तीन दिनभित्र सात जनाको भाइरल ठीक भयो । उपचारको क्रममा बिरामीलाई कुनै खराब असर पनि परेको थिएन । थेरापी सुरु गरेको तीन दिन भित्र ती बिरामीको ज्वरो, खोकी, स्वाँस्वाँ र छाति दुखाइ सबै ठीक भएको थियो ।

विज्ञहरुले अहिले प्लाज्मा थेरापी आशालाग्दो रहेको तर यसमा अझै अध्ययन गर्नु आवश्यक रहेको बताइरहेका छन् ।  (पोलिटिफ्याक्टको सहयोगमा)
 
 

ताजा खबर