ऋषि कपूरः क्यान्सरसँग हारेका बलिउडका तारा

२०७७ बैशाख १८ बिहीबार १४:०७:०० मा प्रकाशित

काठमाडौं । पछिल्ला दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका बलिउडका एक चम्किला तारा अस्ताएका छन् । बिहीबार आफ्नो सास फेरेका सफल कलाकार ऋषि कपूरले ६७ वर्षको उमेरमा आफ्नो भौतिक शरीर त्यागे ।

बोनम्यारो क्यान्सरबाट पीडित उनलाई बुधबार साँझ नै सास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको हो । अमेरिका र भारतमा सम्भव भएसम्मको उपचारबाट सो रोगसँग लडेका उनी रोगसँग हारे ।

सानै उमेरमा फिल्मको पर्दामा उदाएका उनी आफ्ना अन्तिम दिनमा पनि जीवनका पलहरु पूर्णरुपमा बाँच्न सफल भएका उनका परिवार तथा उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

करिब ५० वर्ष अघि बलिउड फिल्म उद्योगमा पाइला राखेका उनले गरेको संघर्ष, सफलता, प्रेम विवाह, कठिन दिन, असाध्य रोगको पीडासँगै खुशीसाथ बिदाइले उनको जीवन पनि एउटा रोचक फिल्म जस्तै बन्यो । 

व्यक्तिगत जीवनमा ऋषि 

जीवनको अमूल्य ५० वर्ष सुम्पेर बलिउडका तारा बनेका उनले नायिका नितु सिंहसँग १९८० मा विवाह गरे । उनको एक छोरा (रणवीर कपूर) र एक छोरी (रिद्दिमा कपूर) छन् । 
युवा उमेरमा खेलेको पहिलो फिल्मबाटै उत्कृष्ट बाल कलाकार पुरष्कार जितेका उनले १९७३ देखि २००० सम्म ९३ वटा रोमान्टिक फिल्ममा मुख्य भूमिका निभाए । पछिल्ला समयमा पनि सक्रिय रहेका उनी रोगले थलिएपछि भने फिल्ममा आएनन् ।

कपूर परिवारको बलिउडसँग गहिरो नाता रहेको छ । उनका दुई काका सम्मी कपूर र शशि कपूर पनि चर्चित नायक नै हुन् । यस्तै दाजुभाइ राजिभ कपूर र रनधीर कपूरले पनि बलिउडको स्वाद पाएका छन् । यस्तै मामाहरु राजेन्द्र नाथ, प्रेम नाथ, नरेन्द्र नाथ र प्रेम चोपडा पनि बलिउडमा स्थापित नाम नै हुन् ।

ऋषिका विवाद

नृत्यमा पनि अब्बल उनले करिब २७ वर्ष निरन्तर रोमान्टिक हिरोको रुपमा परिचय बनाए । पछिल्लो समयमा भने ऋषिले रिसाहा पिताको छवि बनाएका थिए ।  विशेषगरी उनले छोरा रणवीर कपूरसँग गर्ने व्यवहारलाई मिडियाले खुबै महत्व दिने गरेका थियो । रणवीरले यो विषयमा केही प्रतिक्रिया नदिने गरेपनि ऋषि कपूरले भने मिडियामै पनि आक्रोश पोख्थे । रणवीरले आफूले भनेको नमान्ने गरेकोमा उनको असन्तुष्टि हुने गरेको थियो । 

उनको जीवनको सबैभन्दा विवाद भने उनको एक ट्वीटमा भएको थियो । सन् २०१५ मा ऋषिले आफू गाईको मासु खाने हिन्दु भएको ट्वीटमा उल्लेख गरे । केहीले उनको समर्थन गरेपनि भारतमा उनको चर्को विरोध भएको थियो । 

ट्वीटरमा उनी विरुद्ध टिप्पणी गर्नेको संख्या ठूलो थियो । उनले पनि आफ्नो घमण्डी स्वभाव प्रदर्शन गर्दैै आफू विरुद्ध टिप्पणी गर्ने सबैलाई ट्वीटरमा निषेध नै गरे । 

ऋषिको फिल्मी करियर

कलाकारिताको लागि प्रख्यात परिवारमा जन्मेका उनले फिल्मी पर्दामा आउन धेरै कुर्नु परेन । तीन वर्षको उमेरमा नै पिता राज कपूरको फिल्म ‘श्री ४२०’ को गीत ‘प्यार हुआ इकरार हुआ’ मा उनी पर्दामा आए ।

१८ वर्षको उमेरमा उनले पिताले निर्माण गरेको फिल्म ‘मेरा नाम जोकर’ बाट बलिउडमा पाइला राखे । उनले सो फिल्ममा आफ्नो पिताको बाल्यकालको भूमिकामा काम गरे । 
१९७३ मा डिम्पल कपाडियासँग नायककै हैसियतमा उनले ‘बबी’ फिल्ममा काम गरेका थिए । सो फिल्म उनको जीवनको कोशेढुंगा नै सावित भयो । फिल्म हिट भएसँगै ऋषि कपूरको करियर चम्केको थियो । 

‘बुवाले मलाई डेब्यु गराउन सो फिल्म बनाएको होइन । युवाको प्रेम कहानीमा आधारित फिल्म बनाउन उहाँको चाहना थियो’ सन् २०१२ मा एक अन्तर्वार्ताका क्रममा बबी फिल्मको फिल्मको चर्चा गर्दै ऋषिले भनेका थिए ‘बुवासँग त्यतिबेला राजेश खन्नालाई हिरो बनाउने आर्थिक क्षमता थिएन, अनि मैले मौका पाएँ ।’

ऋषिको फिल्म ‘लैला मझ्नु’, ‘रफु चक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘प्रेम रोग’, ‘नागिना’, ‘हिना’, ‘बोल राधा बोल’ जस्ता फिल्मले उनको करियरलाई मजबुत बनाउन सहयोग ग¥यो । 
सन् २००० सम्म नायकको भूमिकामा फिल्म देखिने गरेका ऋषिले त्यस पछिको समयमा भने सहायक भूमिका काम गर्दै बलिउडमा सक्रिय रहे ।

राजनीतिज्ञ र कलाकारको समवेदना

उनको निधनमा चर्चित भारतीय अभिनेता देखि भारतीय प्रधानमन्त्रीले समेत दुख व्यक्त गरेका छन् । 

ऋषिसँगै हिट फिल्महरुमा काम गरेका महानायक अमिताभ बच्नन ऋषिको निधन खबरले मर्माहत भएका छन् । ऋषिको निधनले आफूलाई ठूलो क्षति भएको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऋषिलाई ‘प्रतिभाको शक्तिकेन्द्र’ को उपनाम दिएका छन् । मोदीले ऋषिलाई उनले बहुआयामिक, प्रिय र जीवन्त कलाकार भने । मोदीले लेखेका छन्, ‘फिल्म र भारतको सफलताको लागि सधैं उत्साहित रहने उनीसँग सामाजिक सञ्जालमा भएका कुराकानी सधैं सम्झनामा रहनेछ । उनको निधनले दुखी छु ।’
यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि ट्वीटमा ऋषिको निधनले भारतीय फिल्म उद्योगलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । 

बुधबार बलिउड नायक इरफान खानको निधन भएको थियो । दुई दिनको अन्तरालमा दुई अब्बल कलाकार गुमाएको भन्दै यो साता नै भारतीय फिल्म उद्योगको लागि भयानक साता रहेको र ऋषिको सधैं नै याद आइरहने उनले उल्लेख गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्वीट मार्फत् समवेदना व्यक्त गरेका छन् । ऋषिले आफ्नो जीवनकालमा थुप्रै पिढीलाई मनोरञ्जन दिएको उल्लेख गर्दै केजरीवालले लेखेका छन्, ‘ठूलो नोक्सान भयो...शोकसन्तप्त परिवारलाई समवेदना । भगवानले उनको आत्मालाई शान्ति दिउन् ।’

ताजा खबर