भूकम्पको सम्झनाः विरामी बुबालाई बगरमा सुताउँदा !

२०७७ बैशाख १२ शुक्रबार १२:५४:०० मा प्रकाशित

शनिवारको दिन । 

विहानैदेखि छोराहरुसँग खेल्दै थिएँ । घरमा बसेको समयमा छोराहरुसँग खेल्न पाउनु कम्ती मस्ती हुँदैन । उनीहरुको कुरा सुन्नु । उनीहरुसँग घुलमिल हुनु रमाइलो लाग्छ । 
दिउँसोको करिव १२ बजेको थियो ।

ठूलो छोराको ग्याजेटमा स्क्राच भएछ । ‘बाबा यसमा स्टिकर टाँसौं न’– उसले मतिर ट्याब्लेट सोझ्यायो । हामी दुवैजना बेडरुममा गयौं । 

ट्याब्लेटमा स्टिकर टाँस्न थालेको मात्र थिएँ । अचानक घर हल्लियो । हतपत हामी दुवैजना अर्को कोठामा पुग्यौं । कल्पना र सानो छोरा त्यहीं थिए । बुबा विरामी हुनुहुन्थ्यो । आठ बर्षदेखि पार्किन्सन्सले थलिनु भएको उहाँ  आराम गरिरहनु भएको थियो । तर, आमा देखिनु भएन । 

घर झन् जोडले हल्लियो । बच्चाहरु  चिच्याउन लागे । कल्पना रुन थालिन् । ढोका यता र उता बज्रिरहेको थियो । मलाई आमाको चिन्ता भयो । कतै छतमा त पुग्नु भएन ?

म चिच्याएँ – आमा ! आमा !!

यतिनै बेला मेरो बेडरुममै रहेको बुक ¥याक ढल्यो । ¥याकको शिसा झ¥यामझुरुम भएको आवाज वाहिर सम्म आयो । यस अघि २०४५ साल र ६६ सालको भूकम्पलाई झेलेपनि यो एकदमै डरलाग्दो थियो । लगातार हल्लिरहेको थियो । 

अझै भुईचालो रोकिने छाँट छैन । म असाध्यै आँत्तिएँ ।  अचानक राम राम भन्न थालें । त्यतिनै बेला आमा निर्धक्कसँग भ¥याङबाट ओर्लिनु भयो । सधैंजसो हाँस्दै तल झर्नु भयो । उहाँमा अलिकति पनि हडबडाहट थिएन । ‘केही हुँदैन , नआत्तेओ । यस्तो त कति आउँछ आउँछ ।’  आमाले ढुक्कसँग भन्नुभयो । आमालाई देखेर अलि भरोसा थपिएजस्तो भयो । त्यति ठूलो शंकटमा पनि निस्फक्री देखें उहाँलाई ।

ठूलो छोरा रुन लाग्यो । घर बाहिर जाउँ भन्थ्यो । कल्पनापनि आँतिएर सवै जना जाउँ बाहिर भन्दै थिइन । मेरा नौ नारी गले । छोराहरु र कल्पनाले भनेजस्तै वाहिर जान चाहेपनि बुबालाई बोकेर लैजान सक्ने अवस्था थिएन । ओच्छ्यानमा छाडेर बाहिर जान मनले पटक्कै मानेन ।

न दौडेर कतै भाग्न सम्भव छ । न त चुपचाप बस्न नै  । एकातिर बुबा आमाको चिन्ता अर्कोतिर छोराहरु र कल्पनाको । के गर्ने कसो गर्ने दिमागमा केही चिज आउँदो रहेनछ । भुइचालो नरोकिएसम्म हामी घरभित्रै बस्यौं ।

टोलभरि रुवावासी र भागदौड सुरु भयो । भूकम्प रोकिएपछि  बुबा आमालाई घरमैं छाडेर हामी खुल्ला ठाउँतिर हिड्यौं । कान्छो छोरालाई बोकें । ठूलोको हातमा समातें । पराकम्प गैरहेको थियो । वाहिर पुगेपनि जमीन हल्लिन छाडेन । 

घर सूरक्षित हुँदा हुँदैपनि लगातारको पराकम्पले घरभित्र पस्ने आँटै आएन । कसैले  गोंगबु, सीतापाइलाका घरहरु ढलेको तस्वीर शेयर गरेको देखेपछि आफ्नै घरमा बस्न पनि डर लाग्यो । छेउछेउका ठूला घरहरु ढलेर हाम्रो घरलाई थिच्यो भने ?  आजको रात कसरी काट्ने भन्ने चिन्ताले नराम्रोसँग सतायो  ।

वाहिर चौरमा बस्दै थाहा पायौं धरहरा ढलेको । धेरै खाले हल्ला सुनियो । लाखौं मान्छे मरेको खवर फैलियो । तत्काल उद्धारको काममा लाग्न मन लाग्यो । तर, जान सक्ने स्थिति थिएन । घरमै विरामी बुबा, आमा र बाबुहरुलाई मेरो खाँचो थियो । त्यसैले उहाँहरुकै सेवामा लाग्ने विचार गरें ।

साँझ पर्न लाग्यो । झन त्रास थपियो । रातीपनि भूकम्प आयो भने ?

घरको ग्राउण्ड फ्लोरमा सिजेन केसी भाइको परिवार बस्थे । त्यो रात हामीपनि उनीहरुसँगै रुम शेयर गर्ने विचार गर्यौ । सीता वहिनी प्रेग्नेन्ट रहिछन् । यस्तो बेला भूकम्पमा होस राख्नुपर्छ भनेर सवैले भन्थे । उनी निकै तनावमा थिइन ।  हामीलाई थप चिन्ता थियो उनको ।

प्रत्येक कम्पनले मुटु चुँडाएर लैजाला जस्तो हुन्थ्यो । कुनै सरसामान, पसल पैसा केहीको पनि चिन्ता लागेन । मात्र कसरी परिवारै जोगाउँ भन्ने चिन्ता भैरह्यो ।

बल्ल तल्ल रात काटियो । पराकम्प आईरहेकै थियो । बैशाख १३ गते दिउँसो ठूलो धक्का आयो । यसले आतंकित बनायो । कति बेला के हुन्छ भन्ने टुंगो भएन । हामीले सल्लाह गर्यौं अब घर छाडेर बाहिर जाने ।

कहाँ जाने ? हामीसँग उत्तर थिएन । सवै हुँदा हुँदै हामी सुकुम्वासी जस्तो ठान्न थालेका थियौं आफैंलाई । कल्पनाले अर्जेन्ट सर सामान, कपडा , ओढ्ने ओच्छ्याउने र खानेकुराको पोको पारिन् । सुन र नगदको पनि छुट्टै पोको पारिन । सवै सामान बोकेर गाडीमा राख्यौं । र, हिँड्यौं खोलाको बगरतिर ।

मनोहरा खोलाको किनारमा मान्छेको भीड थियो । विस्तारै विस्तारै किनारमा पाल टाँगेर बस्न थाले । हामीले पनि एउटा पाल टाँग्यौं । सानो म्याट ओच्छ्यायौं । सानो ओच्छ्यान लगायौं । र, त्यही ओच्छ्यानमा बुबालाई सुतायौं । 

वैशाखको महिना मौसमको के भर हुन्छ र ? एकैछिनमा हावा लाग्यो । हावाको वेगमा वालुवा उडाएर ह्वार्ररै बुबाको मुखसम्मै पुग्यो । सानो छोराको हालपनि त्यस्तै भयो ।
मलाई भक्कानो छुट्यो । थलिनु भएको बुबालाई यस्तो अवस्थामा राख्नुपरेकोमा ग्लानी भयो । मैंले तत्कालै निर्णय गरें । अब हामी यहाँबाट अन्तै जाने ।

त्यही बेला दिदीहरुसँग कुरा भैरहेको थियो । उर्मिला दिदीले उहाँको घर नजिकै खाली जमीन भएकोले त्यतै आउन भन्नु भयो । हामी सवै पेप्सीकोला टाउन प्लानिङमा गयौं । रात पर्न लागेको थियो । भूकम्प गएको दोस्रो दिन सम्मपनि  पराकम्प अझै रोकिएको थिएन । हामीले दिदीको घरसंगैको चौरमा रात विताउने निधो गर्यौं । दिदीको घरमा बस्ने बहिनीले खाना बनाइन । हामी घरभित्र पस्न डराई रहेका थियौं । हतार हतार खाना खाएर कारभित्रै सुत्यौं । कारको झ्याल नखोली भएन । खोल्दा लामखुट्टेले कति टोक्यो टोक्यो । बुबा आमालाई निकै गारो भएको महसुस भयो ।  आधा रातमा उहाँहरुलाई दिदीको घर वाहिर कोरिडरमा सुताएँ । कल्पना, ऋत्विज , श्रुहित र म भने कारमैं सुत्यौं ।

रातभरि पराकम्प गइरह्यो । यसो निदाउन खोज्यो फेरि पराकम्पनले विउँझिन्थें । कल्पना रातभर जागा बस्थिन् ।

पटक पटक गरेर हामीले ४ रात गाडीमैं वितायौं । यो बेला मैंले आफूलाई निकै निरीह ठानें । गाउँघरको खुब याद आयो । चरिकोटको खुल्ला ठाउँमा  हुर्केको मलाई काठमाण्डौंको घरैघरको जंगलले आफैंलाई निलेको जस्तो लाग्यो । काठमाण्डौंको रङ्गीन सपनामा एउटा सानो घरभित्र कैद हुनुको पीडा कम्ती कहाली लाग्दो छैन । अहिलेपनि त्यतिबेलाको पीडाले मनमा घनघोर अन्धकार छाउँछ ।
 

ताजा खबर