७ करोडको खानेपानी आयोजना निर्माण

२०७४ असार ५ सोमबार ०७:०७:०० मा प्रकाशित

गोरखा, ५ असार । जिल्लाको पालुङटारमा ७ करोड ३५ लाखको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सह लगानी खानेपानी आयोजना अन्तरगत उक्त आयोजना निर्माण गरिएको कार्यालयले बताएको छ । 

चेपे खोला पालुङटार सह लगानी नामक उक्त खानेपानी आयोजनाबाट ९ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समिति अध्यक्ष मानबहादुर पौडेलले बताए । त्यस्तै वडा नम्बर ५ को ठाटीपोखरी, माझटार, मगर गाउँ, तल्लो फाटका स्थानीयहरुलाइ पनि पानी वितरण हुने उनले बताए ।

बस्तीबाट करिव १८ सय मिटरको दुरीमा रहेको चेपे नदीबाट पानी तानेर वस्ती वस्तीमा पुर्‍याउन लागिएको हो । पानीको मुहान भन्दा केही मिटर माथि कलेक्सन ग्रिड च्याम्वर निर्माण गरिएको छ । शुद्धिकरण भएको पानी संकलनका लागि २ लाख लिटरको तिन वटा ट्यांक निर्माण भएको उनले बताए । उक्त ट्यांकीबाट घरघरमा पानी वितरण हुँने उनको भनाई छ ।

सिंगल लिफ्ट को उक्त आयोजनाले प्रति सेकेण्ड १० देखि १५ लिटर पानी तान्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख रत्न लामिछानेले बताए । आवश्यकताको आधारमा दैनिक २० लाख लिटरसम्म पानी तान्न सक्ने उनको भनाइ छ ।

१८ महिनामा काम सक्ने गरी २०७१ को चैत्र १२ मा गोरखा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । तर, आयोजना निर्माणमा केही ढिलाई भएको गोरखा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दिलिप कुमार श्रेष्ठले स्विकार गरेका छन् । आयोजना निर्माण भएर पानी वितरण गर्नै अन्तिम तयारी भइरहेको श्रेष्ठले बताए । आयोजना निर्माणका लागी ७० प्रतिशत बजेट सरकारले दिएको छ भने ३० प्रतिशत उपभोक्ताहरुले जुटाएका छन् । 

ताजा खबर