उखान अङ्कललाई ज्ञानमणिको पत्र

२०७७ बैशाख ४ बिहीबार १५:२३:०० मा प्रकाशित

 प्रिय उखान अङ्कल
    जय नेपाल !

     तपाईंका बारेमा सकारात्मक र नकारात्मक टिप्पणी सुन्दै आएको हो निकै अघि देखि ! मन भएर पनि तपाईंको स्वास्थका कारण डिस्टर्ब गर्न उचित लागेन ! अहिले अलि सन्चो भएको देखेर (टिभीमा) यो प्रशंषा–पत्र लेख्दैछु ! 

केहि समय अघि आरके मैनालीको ईन्टरभ्यु समेत हेर्ने मौका जुर्यो एउटा च्यानल मार्फत ! सानैमा आमा गुमाउनु भो ! दूध कटुवा बच्चो हजुरआमा र बडा बाले हुर्काउनु भो ! हेर्दै दयालाग्दो खिरिलो केटो ! तपाईंलाई हुर्काउनमा देवीप्रसाद उप्रेतीको योगदान ! पछि रामनाथ दाहालले सरण दिनुभएको ! झापा आन्दोलनको कष्टकर जीवन ! काठमाडांैको कुनै गल्लीमा क्वार्टर  बाँडेर चुस्की लाएको कथा ! नख्खुको कठोर जेल यात्रा ! आरकेले तपाईंप्रति गरेको सेवाभाव ! पछि गृहमन्त्री भएपछि जीवनस्तर सुध्रेको हिन्दी सिनेमाको जस्तो कथा ! आदि ईत्यादि सुन्दा उनि तपाईंप्रति पूर्वाग्रहि भएको महसुस भएको थियो र म स्वयं पनि केही हदसम्म त्यसको सिकार थिएँ ! तर जब तपाईंको बर्थ डे (जन्म दिन त जो कोहीले पनि मनाउँछन् नि) को भोलिपल्टै चुहानडाँडा पुगें तपाईंको बिगतको संघर्षपूर्ण जीवन र अहिलेको वैभवपूर्ण जीवनको तुलनाले तपाईं प्रतिको धारणाले ३६० डिग्री कोल्टे फेर्यो !

स्थलगत रुपमै तपाईंको कष्टपूर्ण क्रान्तिबारे जान्ने सुन्ने मौका पाईयो ! स्थानीयले बताए अनुसार तपाईं त कोदोको जोहो गर्न समेत नसक्ने हालतमा हुनुहुँदो रैछ ! दयनीय हालत ! तर आज तपाईंको उन्नति प्रगति र वैभवशाली जीवनशैली प्रत्यक्ष रुपमै देखेर सम्पूर्ण तेह्रथुमबासीको छाती गर्वले फुलेको छ ! सबै हर्षले गद्गद् छन् ! म समेत हर्षविभोर भएर फर्कें ! संकटका बेला आफैंले बेच्नु भएको घर चल्तीको मोल भन्दा दुई लाख बढी दिएर वापस किन्नु भएछ कुनै तामाङसँग ! पच्चीस लाखको भतेर ! केक बोक्न हेलिकप्टर !  
वाह यस्तो पो बर्थ डे त !

सर्बप्रथम- happy birthday शुभकामना ! ढिलै भएपनि !

 आरकेको ईन्टरभ्यु र तेह्रथुम यात्रापछि मैले बुझेको कुरो–

तपाईंको उन्नति प्रगतिमा डाह गर्ने प्रशस्तै रैछन् ! आरके त झन् अग्रपङ्तीमा ! उनी आरके हैन धर्के लाग्यो मलाई त ! तपाईंको बिगतको कति खिल्ली उडाएको ? गरीब हुनु तपाईंको दोष हो र ? कुनै दार्शनिकले भनेका छन् (गरिवीमा जन्मिनु अपराध हैन तर गरिवी मै मर्नु चैं अपराध हो ! उनले तपाईंको यति मजाक उडाएका छन् कि जेल बस्दा तपाईंको आची समेत धोईदिएका रे ! तपाईंलाई अल्सर हुँदा उनी नभए त तपाईं उहिल्यै ...... ! 

    हैट ! कस्तो बोल्न सकेको ? म त सोच्न समेत सक्दिन ! क्वार्टर बाँडेर खाने गृहमन्त्री भएपछि महङ्गो खान थाले भन्न  समेत भ्याए !

 ए बाबा ! मान्छेको पदिय लेबल बढेपछि पेय लेबल पनि त बढ्छ नि हौ ! पहिले थिएन सस्तो खानु भो पछि भयो महङ्गो खानु भो ! आरिसे धर्के ! अहिले रामनाथको नामसम्म लिँदैनन् भनेर गुनासो गर्दैथे ! मरेका मान्छेको नाम लिएर गर्नु चैं के ? जबकी तपाईंको काँधमा तीन करोड जीवित जनताको नाम लिने जिम्मेवारी छ ! भो ! यत्रो पवित्र बाम आन्दोलनलाई धोका दिएर राजाको पाउ पुज्न जानेका के कुरा गर्नु ! बरु चुहानडाँडा तिरै लागौं ! 

 नआत्तिनुस् ! नडराउनुस् ! बिल्कुलै बिचलित नहुनुस् !

हर्षको माहोल छ ! तपाईंको जयजयकार छ ! पच्चीस लाखको त भतेर नै खाएछन् ! हुन त गोर्खे जात ! जति खान दिए नि नहुने ! खानै पाएनौं भन्ने पनि भेटिए ! पहिले कोदो खान नपाउने अहिले हेलिकप्टरमा केक ल्याएर खायो भन्ने पनि भेटिए ! तर त्यो केक खानु तपाईंको रहर हैन बाध्यता हो भन्ने ती स्वाँठहरुलाई के थाहा ? अहिले नेपालमाथि चीन र भारत दुबैको गिद्धेदृष्टि छ ! तपाईंले नेपाललाई केक बनाएर खाएपछि ‘नेपाल त पिठोको डल्लो पो रैछ’ भनेर जिल्ल परेका छन् ! ईन्डियन र चाईनिज दुबैबाट मुलुक जोगाउने तपाईंको कुटनैतिक शैलीलाई मुड्के सलाम नगरी रहन सकिन मैले चैँ ! चालीस पचास लाख खर्च गर्दैमा मुलुक जोगिन्छ भने किन नगर्ने ? मौकामा हिरा फोर्नुपर्छ भनेकै हुन पूर्खाले ! तपाईँले फोर्नु भो, ठीक गर्नु भो ! 

  तपाईंले आठ लाखको घर दस लाखमा किनेको पनि निकै कानेखुसी भएको बुझें ! पहिले छोडेर हिँड्यो अहिले किनेर ठालु पल्टियो भन्ने बज्रस्वाँठ समूह भेट्दा मैले चैं ‘दिवार’ फिल्मको अभिताभ बच्चनलाई सम्झें ! हर्षबिभोर भएँ ! उसले आमालाई दिन किनेको थियो तपाईंले बालाई दिन किन्नु भो ! नहुँदा बेच्नु भो, हुँदा किन्नु भो ! अरुको टाउको दुखाई  किन ? बाउ आमाको सेवा गर्न नचाहने उरन्ठेउलाको कुरामा ध्यान दिनेनै हैन ! अघि बढ्नुस् ! दुई तिहाई जनताको साथ छ तपाईंलाई ! तपाईंले बोलेका र गरेका हरेक कुराको खिल्ली उढाउनेको कमि छैन मुलुकमा ! कुनै समय प्रदिप नेपालले तपाईंलाई ‘ओछ्यान मुतुवा’ भनेर लेख्नु भएको थियो ! तर सम्पत्ति भएर पनि सामान्य जन्म दिन समेत मनाउन नसक्ने सामन्ती धर्मप्रसाद ढकालकै धुरीबाट हेलिकप्टर उडाएर यस्तो सानदार बर्थ डे मनाएपछि चैं म प्रदिप दाइसँग बिमती राख्न पुगेको छु ! तपाईंले  ओछ्यान मुत्नु भएको हैन ! सम्पूर्ण भोका नाङ्गा गरीब जनताका लागि उदाहरण बनेर हौसला प्रदान गरि खडेरिग्रस्त मुलुकलाई सिंचित गर्नु भएको छ ! गरिबीलाई मजाक बनाएर उडायो भने कहिल्यै हाम्रो सामु आउने छैन भन्ने सन्देश दिनु भएको छ ! आत्मबल थपिदिनु भएको छ ! सम्पन्नताको बाटो देखाईदिनु भएको छ ! लन्ठुहरु ! कुरो बुझे पो ! एउटा जँड्याहा बर्बराउदै थियोे (गणतन्त्र बिरोधी भनेर ! कुनै समय तपाईंको बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने उखानलाई लिएर ! आन्दोलन सुस्त भयो तिव्रता दिनुपर्यो भन्ने तपाईंको भित्री आसय त्यो आठ पास  जँड्याहाले के बुझोस् ? रङ्ग के हो ? व्यंग्य के हो ? नबुझ्ने बज्रस्वाँठसँग कसको के लाग्छ र ?

अब केही बर्तमान र भबिष्यका कुरा गरौं ! कति बिगतका गनगन मात्र गर्नु ? 

  अहिले तपाईंबाट मुलुकलाई जे जस्तो योगदान प्राप्त छ त्यो तारिफेकाबिल छ ! यस्तो जीर्ण ज्यानले तीन खोखा जनता बोकेर हिँड्नु चानचुने कुरा हैन ! सबै जिम्मेवारी तपाईंमै छ अरु सबै सहयोगी निकम्मा ! विपक्षीको त झन कुरै भएन ! तपाईं कुनै पनि मुद्दालाई अदालतसम्म पुग्नै दिनुहुन्न ! तुरुन्तै फैसला गर्दिहाल्ने गुण छ तपाईँमा ! रवीन्द्र निर्दोष र गोकुल निर्दोष र योगेश निर्दोष र भानुभक्त निर्दोष र ईश्वर निर्दोष !

यी र यस्ता मुद्दा अदालत र अख्तियार पुग्ने हो भने न्यायका लागि बर्षांै तड्पिने झमेलाबाट जनतालाई फ्याट्टै मुक्ति दिलाउने तपाईं भन्दा कुशल न्यायाधीश कोहि छ त मुलुकमा ?
यसबेला तपाईंले आफ्नो स्वास्थको समेत परवाह नगरी हप्तैपिच्छे टेलिभिजनबाट घर घर कोठा कोठा पुगेर कोरोनाको डर त्रास नमानी जनतालाई प्रष्ट बुझिनेगरि औषधि लेखिदिरहनु भएको छ ! कोस्टारिका पुगेर ल्याएको तपाईंको डाक्टर डिग्रीले ठूलो काम गरेको छ यो संकटमा ! प्रष्टसँग लेखिदिनु भएको छ (लकडाउन पकाउ, लकडाउन खाउ ! लकडाउन ओछ्याउ लकडाउन ओढ ! सबै कुरो लकडाउन बाटै गर ! भ्रष्टाचार नामको भाईरसको चैं ‘भ’ समेत उच्चारण समेत नगर स्वास्थका लागि हानिकारक हुनसक्छ ! प्रष्टै छ त बोली ! बुझिएन भनेर बुझ पचाउने विपक्षी कुलङ्गारसँग कसको के लाग्छ ?  धन्न तपाईं भएर पो ! त्यो डडेल्धुरे भको भए .......  प्रेस्किप्सन नबुझेर हैरान ! कुन औषधि खाने ? कुन लाउने ? तेर्हौं सकिएर पनि हप्ता दिन भैसक्थ्यो आज !

  न्यायाधीश पनि तपाईं नै ! डाक्टर पनि तपाईं नै ! धामी तपाईं ! झाँक्री पनि तपाईं ! राजनेता त बिजुलिका पोलमा पोस्टर टाँसे  देखि नै हो !

   त्यस कारण उखान अन्कल,

 तपाईं जस्तो बहुप्रतिभाको धनी हाम्रो भाग्य निर्माताको रूपमा पाएर धन्य भएका छौँ ! माल पाएर चाल नपाउने पटमूर्खका कुराका पछि समय नखर्चिनुस् ! कुत्ता भोँके हजार हाथी चले बजार !! उखान जपेर हिँड्नुस् ! ‘भ्रष्टाचार गर्यो, अकुत कमायो’ भन्नेका कुरामा ध्यान नदिनुस ! अघि पछि को छ र तपाईंको ? तपाईंका सन्तान भनेका मुलुकका भोका नाङ्गा जनता नै त हुन् नि ! जे जति गर्दै हुनुहुन्छ सबै उनकै लागि त हो नि ! खाली हात आएको हो खाली नै जानुपर्छ भन्ने तपाईंले बुझेरै आफ्ना सन्तानका लागि रातदिन खट्नु भएको छ ! कमाईदिनु भएको छ ! तपाईं पछि सबै उनिहरुकै त हो नि ! आरोप लाउनेले लाउँदै गर्छन् ! दरो भएर अघि बढ्नुस् ! बाधा अड्चन आए कठोरता साथ हटाउँदै जानुस ! हरेस नखानुस् ! कसैले भने भन्दैमा निरास नहुनुस् ! कुनै समय डाका भनेर घृणा गरिने रत्नाकर पनि पछि गएर वाल्मिकी भएर पुजिएकै छन् ! तपाईं पनि पुजनिय हुनुहुन्छ !

समग्रमा तपाईं यो मुलुकको उत्कृष्ट मानव हो अझ मेरो नजरमा त महामानव हो ! तपाईंको शितल छहारी मुलुकलाई प्राप्त भैरहोस्, शुभकामना !

(लेखक भूर्तेल झापा भद्रपुर निवासी हुन् । स्वतन्त्रताको आन्दोलनमा अग्रपंक्तिमा उभिएका उनी राजनीतिक व्यंग लेख्न सिपालु छन् । यस लेखमा उनले आफ्नै जिल्ला निवासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांकेतिक रुपमा व्यंग गर्दै पत्र लेखेका छन् । यो उनको निजी बिचार हो ।) 
 
 

ताजा खबर