नेपालमा अब कोराना संक्रमित संख्याले ४२ टेक्यो 

२०७७ बैशाख ९ मंगलबार २२:२३:०० मा प्रकाशित

काठमाडौं । उदयपुरमा ११ जना थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टिसँगै संक्रमित संख्या ४२ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यो तथ्यांकको पुष्टि गरेका थिए ।

  ३१ जनामा कोरोना भाइरस संक्रमण रहेकोमा मंगलबार ११ थपिएपछि संक्रमितको संख्या ४२ पुगेको हो । यसमा आधाभन्दा बढी अर्थात २३ जना त उदयपुरका मात्र छन् ।

केन्द्रिय प्रयोगशालामा उदयपुरबाट ल्याइएको २६० जनाका स्वाब मध्ये मंगलबारसाँझसम्म २४० जनाको परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको र २० जनाको स्वाब परीक्षण भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा भारतबाट आएका १२ भारतीय नागरिकमा वैशाख ५ गते संक्रमण पुष्टि भएको र त्यसको भोलिपल्ट सो मस्जिदमा रहेका एक नेपालीको संक्रमण पुष्टि भएर १३ जना पुगेको थियो ।

त्यहाँ एकै पटक धेरै संक्रमित पाइए पछि शनिबार कोशी अस्पतालबाट गएको चिकित्सक टोलीले ६९ जनाका स्वाब संकलन गरी परीक्षण गर्दा आठ जनामा संक्रमण पाइएको थियो ।

साथै, ती आठ जनाको संक्रमण पुनः पुष्टि गर्न सो नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पुनः परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो ।

यसैगरी, उदयपुरको सो मस्जिद क्षेत्रबाट नेपाली सेनाले शनिबार र आइतबार स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याएको थियो ।
 

ताजा खबर