लकडाउन खोलेपनि कोरानाले छोड्ने छैन

२०७७ बैशाख १७ बुधबार १३:४३:०० मा प्रकाशित

राजनीतिको कुरा नगरी स्वास्थ्यको कुरै अगाडि नबढ्ने भयो । लकडाउनले कोरोना भाइरस मर्छ कि केहि समयपछि आफैं शान्त हुन्छ ? के कोरोना हुरीबतास हो ? या असिना हो ? वा लामो रात हो जसको प्रतिक्षा (लकडाउन) पश्चात स्वतः ठीक हुन्छ ? हाम्रो राजनीतिमा कुर्सिमा पुगेपछि स्वतः ज्ञानको मूल फुट्ने र विज्ञहरुको परामर्श नचाहिने भएर केवल नन्दी भृंगी चौसठ योगिनी अघिपछि लगाई हिँड्ने प्रचलनले यो असीमित लकडाउनमा बस्नु परेको छ ।

 

अबको कदम के हो भनेर हाम्रो विज्ञ सरकारलाई सोध्ने हो भने कि त मोदीलाई सोध्नु पर्ला कि त ट्रम्पलाई भन्ने जवाफ आउने होला । हाम्रो आफ्नो न त निजी वाद छ न त विचार, न त राष्ट्रिय भिजन छ न त ठोस योजना । सबै आयातित मात्रै छन् । राजनीतिमा पनि विदेशीहरुको वादमात्रै छ । उद्योगधन्दाको हकमा विदेशी कम्पनीमा कामदार पठाए भैगो, कृषीप्रधान देशका कृषकहरुलाई आफ्नो जमीन प्लटीङवालालाई बेचेर इजरायलतिर पठाइदिए भैगो, शिक्षा पनि टुटेफुटेको अंग्रेजी बोल्न जान्यो की भैगो, स्वास्थ्यको हकमा भए भरका दूर्लभ जडिबूटिहरुलाई घाँसको भाउमा भारत तर्फ पठाइदिएर दसहजार गुणा बढी मूल्यमा उतैबाट रेडिमेड ट्याब्लेट किने हुने । लुगाको बारेमा त केही भनिसाध्यै छैन, एक मिटरले दशजनालाई पुगिहाल्ने खालका भित्रिएका छन्, यस्तो अवस्थामा रोग पनि आयातितनै हुने त भए नि । ‘के भन्नु र खै, तिमी हाँस भो मै बसौंला रोइ’ भनेजस्तै भएको छ । मैले त नेपाली राजनीतिको बारेमा बोल्नु, सुन्नु, तर्क राख्नु, विश्लेषण गर्नु, पत्याउनुको कुनै तुक देखेको छैन, अरुले के गर्छन् थाहा भएन । बिभिन्न वैज्ञानिकहरुको भनाईहरुमा मनन् गर्ने हो भने कोरोना र लकडाउनको बारेमा यसो चर्चा गर्न मन लागेको मात्रै हो ।

 

 कोरोना भाइरस कुनै प्राकृतिक जीव होइन । पृथ्वीमा जीवको सृष्टी हुनेबेलामा पनि प्रकृतीमा भएका अजैविक पदार्थहरु अमोनियाँ, नाइट्रोजन, कार्बन डाइअक्साइड, पानीबाटै अल्ट्राभ्वाइलेट किरणको सहायताले विच्छेदन र पुनः संयोजन क्रियाबाट एमिनो एसिड हुँदै प्रोटिनको अणु बन्न पुगेको र त्यस्तो अणुले आफूजस्तै अन्य अणु उत्पादन गर्न थालेपछि त्यसलाई सजीव भनिएको भन्ने वैज्ञानिक तथ्य छ । प्रयोगशालामा कृत्रिम वातावरण सिजना गरी त्यस्ता प्रोटिनका अणु निर्माण गर्न सकिन्छन् जसमा कोरोना भाइरस पनि एक हो । भाइरस भनेको जीवाणुको जस्तो गुण देखाउने अजैविक पदार्थबाट बनेको प्रोटिनको अणुमात्र हो । यो अणु लकडाउनले मर्दैन, जो जससँग यो भाइरस छ, लकडाउन खुलेपछि यसले पुनः यथावत क्रियाशील हुनसक्ने क्षमता राख्दछ । त्यसो भए लकडाउन कहिलेसम्म ? कोरोनाको बारेमा कि त काकाले, कि त ज्योतिषी बाजेले, कि त झारफूके परबाजेले ठट्यौली पारामा ब्याख्या गर्न सक्दछन्, जसको पछि लागेमा कोरोनाले त होइन भोकमरीले अन्त्येष्टी हुनेचाँही पक्का छ ।

 

 गर्ने के त ? यसको लागि हाम्रो शरीर विज्ञानको बारेमा थोरै बुझ्नु जरुरी हुन्छ । जंगली जनावर, पंक्षी, जलचरहरु प्राकृतिकरुपमा विरामी भएर अस्पताल धाएको देखिँदैन । किनभने जंगलमा पशुका अस्पताल वा उनीहरुका डाक्टर नभएर हो भन्ने लाग्ला, तर त्यसो होइन । उनीहरुमा आहार ब्यवहारको राम्रो ज्ञान र अनुशासन छ । प्रकृतिको नियम पूरा अवलम्बन गर्दछन् र विरामीनै पर्दैनन् । परीहाले पनि प्राकृतिक खानपान र जीवनशैलीका कारण रोग प्रतिरोधात्मक क्षमता यति बलियो छ कि केही समयभित्रै प्राकृतिक रुपमा स्वयं उपचारीत हुन्छन् । हामीले गर्ने पनि यही हो ।

 

आजभन्दा ३० बर्ष अघिको कुरा हो, मेरो एकजना आत्मीय साथीकी प्रेमीकाले अचानक अर्कैसँगको बिहेको कार्ड थमाए पछि म कहाँ आएर रुन थाले । कि त मर्ने कि त उसँगै बियर खाइदिनुपर्ने शर्त आइलागे पछि आधा ग्लास गाईको गहूँतजस्तो स्वाद आउने त्यो बियर पिएँ । एकैछिनमा पूरै पृथ्वी घुम्न थाल्यो । मैले साइकल चलाउन नसकेर डो¥याएर घर फर्कें । के बियरले सबैलाई त्यस्तै घात गर्छ त ? कहिल्यै नखाएको मान्छेलाई बियर पचाउने अभ्यास नभएकाहरुलाई असर गर्नु स्वभाविकनै हुँदो रहेछ । सफा चिटिक्क परेका शहरमा बस्ने बानी परेका मानिसहरुलाई अन्य भाइरस वा कोरोना एक्कासी भित्र पस्दा सहजै असर देखाउने नै भयो । हामी जस्ता धूलो धूवाँका एडिक्टेडहरुलाई त्यस्ता भाइरसका बाजेले पनि प्रभाव पार्नु गाह्रो हुन्छ नि । यो त हाम्रा राजनीतिज्ञहरुका दूरदृष्टिको कारण हामी सुरक्षित भएका रहेछौं । अहिले फेरी लकडाउनको म्याद थपिएकोछ । जनता सडकमा आन्दोलन गर्न आउँछन् भनेर हो कि राजनीतिक वा आर्थिक चलखेल गर्ने सुनौलो वातावरण होला भन्नेको पनि कमी देखिँदैन । जे होस् वैकल्पिक आइडिया नहुँदासम्मको लागि जे गरे ठीकै गरे होलान् ।

 

 त्यसो भए लकडाउनको बारेमा के गर्ने होला त ? शुरुमा सबै ठाउँमा कम्तिमा ३ हप्ता कडा लकडाउन त गर्ने पर्छ । रोग प्रतिरोधात्मक क्षमता बढीभएका, गाउँघरमा बस्ने कम उमेरका मिहेनती मान्छेहरु कम जोखिममा हुने भएकोले उनीहरुको लागि लकडाउन खुकुलो पार्दै जानु पर्दछ । शारीरिक परिश्रम नगरी कुम्ल्याउन पल्केकाहरुले स्वघोषणा गरी घरमै आइसोलेशनमा बसिदिनु ठीक हुन्छ । त्यस्तै कमजोर स्वास्थ्य स्थिति र ५५/६० बर्षमाथिका प्रौढ सबैलाई आइसोलेशनमा राखि राख्नु पर्दछ । शहरतिरका मानिसहरुमा तुलनात्मक रुपमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले सामाजिक दुरी कायम गरी काम गर्न दिनु पर्दछ । अब डेटिङ र सो सम्बन्धित बिजनेस पनि बन्द गरीनु पर्दछ । पढ्न र काम गर्न विदेशिने कार्य बन्द गरी सबैलाई स्वदेशमै कृषीमा डो¥याउनु पर्दछ । केहि समयको लागि पर्यटन ब्यवसायलाईनै लकडाउन गर्नु पर्दछ । स्वदेशी विदेशी तालिम, मिटिङ सबै भिडियो कन्फ्रेन्सबाटै गर्नुपर्दछ । यसो गर्दा न त ३३ किलो सुन भित्रीन पाउँछ न त नेता र कर्मचारीहरुको विदेश सयर सम्भव हुन्छ । यसरी बचत हुने पैसा कोरोना रोकथाम कोषमा जम्मा गर्न पाइन्छ । अनि प्रहरी र स्वाथ्य कर्मचारीको तलव काटीराख्नु पर्दैन ।

 

स्वस्थ्य मानिसहरुमा यो भाइरस प्रवेश गरे पनि नियमित प्राणायाम, योगाभ्यास, भिटामिनयुक्त जुस सेवन, नुन र बेसार हालेको मनतातो पानीको नियमित गर्गल्स गर्ने, तुलसी र गिलोयको चिया पीउने बानीका कारण यो भाइरसले केहि लछारपाटो लाउन सक्ने छैन र भविष्यमा पनि यसले खोपको काम गर्ने छ । तर यस्ता स्वस्थ्य र कोरोना बोकेका ब्यक्तिहरुले बृद्ध र रोगीहरुलाई असर पार्न सक्ने भएकोले स्यानिटाइज्ड भएरमात्रै उनीहरुको सम्पर्कमा जानुपर्ने हुन्छ । केही लामो समयपछि यस्ता भाइरसहरु स्वतः समाप्त हुँदै जानेछन् । यसो गर्दा काम पनि जारी रहने, असक्त र विरामीले राम्रो आराम पाउने पनि पक्का हुन्छ ।   
 

ताजा खबर