थाम डाँडो

२०७७ बैशाख १४ आइतबार १०:३४:०० मा प्रकाशित

कोरोनाले विश्व हल्लाउँदा पनि
पटक्कै हल्लिएन त्यो थाम डाँडो
मुस्कुराइरहेछ उसको छात्तिमा थाकलको बोट
चराहरू निर्भिकताकासाथ खाइरहेछन् थाकल फल
नाचिरहेछन् उसको आङमा
गाइरहेछन् लैबरी 
भाका फेरि फेरि ।

झर्ना बगिरहेको छ
उसको छात्तीबाट
छङ् छङ् छङ् छङ् ।

तिर्खा मेटिरहेका छन् गाई बस्तु
सुसाइरहेका छन् हुकाहुल जनावरहरू ।

कल्कलाँउदा फूलहरू फुलेका छन्
उसको शरीरमाथि
निमग्न उभिएको छ त्यो थाम डाँडो
बगिरहेकी छ चेपे खोला उसकै काखबाट
मेटाइरहेकी छ
वैशाखको तिर्खा गाऊँ वस्तीको
धोइरहेकी छ मैला गाऊँ वस्ती र शहर समेतको ।

कति भागवत् सुन्यो थाम डाँडोले मान्छेको सभ्यताको
कति महाभारत झेल्यो आफ्नै छात्तीमाथि
उसकै आङमा अशोक बृक्ष उभिईरहेकै छ साक्षी 
गाण्डिव भिरेको उसको हाँगा सुक्नलाई
सभ्यताका थुप्रै कोरोनाहरू चेतनाको पुञ्ज भनिएको मान्छेले बेहोर्न  पर्नेछ 
थाम डाँडो सभ्यताका नामको मानिसको कर्तुतको
साक्षी बनेर उभिनै रहने छ ।


मान्छेले डढेलो खन्याएर मेट्न खोजे पनि
ऊ अनवरत पुष्पहरू फुलाईनै रहनेछ उसकै बाटिकामा
असंख्य थाकलहरू फलाएर चराहरू पालि नै रहनेछ 
खोज्ने छैन उसले कुनै मूल्य 
मान्छेसँग निश्वार्थ मान्छेको तिर्खा मेटिनै रहनेछ  ।


सदैव ऊ आँखाआँखामा युगको
मोहक दृश्य बनिनै रहनेछ
जस्तोसुकै कोरोना खनिएपनि
थाम डाँडो अनवरत अस्तित्व 
मुस्कुराइ रहनेछ
अनवरत अलिकति पनि
नझुकी ठिङ्ङ उभि नै रहने छ 
उभि नै रहनेछ ।

 ***********

ताजा खबर