कांग्रेस नेताको नजरमा श्रीअन्तु ‘अलौकिक र अद्वितीय’ 

२०७७ बैशाख १९ शुक्रबार ०८:३९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यको नजरमा इलामको सीमावर्ती पर्यटकीय स्थल श्रीअन्तु ‘अलौकिक र अद्वितीय’ छ । आचार्यले केही वर्ष अघि त्यहाँ विवाह वर्षगाँठ मनाएका थिए । अध्यात्म र दर्शनमा गहिरो रुचि भएका केन्द्रीय सदस्य आचार्यको वौध्दिकतासँग त नेपाली परिचित नै छन् । देशका दर्शनीय स्थलहरुको सौन्दर्यको वर्णन गर्न पनि उनी खप्पिस छन् भन्ने कुरा कमैलाई जानकारी हुनसक्छ ।

वास्तवमा श्रीअन्तु पर्यटकीय स्थलमात्र होइन, यो त देशकै सीमान्त गाउँ पनि हो । यहाँभन्दा केहीपर मेची नदी नेपाल र भारतलाई छोएर शदीयौंदेखि बंगालको खाडीतिर बगिरहने    गर्छ । नेता आचार्यले यही सुन्दर पहाडकाबारेमा यसरी वर्णन गरेका छन्–

‘इलामको श्रीअन्तु डाँडाबाट देखिने सूर्योदयको दृश्य अलौकिक र अद्वितीय छ (वस्तुतः वर्णन भन्दा पर केवल जीवन र जगतको आत्मिक सौन्दर्य अनुभूतिको कहिल्यै नसुक्ने प्रवाह जस्तो । झण्डै ४ बर्ष अघि विवाह बर्षगाँठको संयोग पारेर म, श्रीमती र परिवारका अन्य सदस्यसँग श्रीअन्तु पुगें । भोलिपल्ट विहान क्षितिजभरी पोखिएको रक्तिम सूर्य रश्मि, श्वेत हिमचुचुराहरुको बदलिँदो स्वर्णकाया र रातभरि कमलले बन्दि बनाइ राखेका भँवरहरु सूर्यको पहिलो किरणसँगै मुक्त भएर उडेझैं गरी सल्लाका रुखहरुबाट सूर्योदयको स्वागत गर्न उड़ेका हज्जारौं किट–पतंगको गुंजनका बीच सूर्योदयको अनुपम छटा र सूर्यस्नानको आनन्द अविस्मरणीय बन्यो ।

श्रीअन्तु डाँडामा रहेको सुन्दर सरोवरमा परावर्तित भइराखेको डाँडा ढाकिनेगरी फैलिएको चियाबारीको सौन्दर्य र रमणीयता बिर्सिनसक्नु छ ।' (तस्बिरः महेश आचार्यको फेसबूकबाट)

ताजा खबर