महाकाली किनारमा बसेको अनागरिक

२०७७ बैशाख ८ सोमबार १३:१७:०० मा प्रकाशित

 प्रिय !
शहरका अग्ला भवनहरु 
र निम्छरा मनहरुबाट आफुलाई जोगाउन
सोझै घरतिर हानिएको छु ।

यी पैतालाहरु खिइएनन् भने,
यी धड्कनहरु रोकिएनन् भने,
एक मुठि श्वास मात्रै साक्षी राखेर 
ढोका ढक्ढक्याउनेछु ।

एक लोटा पानी अनि 
एक मुठि सातुको जोहो गरिराख्नु है ।।१।।

सीमानामा अनागरिक भएर
विदेशीको अरन खट्नमा 
निवारक नजरवन्दी भएको म वन्दिबाट
चुरा विन्दि अनि एक झिम्टो मजेत्रोको कल्पना नगरे ।

स्वतन्त्रता अनि स्वराज गुमाएको म बबुरो 
भिल्लका रिपुहरुले दैलो नखोल्दासम्म 
यहि बगरमा बाँच्ने आकांक्षा रोपिरहकोछु ।

कोरोनाको कहरले भेटेन भने 
दैवदशा लागेन भने
एकदिन पक्कै आँगनमा टेक्नेछु,
भुटेको मकै अनि 
एक अम्खोरा मोहीको जोहो गरिराख्नु है ।।२।।

प्रिय !!
बिना कसुर सीमामा बन्दी हुँदा
कम्ति मन पोल्दो रहेनछ,
पेटमा पटुकि कसेर 
बिना कसुर भोकभोकै
रातदिन हिँड्दा 
चित्त कम्ता कुँढिदोरहेनछ ।।३।


साँच्चै भनु,
मन भित्र एउटा आँधि उत्पन्न भएकोछ ।
बाँचियो 
अनि आँगन टेकियो भने,
आँगनकै डिलमा 
कोरोना,
अमानवीय प्रवृत्ति,
अनि
अनुत्तरदायीहरुको 
‘कव्रस्तान’ वनाउने जंग् चढेकोछ ।।४।।

 

ताजा खबर