'अहिलेको संगीतमा ज्यान छैन '

२०७४ कार्तिक ७ मंगलबार १३:२०:०० मा प्रकाशित

अहिलेको व्यस्तता ? 

अहिले त खास व्यस्तता केहीमा पनि छैन । अब व्यस्त भए भने मेरो प्रकाशक होलान् ।

गीत/कविता लेखनको शुरुवात र प्रेरणा ?

गीत कविता लेख्न कुनै प्रेरणा भन्दा पनि यो मेरो भाग्यमा लेखिएको कुरा रहेछ । त्यसलाई नै मैले अगाडि बडाएँ । मलाई त्यहि नै हो जस्तो लाग्छ ।

यो क्षेत्रमा कसरी आउनु भयो त ? 

यो मैले अभ्यास गर्दागर्दै सिकेको कुरा हो । शुरुशुरुमा कसरी लेख्न आयो भन्ने कुरा सायद कुनै बिरह थियो होला । मैले तिनीहरुमा केही आफैंले भोग्नु पर्यो । त्यसबाट मन लेखनतिर गयो । मेरो पारिवारीक बिखण्डन भएको थियो । त्यहि नै हो ।

गीत कविता लेखनले मात्र जिविकोपार्जन चल्छ कि अरु पनि पेशा गर्नुहुन्छ ? 

मलाई लेखेर मात्रै त जिविकोपार्जन हुन्छ जस्तो लाग्दैन । कतिजनाले गरेका होलान् तर म त्यो वर्गमा पर्दिन । मैले आफ्नो जीवनकालमा गीत, कविता र साहित्यलाई जोगाउनको लागि बिभिन्न कामहरु गरें । जसमध्ये पत्रकारिता, अनुवाद, विज्ञापन एजेन्सी मार्फत कपिराइटका कामहरु गरेर मैले मेरा कविता र गीतहरुलाई जोगाएको हो । अब यसमा सहि ठाउँमा सहि तरिकाले आफ्नो भाग्यले भूमिका बाँध्यो भने गीत कविता लेखेर पनि जिविकोपार्जन हुन्छ होला ।  होइन भने कविता र गीत मात्र लेखेर पार लाग्ला जस्तो मलाई लाग्दैन ।

तपाईले गर्ने स्थायी नियमित साधना के हो त ?

बिहान उठेर व्याडमिन्टन खेल्न जान्छु । फर्केर आएर कागती पानी खान्छु । भात पकाउँछु । कहिँ बाहिर जानुपर्ने कामहरु आयो भने जान्छु होईन भने घरमै बसेर लेख्ने पढ्ने कामहरु गरिरहेको हुन्छु । यो बाहेक म कहिले घुम्न गइरहेको हुन्छु । मैले काम छोडेको २००७ देखि हो, त्यसैले म काम गरिरहेको चाहि हुँदिन । काम गरिहालें भने पनि अनुवादहरुको काम गर्छु । मैले केही दिन अघि ‘सिंहदरवार’ भन्ने टेलिसिरियलमा काम गरेको   थिएँ । समग्रमा भन्नुपर्दा म घरमै बसेर कामहरु गर्छु । घरमै मेरो अफिस छ ।

तपार्इँ अरु कवि भन्दा अलि फरक हुनुहुन्छ रे, के हो कुरा ?

यो कुरा जसले भन्छन् उनीहरुलाई नै सोध्दा राम्रो होला । म त जे हुँ त्यहि नै हुँ ।

तपाईँ आफ्ना गीत, कविताहरुलाई अरुसँग तुलना गर्दा कस्तो पाउनुहुन्छ ?

म आफैं त कसैसँग पनि तुलना गर्दिन । अरुले तुलना गर्दा कसैले प्रेमले गरेका हुन्छन् त कसैले अत्यधिक भावुक भएर गरेका पनि हुन्छन् । त्यसको जिम्मेवारी मैले बोक्न मिल्दैन । मैले आफूले के गरिरहेको हुन्छु भने आफ्नो क्षमताले भ्याउनेसम्म कसरी लेख्न सकिन्छ भन्ने कुराहरु मात्र सोचिरहेको हुन्छु ।

एउटा सर्जकको रुपमा तपाईँले बुझन् थालेको समय र आजको समयमा समाजमा के फरक पाउनुभएको छ ?

  मैले भोगेको पहिलेको जुन समाज थियो त्यो समाज आदर्शवादी थियो । मानिसहरुमा एकआपसमा आदर प्रेम थियो । तर अहिले त्यो बदलिएर भौतिक समाज भएको छ । भर्च्युल समाजमा परिणत भएको छ जस्तो मलाई महशुस हुन्छ ।

अहिलेको साहित्य, संगीत, पत्रकारिता र राजनीतिलाई तपाईँ कसरी हेर्नुहुन्छ ? 

अहिलेको साहित्यमा गम्भिर रुपले काम गरिरहेका मान्छेहरु पनि छन् र सतही रुपमा काम गरिरहेका मान्छेहरु पनि छन् । त्यसकारणले वर्तमान साहित्यलाई तुरुन्तै यो दिशातिर गइरहेको छ यो दिशातिर गइरहेको छ भनेर भन्न सम्भव छैन ।

अहिले पत्रकारिता कस्तो भएको छ भने, दुःखका साथ भन्नुपर्दा पत्रकारितामा पत्रकार त रहेनन् किनकी दुईचारजनाले राम्रो पत्रकारिता गरेर त्यसको खासै मान्यता हुँदैन । अहिलेको समाजमा पत्रकारितालाई मार्केटिङले निर्देशित गर्ने भइसकेपछि त्यसले समाजमा के गर्छ भन्ने कुरा ब्याख्या गर्न म तुरुन्तै सक्दिन । तर यसमा के हुन्छ भनेर मान्छेहरुले अनुमान भने लगाउन सक्छन् । 

अहिले नेपाली संगीत आत्मा नभएको प्राणी जस्तोछ । अहिलेको संगीतमा ज्यान छैन ।

अब राजनीतिको कुरा गर्नुपर्दा यो मुलुकमा राजनीति भइरहेको नै छैन । राजनीतिको स्थान यहाँ कहिँ पनि छैन । यहाँ जसले आफूलाई नेता भनेर बसिरहेका छन् उनीहरुले जानेको भए उनीहरु मुलुकको नेता हैन प्रबन्धक हुनुपथ्र्याे । अहिले समयको माग पनि त्यहि नै हो । अहिले यो पार्टी यस्तो यो पार्टी एक नम्बरको पार्टी हो भन्ने त्यो केही पनि छैन । समग्रमा भन्नुपर्दा चाहे नेपाली कांगे्रस होस् एमाले होस् या माओवादी होस् । सुरुमा सबैजना नेपाली हौं । उनीहरुले नेपाली भएर काम गर्नुपर्ने अवस्थामा उनीहरु अहिले २०० वर्षसम्म प्रजातन्त्र संस्थागत भइसकेको अवस्थामा जस्तो व्यवहार गरिरहेका छन् । हाम्रो यो मुलुकमा राजनीति एकदमै खराब अवस्थामा छ र यो सप्रिन्छ भन्ने कुरामा म विश्वस्त छैन । यो भन्दा पनि नराम्रो ठाउँसम्म पुग्नेवाला छ ।

तपाईँ आपूुसँग भएको खुवी के हो ?

मेरो खुवी के छ भने म मान्छेहरुको जानेर चित्त दुखाउन सक्दिन । कसैको पनि चित्त नदुखाउने प्रयास गर्छु । कतै अन्जानमा चित्त दुखाएको रहेछु र मैले पछि थाहा पाएँ भने त्यसलाई सुधार्ने प्रयास गर्छु । म मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ भन्ने कुरामा बिश्वास गर्छु ।

एउटा मान्छेले आफ्नो खुवी कसरी चिन्ने ? 

मान्छेले काम गर्दै जाँदा आफूले आफैंलाई होसपूर्वक हेर्यो भने मसँग संगीत छ कि, कला छ कि, साहित्य छ कि, राजनीति छ कि उसलाई यो दुई चार वर्षमा थाहा हुन्छ । अनि थाहा भइसकेपछि त्यसलाई तिखार्दै लिएर जाने र आफ्नो खुवीलाई बिकास गर्ने हो ।

तपाईँको किताब ‘अविजित’ चाँडै नै बजारमा आउँदैछ रे,के छ यसमा ? 

आउन लागेको मेरो किताबमा केही आफ्नै कथा छन् । केही मेरो बुवाका कथा छन् । बुवाका बारेमा मलाई जे जति कुरा थाहा थियो त्यो पनि छ यसमा । मेरो र बुवाको जीवनमा ३० वर्षसम्म हामी सँगै रहेछौं यही शहरमा । एउटै शहरमा रहेबसे पनि यो तीस वर्षको समय अवधिमा म बुवासँगै आठ वर्ष मात्र बसेको रहेछु । मेरो भाग्यमा त्यहि नै रहेछ । त्यो आठ वर्षमा मैले मेरो बुवाको बारेमा जे जति थाहा पाएँ, त्यसको बारेमा मैले केही लेख्नु पर्छ जस्तो महशुस भएको थियो । मेरो निम्ति वहाँ राजनीतिबाट एउटा पीडित व्यक्ति हुनुहुन्थ्यो । वहाँ जन्मेको समय राणाकाल र त्यसबेलादेखि मैले २०४६ सालको समयसम्मलाई लिएर एउटा कथा बुनेको छु । कतिमा मेरो बुबा पनि हुनुहुन्छ कतिमा म पनि छु । कति कुराहरु कल्पनाका पनि छन् । कल्पना समाजकै वरिपरी बसेर रचिएको  छ ।

प्रस्तुति : सुकृत नेपाल
 

      
 

 


 


    

  

ताजा खबर