लकडाउनले ढुक्क, संक्रमण परीक्षणमा कमजोर

२०७७ बैशाख २१ आइतबार ०९:१३:०० मा प्रकाशित

काठमाडौं । नेपाल अहिले ‘लकडाउन’ को अवस्थामा छ । आवागमन, व्यापार र व्यवसाय सबै ठप्प छ । अत्यावश्यक वस्तुको ओसारपसार औसत रुपमा भइरहेपनि अन्य क्षेत्र पूर्णरुपमा बन्द छ । 

कोभिड–१९ को प्रकोप देखिएसँगै यसलाई नियन्त्रण गर्न लकडाउन घोषणा भयो । कोरोना भाइरसको प्रकोपको ‘इपिसेन्टर’ चीनको अनुभवले पनि लकडाउन प्रभावकारी हुने सुझाव विश्वव्यापी रुपमा दियो । नेपालले पनि यही बाटो पछ्याउनुको विकल्प रहेन । 

तर, लकडाउनले मात्रै यो रोग नियन्त्रण हुन नसक्ने स्पष्ट भइसकेको छ । चीन, स्पेन र इटालीको अनुभव हेर्दा पनि कोरोना रोक्न लकडाउन पर्याप्त छैन । लकडाउनसँगै सम्भावित संक्रमितको परीक्षण तथा पहिचान र यसबारे अध्ययन महत्वपूर्ण रहेको जनस्वास्थ्य विज्ञहरु बताइरहेका छन् । तर, विज्ञहरुको भनाइ अनुसार काम भने भइरहेको छैन । 

परीक्षण विधिमै समस्या

नेपालले अपनाएको परीक्षण विधिमा समस्या रहेको आवाज उठिरहेको छ । यहाँ अहिले ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) लाई नै अचूक अस्त्र मानिएको छ । अहिलेसम्म नेपालमा ५९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । यो पुष्टि भने पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट भएको हो । आरडीटीबाट संक्रमण देखिए पनि पीसीआरले पुष्टि गरेपछि मात्र संक्रमण मान्ने गरिन्छ । 

अहिले नेपालमा सम्पन्न भएका परीक्षणहरुमा एकरुपता छैन । आरडीटीले संक्रमण देखाएको घटनामा पीसीआरले संक्रमण देखाएको छैन । यस्तै आरडीटीले संक्रमण नेगेटिभ देखाए पनि पीसीआर परीक्षण पछि संक्रमण रहेको नतिजा आएको छ । 

आरडीटी विधिबाट संक्रमणको पुष्टि हुनै नसक्ने प्रष्ट भएपनि यही विधि पछ्याउनुको कारण भने स्पष्ट छैन । 

उदयपुरको झुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका १२ भारतीय नागरिकमा गरिएको आरडीटी परीक्षण नकारात्मक आएको थियो । तर उनीहरुलाई गरिएको पीसीआर परीक्षण पोजिटिभ आयो । अहिले उनीहरु उपचाररत् छन् । यस्तै कैलालीकी ६५ वर्षिया महिलालाई पनि सुरुमा आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो तर पछि घाँटीको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

केही घटनामा भने आरडीटी र पीसीआर दुबै परीक्षण पोजेटिभ आएको उदाहरण पनि छ । ती संक्रमितमा कोरोना निको नभइसकेको तर एन्टीबडी भने बनिसकेको अवस्थामा मात्र यो सम्भव हुन्छ । 

कोरोना पुष्टि गर्नका लागि दुबै परीक्षण गर्नु उपयुक्त भए पनि केही घटना बाहेक अन्यमा आरडीटी नेगेटिभ आएकालाई कोरोना संक्रमण नभएको घोषणा गर्ने गरिएको छ । भुल्के र कैलालीको अनुभवबाट यो विल्कुलै गलत अभ्यास हो । 

बेलायतबाट आएका दुई जना संक्रमित भेटिएको काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैको आरडीटी परीक्षण गरिएको थियो । सो परीक्षणको रिपोर्टमा सबैको नतिजा नेगेटिभ आयो । आरडीटी नेगेटिभ आएको भन्दै सो क्षेत्रमा कोरोना नफैलिएको मानियो । झुल्के जस्तै आरडीटी र पीसीआरको फरक नतिजा आउने तर्फ ध्यान दिइएको छैन । यो प्रकृतिको घटना धेरै स्थानमा दोहोरिइ सकेको छ । 

आरडीटी विश्वसनीय नभएको भन्दै अहिले छिमेकी राष्ट्र अहिले भारतले यसलाई बन्द गर्दै पीसीआर विधिमै ध्यान केन्द्रित गरेको छ । यस्तै स्पेन, इटाली लगायतका युरोपेली राष्ट्रले यसअघि नै आरडीटीको औचित्यमा प्रश्न उठाइसकेका छन् । 

नेपालमा कोरोना देखिएको करिब चार महिनाको अवधिमा १३ हजारमा पीसीआर र ४८ हजार ५ सयमा आरडीटी गरिएको छ । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले दैनिक १ हजार पीसीआर परीक्षण गर्ने क्षमता रहेको बताएकी थिइन् । तर अहिले तीव्र गतिमा परीक्षण गर्दा पनि औसत दैनिक ५ सय मात्र पीसीआर परीक्षण भइरहेको छ । 

आरडीटी परीक्षणको दर भने पीसीआरको तुलनामा धेरै छ । तर आरडीटी परीक्षण पनि एउटै व्यक्तिलाई तीन पटकसम्म गरिएको छ । एउटै व्यक्तिलाई तीन पटक परीक्षण गर्नुपर्नाको कारण भने सम्बन्धित निकायले अहिलेसम्म स्पष्ट पारेको छैन । 

अहिले आरडीटीका लागि ओम्नी समूहले आयात गरेको कमसल किटको उपयोग भइरहेको छ । आलोचकहरुले भने यो सामग्री खपत गर्नका लागि नै आरडीटी परीक्षण बढाइरहेको आरोप लगाएका छन् ।

के हो आरडीटी र पीसीआर ?

¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) ले संक्रमित व्यक्तिको शरीरमा रहेको एन्टीबडी रहे वा नरहेको मापन गर्छ । रगतको परीक्षणबाट करिब ३० मिनेटमै नतिजा आउने यो परीक्षणले पहिले संक्रमित भएका व्यक्तिलाई मात्र पोजेटिभ देखाउँछ । 

हालै संक्रमणमा परेकाहरुको रिपोर्ट पनि यो परीक्षणमा नेगेटिभ आउँछ । यो परीक्षणले कुनै पनि क्षेत्रमा संक्रमितको विस्तृत विवरण र रोग कुन स्तरमा फैलिएको पत्ता लाग्न मद्दत गर्ने बताइएको छ । उदयपुरको झुल्के र कैलालीमा भेटिएका संक्रमित नयाँ भएकाले पनि आरडीटीमा नेगेटिभ देखिएका थिए । 

पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधि भने घाँटी वा नाकको स्वाब लिएर परीक्षण गरिन्छ । यो विधि भने नयाँ संक्रमित पत्ता लगाउन सटिक विधि मानिन्छ । 

दुबै परीक्षणमा पोजेटिभ देखिएकाहरु भने पहिल्यै संक्रमित भएको तर अहिलेसम्म पनि संक्रमण नहटेका भन्ने बुझिन्छ । तर पीसीआर मात्रै परीक्षण गर्दा यी बिरामी पत्ता लाग्छ । यो विधिले रोग निको भइसकेकालाई भने नेगेटिभ देखाउँछ । 

अबको कदम

गत चैत्र ११ बाट सुरु भएको ‘लकडाउन’ आगामी वैशाख २५ सम्म कायम रहने घोषणा भइसकेको छ । भारतले जेठ ४ सम्मका लागि लकडाउन लम्ब्याएको छ । सम्भवतः नेपालले पनि यस्तै कदम चाल्नेछ । 

तर, विज्ञहरुले कोरोनाको प्रकोप २ वर्षसम्म रहने विश्लेषण गरिरहेका छन् । स्पेनिस फ्लूको इतिहाससँग तुलना गर्दै यसको दोस्रो तरंग अझ भयानक हुने विश्लेषण गरिरहेका छन् । 
अहिले लकडाउनको कारण सामूहिक रुपमा संक्रमण नफैलने भन्दै स्वास्थ्य मन्त्रालय लगायतका निकाय ढुक्क भएको छन् । तर, ढुक्क भएर बस्ने अवस्था भने छैन ।  अहिले आरडीटीको संख्या देखाएर झारा टार्ने प्रवृत्ति नै कमजोरीको रुपमा देखिएको छ । कमजोरी सच्याउँदै पीसीआर परीक्षण बढाएर संक्रमित पहिचान गरेर यो रोग फैलन नदिन तर्फ सचेत हुन जरुरी भइसकेको छ । 


 


 

ताजा खबर