उदयपुरका थप ८ व्यक्तिमा कोरोना संक्रमण, थप परीक्षण हुँदै

२०७७ बैशाख ९ मंगलबार १३:३८:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाईरस संक्रमितको आशंका गरिएका उदयपुरको झुल्के गाउँका ल्याइएका व्यक्तिहरुको नमूना परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको थाहा भएको  छ । स्थानीय मस्जिद छेउकै बस्तीका ६९ बासिन्दाको स्वाब नमूना बिराटनगरस्थित कोसी अस्पताल लगिएको थियो ।

तीमध्ये ८ व्यक्तिमा संक्रमण देखिएको चिकित्सकले बताएका छन् । ती व्यक्तिहरुको नमूना धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्ने तयारी गरिएको बताईएको छ । पोजेटिभ रिपोर्ट आएपछि चिकित्सकहरुले थप परीक्षण गर्ने सुझाव दिएका थिए ।

उदयपुरबाट ती ८ व्यक्तिलाई एम्बुलेन्सबाट राखेर धरान लाने तयारी छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दुईवटा एम्बुलेन्समा राखेर संक्रमितलाई धरान पठाइएको जानकारी दिएको छ ।

मस्जिदमा बसेका व्यक्तिहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने आशंका गर्दै स्थानीयको नमूना संकलन गरेर परीक्षण गरिएको हो । बस्ती नजिकै रहेको सेनाको गुल्मका सैनिकहरुको पनि नमूना संकलन गरी काठमाडौं ल्याईएको छ ।

त्रियुगा नगरपालिकाको झुल्केमा रहेको मस्दिजमा बसिरहेका १३ व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार गरिँदैछ । 

यसैगरी नेपाली सेनाको चिकित्सक टोलीले २ सय ५१ स्वाब संकलन गरेको थियो । झुल्केस्थित सैनिक गुल्मका सैनिक र नजिकैका बासिन्दाको नमूना संकलन गरिएको थियो ।
 

ताजा खबर