बन्दैन यो राजनीतिले देश !
किन बनेन नेपाल ? किन बन्दैन देश ? कसरी बन्ला देश ?
१. अमेरिका स्वतन्त्र हुनु अघि नेपालको एकिकरणको क्रम पूर्वमा इलाम र झापादेखि पश्चिममा दाङ–सल्यानसम्म पुगेको थियो । १७७९ मा फ्रान्समा राज्य क्रान्ति हुँदा खेरी नेपाल वर्तमान आकारमा मेची–महाकाली आइसकेको थियो । अमेरिकाले १७८७ मा आफ्नो संविधान जारी गर्दा नेपाल महाकाली पारीको विस्तार अभियानमा थियो ! तर त्यतिखेरको अमेरिका वर्तमान अमेरिकाको करीव एकतिहाई मात्र थियो !
२. त्यतिखेर वेलायत, अमेरिका र फ्रान्स जस्ता मुलुकको अर्थतन्त्र र हाम्रो अर्थतन्त्रवीच ठूलो अन्तर थिएन ! सैन्य क्षमता पनि त्यस्तै हो । नेपालले बेलायत र चीनसँग युद्ध गरेकै हो ! कहिले जित्यो, कहिले हार्यो । संसारभर साम्राज्य फैलिएको वेलायतसँग सानो गोर्खा लड्यो र महाचीन र अंग्रेज साम्राज्यसँग सानो नेपाल लड्यो ! जित हारको कुरा अर्कै हो । नेपाल उनीहरूसँग लड्ने सामर्थ्य राख्थ्यो, साहश गथ्र्याे ! सामान्य रूपमा यसरी बुझ्न सकिएला (( नेपाल र उनीहरूको अर्थतन्त्रको चरित्र समान थियो ! सैन्य सामथ्र्यको अन्तर भनेको २० र १० थियो होला, आज जस्तो तुलना नै गर्न नसकिने त थिएन होला वा एक र हजार वा एक र १० हजारको जस्तो अन्तर त थिएन होला !
३. सुगौली सन्धिको डेढ दशक पछि युरोप र अमेरिकामा प्रथम चरणको औद्योगिक क्रान्तिको लहर आयो । त्यसपछि उनीहरू अघिको अघि लागे, हामी झन्डै झन्डै जहाँको त्यहीँ रह्यौँ !
४. नेपाल एकीकरण हुनुभन्दा धेरै अघि नै युरोप र अमेरिकामा दर्जनौ उत्कृष्ट विश्व विद्यालयहरू स्थापना भैसकेका थिए ! हामीले जङ्गबहादुरको पालामा आएर एउटा स्कूल खोल्यौँ त्यो पनि शाशक समुदायका सन्तानका लागि मात्र ! राजा त्रिभुवन र चन्द्र सम्शेरको पालामा पहिलो कलेज खुल्यो ! १९५९ मा आएर पहिलो विश्व विद्यालय खुल्यो ! नेपालमा विश्व विद्यालय नभएर पटना वा वनारसमा गएर जाँच दिएर आउने हामी माझ अझै धेरै हुनुहोला !
५. हामी चुकेकै शिक्षामा हो ! शिक्षाको बाटो आउने औद्योगिक र कृषि क्रान्तिमा हो ! अन्यत्रका शिक्षितहरू उद्योग, व्यापार, व्यवसायमा लागे, हाम्रा राजनीतिमा लागेर ढुङ्गा हान्ने र टायर बाल्ने भए । अन्तका मुलुकलाई समृद्धि दिने भए हाम्रा समृद्धि खोस्ने निस्किए ।
६. १७८७ मा बनेको संविधानले अमेरिकालाई विश्वको सर्वशक्तिमान मुलुक बनायो । संविधान विना पनि बेलायतले यो विश्वको एकतिहाई भूभाग र जनसंख्यामाथि शासन गरेको थियो । आज पनि विश्वको अग्रणी मुलुक छँदै छ ।
एउटा अमेरिकी सैनिक अधिकारीले बनाइदिएको संविधानले जापानलाई केही वर्ष अघिसम्म विश्वको दोस्रो ठूलो र अहिले तेस्रो ठूलो अर्थतन्त्रको स्वामी बनायो ! एउटा महाशक्ति बनायो ! भारतमा ब्रिटिस शासनले नै गराइदिएको संविधान सभाको निर्वाचनद्वारा गठित संविधान सभाले बनाइदिएको संविधानले भारत आजको स्थानमा छ ।
७. नेपाललाई त सात दशकमै आठ वटा संविधान ! संविधानले देश बन्ने भए नेपाल विश्वकै अग्रणी मुलुक बन्ने थियो ! ५० – ६० वर्ष अघि नेपाल जस्तै अवस्थाका दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया, ताइवान, चीन र भारत हेर्नोस त ! तर यी राजनीति गर्नेलाई न लाज छ न शरम छ ! दोष कुनै व्यक्ति विशेष वा दल विशेषको मात्रै होइन । भीमसेन थापा देखि केपी ओलीसम्म र राजा रण बहादुर शाह देखि राजा ज्ञानेन्द्रसम्म सवैका दोष र अभाव यसमा मिसिएका छन् ।
नेपाली काङ्ग्रेस देखि नेकपासम्म यसको लागि जिम्मेवार छन् ! नेपाली काङ्ग्रेस र नेकपाको स्थापना पछि नै दक्षिण कोरिया, सिङ्गापुर, ताइवान, मलेसियाहरूको समृद्धि यात्रा शुरू भएको तथ्य यहाँ विचारणीय छ । गलत भएको पनि काङ्ग्रेस र नेकपाको उपस्थितिमा साक्ष र रोहवरमा वा नेतृत्वमा भएको हो । हामी आम नागरिकहरूको स्वभाव र चरित्रको दोष पनि थपिएको छ ।
८. मूल कारण हाम्रो निकृष्ट स्तरको राजनीति ! मुलुकको एकीकरण लगत्तै शुरु भएको षड्यन्त्र, हिँसा र मारकाटको राजनीति अस्तीसम्म जारी थियो र छ । एक्काइसौँ शताव्दीको नेपालमा कसैले कुनै राजनीतिक पदको लागि आफ्नो दावी गर्दा मानिस मारेको, हत्या–हिंसामा संलग्न रहेको र सो वापत जेल बसेको कुरालाई आधार मानिने । उसको शिक्षा–दीक्षा, ज्ञान, योग्यता, अनुभव, मुलुक र समाजका लागि गरेको योगदानको कुनै मूल्य नहुने देश कसरी उठ्छ ?
९. सरकार र शक्तिशाली दल निकटका उद्योगी, व्यापारी र व्यवसायीले मात्रै अवसर पाउने र अन्यले प्रताडना मात्रै पाउने मुलुकको अर्थतन्त्र कसरी गतिलो हुने ? राजनीतिक दलमा युवा र तरुणका लाखौं सङ्ख्यामा भएका धक्कु लगाउने निस्किए– कुनै ज्ञान, शीप र इलम आर्जन गरेर मुलुक, समाज र परिवारका लागि उपार्जन नगर्ने आफ्नो पार्टीको सरकारको आडमा लूट र कमिसनमा बाँच्ने परजीवीहरू जति लाख भए पनि के काम मुलुकका लागि ?
राजनीतिको ढाँट पेशामै लागेर खाने हुन्, इलम गरिखाने होइनन् ! राजनीतिमा थोरै, उद्योग, कृषि र व्यापार–व्यवसायमा लाग्ने धेरै मानिस नेपालले नपाउञ्जेल यस्तै हो ! राजनीति र संविधानबारेको यस्तो दरिद्र चिन्तनले दिने मुलुक यस्तै हो !
१०. दलहरू र तिनका भातृ र शुभेच्छुक सँस्थाहरूले यो मुलुकको उर्जा, शक्ति, क्षमता र विश्वासका वैरी बनुञ्जेल कसरी बन्ने देश ? दलका नेता र कार्यकर्ताहरू, शासक र मन्त्रीहरू मुलुकको ढुकुटीमारा मात्रै हुञ्जेल कसरी यो मुलुकको उर्जा र क्षमताको विकास हुने ? बन्दैन यो राजनीतिले देश ! संविधान र कानुन बारेको यस्तो चिन्तनले आउन्न देशमा शान्ति, समृद्धि र स्थिरता ! अपरिहार्य छ ,राजनीतिमा नयाँ चिन्तन, शैली र संस्कृति !
११. राजनीति, समाज, संविधान, राष्ट्र र राष्ट्रियताबारे नयाँ ढंगले सोच्न धेरै ढिला भइसकेकोले नै मुलुकको अस्तित्ववारे पनि प्रश्न उठ्न थालेको हो । जस्ता भए पनि जिम्मेवारी नयाँ र युवा पुस्ताकै हो ! देश र राजनीति मूलरुपमा चाहिने पनि उनीहरूलाई नै हो ! मुलुक, आफ्नो राजनीति र भविष्य आफैँ सलह बनेर खाएका नेताकालागि होइन !
सानो र प्रभावकारी सरकार भने जस्तै सानो आकारको तर प्रभावकारी दल ! देश र समाजसँग लिन नभएर दिने योग्यता र क्षमता भएका र मुलुकको उन्नति र प्रगतिमा योगदान पुर्याएका व्यक्तिहरूबाट दल र सरकारको नेतृत्व !
त्यस्तो गर्न वाध्य पार्ने कानुन भएमा केही हुने होला नत्र ???
(विश्लेषक केशबप्रसाद भट्टराईले नेपालको इतिहास,वर्तमान र भविष्यबारे गरेको तीखो विश्लेषण उनकै फेसबूकबाट साभार ।)