प्रधानमन्त्रीज्यू, सामाजिक सञ्जाल हेर्दै गर्नु है    !

२०७७ बैशाख ७ आइतबार १३:५८:०० मा प्रकाशित

एकै घरका सदस्यको जन्मदिन, वैवाहिक जन्मगाँठ, कुनै उपलब्धी वा यस्तै कुनै विशेष अवस्थामा सामाजिक सञ्जालमा खुला रुपमा शुभकामना दिएको देख्छु अनि म सोच्ने गर्छु के उनीहरुले अगाडि नै वा भनिन्छ नि फेस टु फेस पनि शुभकामना दिन्छन् कि दिँदैनन् होला !  हुनत यो जिज्ञासा मैले मेरो फेसबुकको भित्तामा पनि छापेको थिएँ । सानो दायराको कारणले प्रकाशित गर्न मिल्ने किसिमको अनुसन्धान त पक्कै भएन । अब अहिले बन्दाबन्दीको समयमा खाली दिमागको उपज भन्नु पर्यो मोबाइलको सामाजिक सञ्जालका पानाहरुबाट केही समय निकाली ल्यापटप खोलेको छु । हेर्छु मेरा औंलाहरुले कुन कुन शब्द थिच्दै के के वाक्य बनाउँदा रहेछन् ।

आज यो खाली दिमागमा केवल छ त सामाजिक सञ्जाल, त्यसैले यसैको वरिपरी रहेर मेरा अनुभवहरुलाई वाक्यमा उतार्ने प्रयास गर्छु ।

वैशाख ११ आउँदै छ । मलाई लाग्छ २०६२/६३ मा सामाजिक सञ्जाल हालको अवस्थाको हुन्थ्यो भने अहिलेका नानाथरी तन्त्र केही पनि आउने थिएन होला । माथि भनिहालें नि हामी एउटै परिवारकालाई त सामाजिक सञ्जालमा शुभकामना दिन्छौ । अब अहिलेको असहज परिस्थिमा कैयौं यस्ता घटना भएका छन् ती सबैको आलोचना हामीले सामाजिक सञ्जालमै त पोखिरहेका छौं नि । सरकारले उचित कदम नउठाएको आलोचना होस् वा कुनै व्यक्ति वा संस्थाले गरिरहेका मानवीय कार्यहरु हामी सबै यहि नै पोखिरहेका छौं । भावनालाई बग्न देऊ बाँधेर नराख भनेर त मनोविज्ञान सम्बन्धितहरुले भनिरहेकै हुन् । आजकल हामी हाम्रा माया, रिस, द्वैष जे जति भावनाहरु छन् सबै सञ्जाल मै उतार्छौं । अनि कार्यमा केही छैन । कुनै पनि प्रसंगमा केही चित्त बुझेन मैले त फेसबुक÷ट्वीटरमा लेखिदिए अनि यति जनाले शेयर पनि गरें ।

यस्तै यस्तैमा हामी दंग छौं अनि आफ्ना भावनालाई शान्त पारिरहेका छौं । ट्वीटरमा चियाउँछु । विभिन्न किसिमका व्यक्तिहरु देख्छु । बुझ्न त सक्दिन बुझ्ने प्रयास गर्छु । यसभित्र धेरै किसिमका गुट देख्छु । ती मध्ये केही यस प्रकारका छन् । पहिलो विरोध गरिहाल्ने, विपरित गुटलाई गाली गर्ने, दोस्रो समर्थन गर्दै पहिलो गुटकालाई गाली बर्साइहाल्ने, तेस्रो रमिता हेर्ने, चौथो स्वविवेक प्रयोग गर्दै राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्दै आफ्नो तर्क प्रस्तुत गर्ने । यी गुटहरुकाले एक अर्कालाई विभिन्न उपनाम पनि दिएका छन् जस्तै अरिङ्गाल, हनुमान (र हनुमानका अन्य नाम), जमुरे, दक्षप्रजापति, वैकल्पिक आदि इत्यादि । यी सबै गुटहरुलाई हेर्यो र के रहेछ त भनेर बुझ्ने प्रयास गर्ने अर्को किसिमको गुटमा भने म जस्ता सदस्य रहेका छन् । अब फेसबुक तिर जान्छु ।

बन्दाबन्दी र त्रासको समयमा खाली नबस्नुस् जेमा खुशी मिल्छ त्यहि गर्नु भन्ने मनोविद्हरुको सुझाव रहेको छ । यसका अतिरिक्त पनि समय कटाउन गाउने, बजाउने, नाच्ने, पकाउने, बारी खन्ने जस्ता विभिन्न क्रियाकलाप गर्दै यहि फेसबुक इन्ष्ट्रातिर पोष्टिएको हुन्छ । अब अरु गतिविधिमा यस्तै हो यो परिकारका फोटोहरुमा मीठो देखिएको छ र हामीलाई पनि भन्ने किसिमका कमेन्ट त सिधै छापिएको हुन्छ अनि जसलाई चित्त बुझ्दैन उसले हामीले पाएका छौं तर जसले पाएका छैनन् भन्ने किसिमका भावनात्मक स्टाटस पोष्टिदिएर बर्बाद !

एकजना सरकारी कर्मचारी भाइ ट्वीटरमा पनि फोटोहरु पोष्टिरहने हुनाले अफ्ट्यारो नै लागे पनि भाइ फेसबुक छँदैछ नि किन ट्वीटरमा फोटो हाल्छौ भनि सोधेको जवाफमा चित्त नबुझ्ने कुरा कति हुन्छन् दिदी के गर्नु लेख्न मिलेन अनि फोटो हालेर शान्त हुन्छु भने । खुशी हुने हक सबैलाई छ । अब के भन्नु जसलाई जेमा खुशी मिल्छ त्यहि गर्नु भन्ने बाहेक अरु भन्नलाई त केही छैन ।

जे होस् जे जति सामाजिक सञ्जाल छन् हामीहरुलाई व्यक्त गर्ने मञ्च दिएका छन् । त्यसैले त भनेको २०६२/६३ तिर पनि यति सहज तरिकाले नेपालीलाई व्यक्त गर्ने मौका वा मञ्चमा अंकुश नलगाएको भए सबैले आफ्नो विरोध, रिस, आवेश जस्ता सबै भावना यहि सञ्जालमा पोख्ते अनि सडकमा आउनेको संख्या धेरै कम हुन सक्थ्यो र परिवर्तन हुन्थ्यो वा हुँदैन थियो केही भन्न सकिँदैन । अझ हल्का रमाइलोको लागि त के पनि भन्न सकिन्छ भने यस्ता सामाजिक सञ्जाल राणा शासनकालमा नै भएको भए अहिलेसम्म के के तन्त्र होइन राणा शासन नै रहिरहेको हुन्थ्यो होला । शिक्षा पाए हाम्रो विरुद्धमा जान्छन् भन्दै झन कडा नीति लिए आखिर दमन कै कारणले राणा शासन गयो । पञ्चायतकालमा पनि व्यक्त गर्ने मञ्च नदिएकै कारणले प्रजातन्त्र ल्याए अनि राजा ज्ञानेन्द्रको शाहीकालमा त सामाजिक सञ्जालहरु फस्टाइसकेका थिए । त्यस समयमा पनि प्रेस तथा सञ्जाललाई खुकुलो छोडिदिएको भए नेपालीहरुले आफ्नो भडास त्यहि पोख्ते रिस कम भइहाल्थ्यो सडकमा कार्यकर्ता बाहेक सर्वसाधारण कमै आउने अनि कहिल्यै पूर्व नहुने पदको पछाडि अहिले कसैले पूर्व लगाउने थिएनन् होला ।

आजको  विषम परिस्थितिमा संक्रमण फैलनबाट रोक्नु पनि छ अनि जनतालाई गाँसको व्यवस्था पनि सुचारु गर्नुछ । बालुवाटार भित्र पक्कै इन्टरनेटको राम्रो सुबिधा छ । जनताका साथ साथै सरकार पक्ष तथा अन्य राजनैतिक दलका नेताहरु, अदालतले के के सुझाएका छन् ती सबै आफै हेर्ने गर्नुस् भनेर हाम्रा प्रधानमन्त्रीलाई निवेदन गर्दैछु ।

राज्य सञ्चालका सबै क्षेत्र प्रधानमन्त्री एक्लैले गर्न असम्भव भएकै कारणले विभिन्न मन्त्रालय अन्तर्गत कार्य विभाजन हुने र प्रधानमन्त्रीलाई आवश्यक पर्दा बिना पारिश्रमिक सहयोग गर्नेहरु पनि पक्कै होलान् । पारिश्रमिक लिएर सामाजिक सञ्जालमा सरकारको अन्धो गुणगान गाउनेहरुसँग सचेत रहनु होला । हुनत पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै तिरबाट प्रेसर होला । प्रेसर थेग्न गाह्रो हो भने इतिहासका परिवर्तन हामीले भोगेकै हो ।

नाकाबन्दीमा जनताको साथले नै दक्षिण झुकेकै हो । हामीले बुझेनौ र पश्चिमाको संविधान बमोजिम चलिरहेकै छौं । मजदुर दिवस आउँदै छ अनि त्यहि मजदुरको दुःख सञ्जालमा आउदा पनि किन अहिलेसम्म कुनै ठोस कदम छैन । भोकले मरे पनि कोरोनाले मर्न पाइँदैन भनेर कार्टुन छापिँदा पनि किन छुँदैन । गलत सल्लाहकारको हुलले त अझ यस्ता कार्टुन बनाउनेलाई कारवाही गर्नुपर्छ भन्नै सल्लाह देलान् । होशियार रहनु होला । राष्ट्रियगान गाएर मात्र हल निस्किँदैन । भोकले रोग नदेखेर नै सयौं माइल हिँड्दै छन् । म र म जस्ता त अहिले सामाजिक सञ्जालमा पोखेर शान्त छौं तर भोक, भष्ट्राचार लगायतका अन्य बेथिति बढे भने के सञ्जालमा पोखिएका शब्दले मात्र हामीलाई शान्त पार्न सक्ला ? हरेक क्षेत्रका उचित व्यवस्थापनका अनेक सुझाबहरु सञ्जाल मै आएका छन् । “सल्लाहकार” बाहेकका विज्ञहरु छन् । कार्य गर्नुस् । सहि कामको सधैं सहि मुल्यांकन हुने छ भन्ने आग्रह सहित स्वास्थ्य लाभको कामना ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् !

–लेखिका वस्ती कानुन व्यवसायी हुन् ।
 

ताजा खबर