कलाकारको भाईटीका

२०७४ कार्तिक ६ सोमबार १३:०१:०० मा प्रकाशित

काठमाडौं,६ कात्तिक । यसपटक भाईटीका शनिबार दिन परेको हुनाले पनि सबै परिवार एकै ठाउँमा जम्मा हुन झन सजिलो भयो । दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई दिएर तिहार सकिएको छ । 

कलाकार अनमोल केसी आफ्नो फेसवुकमा खासै अपडेट हुन चाहँदैनन् । तर, उनका बुबा भुवन केसीले भने भाइटीकाको दिन अनमोलले दिदी काजलसँग भाइटीका लगाउँदै गरेको फोटो फेसबुकमा राखे । अमेरिकामा बस्दै आएकी काजल झन्डै चार वर्षपछि भाइटीका लगाउन नेपाल आएकी थिइन् । अनमोलले काजलका खुट्टामा ढोग्दै गरेको तस्बिरले धेरैको मन खिचेको थियो । तस्विरमा काजल भने हाँस्दै आशीर्वाद दिइरहकी देखिन्छिन् । अभिनेता भुवन केसीले भने बहिनी अलिना र आरतीसँग भाईटिका लगाएका थिए ।

यस्तै तिहार एकदमै मन पराउने नायिका रेखा थापा यस पटक भने अलि व्यस्त रहिन् । आफ्नो फिल्म ‘रुद्रप्रिया’ को प्रदर्शनमा समय दिनुपर्दा उनी दाजु भेट्न घरसम्म पुग्न पनि सकिनन् । काठमाडौंमा बसेर उनले दाजुभाइ बनाएका तीन जनालाई टीका लगाएर तिहार मनाइन् ।

अभिनेता नाजिर हुसेनले उनको फेसवुकमा राखेको तिहार तस्बिर रोचक थियो । उनी मुस्लिम समुदायका हुन् । तर, निधारभरि सप्तरंगी टीका र मखमलीको माला लगाएको तस्बिर उनले फेसबुकमा अपलोड गरेका थिए । खासमा नाजिरकी आमा हिन्दु र बुबा मुस्लिम हुन् । आमा बिते पनि नाजिरले आमाबाट सिकेका हिन्दु संस्कार भने भुलेका रहेनछन् । आमाको संस्कार पछ्याउँदै नाजिरले सधैंको तिहारमा धर्र्मिददीहरूबाट टीका लगाउँदै आएका छन् । 


 

ताजा खबर