तिम्रो सत्य, मेरो सत्य

२०७७ बैशाख १२ शुक्रबार १४:४४:०० मा प्रकाशित


१. कौतूहलताको हुरी बतास,
मान्यताका लेपहरूलाई
कोट्याउँदै फाल्दै
तह तह जमेका बोक्राहरु
र बोक्रेहरू छिचोल्दै
एक निमेषमै सत्यसँग साक्षात्कार भैहाल्छ झैं
सत्य विजलाई 
रक्तविज बनाउने 
यात्रा जारी छ ।


२.  आमाले मलाई
साऊँ अक्षर सिकाए देखि आजसम्म
बाउको दौरामा झूण्डिएर
कौतुहलता हिँड्दै
शैशवकाल देखि आजसम्म
पढाइ, भोगाइ र सिकाइका
माटो, ढुङ्गा र ईंटाहरु
ढुङ्गालाई माटोको र
माटोलाई ढुङ्गाको भर
पुरानो भत्काउँदै र नयाँ जोड्दै
यतिका बर्ष
खिपेर, टल्काएर बनाएको
मेरो सत्य
मेरो ठुलो संरचना
मेरो एक मात्र धरोहर हो ।


३. ऐले यहाँ
तिमी र म
तिमीहरु र हामीहरु
ज्ञान, विज्ञान सिकाउने
उनै गुरुहरु, उनै गुरुआमाहरु
उहि पुस्तक
अखबार, अनलाईन उस्तै
पिउने पानी उस्तै
उहि अन्नपात र भोजन
एउटै धरातलमा उभिएर
सत्य संरचना खोज्दै
तिमी र म हिँडि रहेछौं
तर तिम्रो सत्य तिम्रैखालको
मेरो सत्य मेरैखालको भेटियो
उनीहरु, तिनीहरु र हामीहरु वीच
सत्यको कित्ता काट भयो
सत्य एउटै भएन
सत्य उस्तै भएन ।


४. अब त यहाँ
सग्लो सत्य पनि 
खण्ड खण्ड भएको छ
अंश अंश सत्य
अपभ्रंश भएको छ
सधैं भरि सत्य संकटमा छ
थिचिएको छ
किचिएको छ
रोगाएको, कमजोर र निरिह छ
स्वतन्त्र छैन बन्धकमा छ ।


५. त्यो सत्य र यो सत्य
तिम्रो र मेरो सत्य 
तिनीहरुको र हामीहरुको
सत्यको अनुहार मिलेन
सत्यको हुलिया मिलेन
सत्य एउटै हुन सकेन  ।


२० वैशाख, २०७५ चन्द्रगढी ।
(कवि अधिकारी नेपाल प्रहरीका निवर्तमान नायब अतिरिक्त प्रहरी महानिरीक्षक हुन् ।)

ताजा खबर