युवतीको मृत्युको कारण अस्पष्ट, स्वाब परीक्षणपछि थाहा हुने

२०७७ बैशाख १४ आइतबार १२:२५:०० मा प्रकाशित

काठमाडौं । ब्लड क्यान्सरले थलिएकी एक युवतीको मृत्यु भएको छ । ती युवतीको वीरगन्जमा तीनपटक   आरडिटी टेष्ट गरिएको जसमा रिपोर्ट पोजिटिभ आएको थियो । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया ती युवतीको आज बिहान मृत्यु भएको हो । तर उनको मृत्युको खास कारण भने खुल्न बाँकी नै छ ।

उनको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो । महिना दिन अघि क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए । तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिल लगिएको थियो ।

एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले ती युवतीलाई तराई हस्पिटल लगेका थिए।  शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो । तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । 

युवतीको शव अहिले नारायणी अस्पतालमै राखिएको छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको छ ।
 
 

ताजा खबर