चित्त विशोधनीको यात्रामा डुबुल्की लगाउँदा

२०७७ बैशाख १४ आइतबार ०९:०७:०० मा प्रकाशित

धारण गरेपछिको धर्म हुन्छ । तत्क्षण मनले के धारण गर्छ त्यतिखेरको लागि त्यही धर्म हो । जस्तो आगोको धर्म जलाउनु, पानीको धर्म प्यास मेटाउनु, हिउँको धर्म चिसो हुनु हो । त्यस्तै मनको पनि आफ्नो धर्म हुन्छ । यो प्रकृतिको पनि आफ्नो धर्म छ । रिसको धर्म, मायाको धर्म, द्वेषका आ– आफ्ना धर्महरु हुन्छन् । 

यही मनको स्वभाव जान्नको लागि चित्त विशोधनीको यात्रामा पुनः निस्केको थिएँ । जब गएँ कृतज्ञताको भावले भावविहल भएर फर्कें । यस्ता चित्त विशोधनिको मार्गमा म मात्र कृतज्ञताको भावले भावविव्हल भएको भए त चमत्कार भएको मानिन्थ्यो तर जो जो यस मार्गबाट हिँड्छन् ती सबै कृतज्ञताको भावले भावविव्हल भएको देखेको छु ।

चित्त विशोधनी भन्नाले चित्तलाई निर्विकार अवस्थामा पुर्याउने कोशिस हो । शरीरका ५ इन्द्रिय र मन समेतले आफुूअनुकूलका बिषयवस्तुसँगको सम्पर्कबाट अनेक विकारहरु उत्पन्न गर्छन् । तीनै सिर्जित विकारको क्षयीकरण नै चित्त विशोधनीको यात्रा हो । साहित्यमा यसलाई जे नाम दिएपनि सामान्य रुपमा यसलाई यसरी नै बुझांै । २६०० वर्ष पहिला भगवान बुद्धले अथक परिश्रमद्धारा यस विद्यालाई खोजी निकालेका थिए । उनको यस विधिलाई विपश्यना भनिन्छ । पालि भाषामा पश्यनाको अर्थ हो हेर्नु । यसमा वि जोडियो भने विशेष हुन जान्छ । अर्थात् हाम्रो यस शरीरलाई विशेष रुपले हेर्नु भन्ने नै हो । हेर्नु भन्नाले आँखाले जे देखिन्छ त्यो हेर्ने भन्दा पनि शरीरमा हुने दुखद् वेदना तथा सुखद वेदनालाई अनुभूतिको स्तरबाट तटस्थ भावले हेर्नु नै हो । अझ परिष्कृत रुपमा भन्दा अनुभव गर्नु हो । कस्तो अनुभव गर्ने भन्ने कुरा नै यसै साधनाले सिकाउने कुरा हो । भगवान सिद्धार्थ गौतम भन्दा पहिला र पछि पनि यतिको संख्यामा नै बुद्ध भए भन्ने कुनै गणना नै छैन । अनेक संख्यामा व्यक्तिहरु बुद्ध भए । अझ हुँदै जानेछन् । 

यस साधनामा जाने जोकोहीले अनन्त लाभ लिएको पाएको छु । लाभ सामाजिक शारीरिक र मानसिक लाभ मैले पनि लिएको हुँदा मानव भएर जन्मेपछि एकपल्ट हरकोहीले अनुभव गर्नको लागि भएपनि यस साधना विधिलाई सिक्न जरुरी देखेको छु । यस साधना विधि भगवान बुद्धद्वारा खोजी गरि निकालिएको हुँदा कतिपयले यसलाई बुद्ध धर्मसँग जोडेर हेरेका कारणले पनि उनीहरुले आफ्नो चित्त विशोधनीको मार्गलाई पूर्ण विराम लगाएको पाएको छु ।

सम्प्रदाय र धर्म फरक कुरा हो । सम्प्रदायले फुटाएको मात्र देखिन्छ तर धर्मले जोड्छ । जस्तो मन र शरीरको सम्यक सम्बन्ध स्थापित गर्नु धर्मको मुख्य काम हो । साधना शुरु गर्दा तीनरत्नको शरण दिलाइन्छ । तीन रत्न भनेको ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी’ यसलाई तीनचोटी उच्चारण गर्न लगाइन्छ । यसपछि ५ वटा शिल धारण गर्न लगाइन्छ । पाँचवटा शिलमा चोरी नगर्नु, व्यभिचार नगर्नु, हत्याहिंसा नगर्नु, धुमपान मद्यपान नगर्नु र झुटो नबोल्नु पर्छन् । यी अनिवार्य शिलको दायराभित्र पर्छन् । हरेक भिक्षुहरुले पालना गर्छन् नै गृहस्थहरुले त झन् अनिवार्य पालना गर्नुपर्ने भएको हुँदा यसलाई अनिवार्य शिल भनिएको हो । त्यसपछि पुज्य गुरुज्यू सत्यनारायण गोकान्काका प्रतिनिधिहरुलाई आनापान सिकाउन आग्रह गरिन्छ । जुन आनापान शब्द पनि पालिभाषा कै शब्द हो । यसको अर्थ हुन्छ भित्र आउने र बाहिर जाने स्वाभाविक सासको साक्षी भावको निरीक्षण गर्नु । यो प्रक्रिया साढे तीन दिनसम्म चल्छ । यसको मुख्य लक्षणहरुमा मनलाई सुखी शान्त र एकाग्र बनाउँछ, यो सरल र बैज्ञानिक छ र मनलाई सुक्ष्म बनाउनु   पर्छ ।  

त्यसपछि चौथो दिनको दिउँसोदेखि विपश्यना साधना सिकाउनको लागि याचना गर्दै विपश्यना दिइन्छ । त्यसपछि शरीरका हरेक समवेदनाको साक्षीभावले दर्शन गर्ने अवसरप्राप्त हुन जान्छ । यस विधिको प्रक्रिया साढे ५ पाँच दिनसम्म निरन्तर चलिरहन्छ । साधनाको प्रत्येक दिनको साँझको समयमा पुज्य गुरुज्यू सत्यनारायण गोयन्काको डेढ घण्टा लामो प्रवचन हुन्छ । जसले यस साधना विधि तथा यसको परिणामलाई समेत स्पष्ट हुने गरी प्रष्ट्याइएको हुन्छ । १० औं दिनको दिन मैत्री भावनाको विधि सिकाएपछि विपश्यना साधना विधिको विधिवत रुपमा १० दिने साधना समाप्त हुन्छ । यस मैत्री भावनामा अरुको कल्याणको कामना कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । दशौं दिनसम्मको निरन्तर अभ्यासले मात्र यस विधिबाट लाभ पाएको तथ्य पुष्ट हुन्छ । यो साधना गर्दा जस्तो सिकाइएको हुन्छ त्यस्तै काम गरे मात्र अपेक्षीत फल आउँछ । तर, पहिला नै कुनै फल अपेक्षा गरेर साधना सिक्न जानेहरुको हातमा भने केही पनि लाग्दैन । यो केवल मनलाई शुद्ध गर्ने साधना बाहेक केही होइन ।

मन शुद्ध हुनको लागि मनमा आफु वा अन्य कसैप्रति माया, मोह, रिस, राग, वितृष्णा, वैरभाव, नैराश्यता आदि विहिन हुन आवश्यक छ । यसलाई छोटकरीमा भन्दा राग र द्वैष विहिन अवस्थामा एकक्षण मात्र होइन निरन्तर राख्न सक्नु नै मन शुद्धि हो । र, यसको लागि निरन्तर अभ्यासको आवश्यकता पर्दो रहेछ । शुद्ध मनले जसले कुनै काम गर्छ उ सफल नहुने भन्ने कुनै हुँदैन । यहि शुद्ध मन बनाउने प्रक्रिया नै चित्त विशोधनीको यात्रा हो । कुनै रुप, आकृति, कुनै प्रकाश, कुनै मन्त्रादिहरुको निरन्तर जपतपले मन एकाग्र हुन सक्छ तर अन्तरमनको गहिराइमा भएको विकारको उदिरणा (निमुर्ल) हुन असम्भव हुन्छ । चित्त एकाग्र मात्रले बुद्धिलाई आनन्द दिने हुन्छ । यसै आनन्दलाई परमानन्दको नामदिएर रमाउनेको भिड पनि कम छैन । तर, वास्तवमा धर्म के हो भन्ने कुराको अर्थ जसलाई खोज्न मन छ उसले एकपल्ट अवश्य जानु पर्ने तिर्थको रुपमा यस्ता ध्यान विधि सिकाउने ठाउँलाई मैले लिएको छु ।

धर्म के हो ? धर्ममा यी गुण छन् भने मात्र त्यो धर्म हो । नत्र त्यसलाई धर्मको क्याटोगरीमा नराखेकै राम्रो हुँदो रहेछ । ती हुन् स्वाक्खातो, भगवतो धम्मा, सन्दिठ्ठिको, अकालिको, एहिपस्सिको, ओपनियको, पच्चतं वेदितब्बो विञ्ञु ही ती । यसमा १) स्वाक्खातो– राम्रो तरिकाले सम्झाइएको, २) सन्दिठ्ठिको– सहि दृष्टि सहित सिकाइएको, ३) अकालिको – तत्काल फल दिने खालको, ४) एहिपस्सिको – आउ हेर र यसको अनुभव लेउ भन्ने खालको, ५) ओपनियको– निर्वाणसम्मको यात्रामा पुर्याइदिने र ६) पच्चतं वेदितब्बो विञ्ञुहिति– अनुभव गरेर जान्ने खालको । यी गुण छन् भनेमात्र धर्म हो । धर्मको क्षेत्रमा कुनैपनि कुरा घुमाएको भनिएको हुनु हुँदैन । सबैले बुझ्ने गरी सरल भाषामा भनिएको वा सिकाइएको हुनुपर्छ । हाम्रा अनेक सम्प्रदायवादीहरुले धर्मको नाममा भुलभुलैयामा राखेको पाइन्छ । यसै कारण धर्मको व्यापारको नाममा संसारमा कतै शान्ति देखिँदैन । मैले धर्मको स्वाद चाखेर हेरें, अब हेर्ने पालो तपाईंहरुको । एकपटक १० दिनको समय दिनोस् र कस्तो त हुँदो रहेछ भनेर भएपनि जानुस् । नेपालमै यसका धेरै केन्द्रहरु छन् जता गएपनि हुन्छ । र, धर्म निःशुल्क सिकाइन्छ । धर्म सिकाए वापत कैले शुल्क तिर्छ भने त्यो त होटलको विल तिरे जस्तो हुन्छ भनेर पुज्य गुरुजीले हामीलाई भन्नु हुन्छ ।

त्यसैले एकपल्ट आफ्नो सम्प्रदायको चश्मालाई एकातिर राखेर गएर हेरांै त सहि के त हुँदो रहेछ भन्ने भाव राखी दश दिवसीय साधना गर्ने व्यक्तिहरुको पारिवारिक, सामाजिक, मानसिक, शारीरिक सबैमा समान रुपले लाभ हुने निश्चित देख्छु । जो काममा तनाव लिने खालका व्यक्तिहरु हुन्छन् उनीहरुले तनावबाट मुक्त हुने मार्ग पाउन सक्छन् भने जसले परिवारमा तारतम्य मिलाउन नसकेका कारण परिवार विछोडको अवस्थामा पुग्छन् उनीहरुले परिवारलाई जोड्ने कला सिक्न सक्छन् । जो खान जान्दैन उसले खान जान्दछ भने जो राती सुत्न जान्दैन उ सुत्न जान्दछ ।

जन्मेपछि तोतेबोली बोलेदेखि राती सुतेको समयमा बाहेक चुप नलागेका हामी १० दिन चुप लाग्दा कस्तो अनुभव हुन्छ भन्ने कुरा पनि हेर्न सिक्दछ । जीवनमा निर्णय लिन सक्ने क्षमताको विकास नभएका र हुन नसकेका व्यक्तिहरुले पनि निर्णय लिन सक्ने क्षमताको विकास गर्न सक्दछन् । यी त सामान्य लाभका कुरा मात्र हुन, वास्तविक लाभ त चित्त विशोधनीको धर्मगंगामा डुब्की लगाएर बाहिर निस्किन्छ र सारा जीवन ईह लोक र परलोक सबै सुधार्न सक्ने ज्ञान सिकेर आउन सकिन्छ । सबैको मंगल होस् भन्ने कुरा कहि छुटाइएको हुँदैन ।

मंगल होस् । 

ताजा खबर