लकडाउन वैशाख १५सम्म थपियो, कडाईकासाथ पालना गराउने सरकारी तयारी

२०७७ बैशाख २ मंगलबार १५:३७:०० मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमितको संख्या थपिँदै गएपछि सरकारले लकडाउन अवधि वैशाख १५ सम्मका लागि थप गरेको छ । आज मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि वैशाख १५ सम्म थप्ने निर्णय गर्दै लकडाउन पालना गराउन कडाईकासाथ अनुगमन पनि गरिने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण फैलिने संकेत पाएपछि सरकारले यसको चक्र टुटाउन लकडाउनको अवधि थप्दै लगेको बताईएको छ । यसैबीच मंगलबारमात्र दुई जना नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।  

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुको भिडियो कन्फ्रेरेन्समा लकडाउन तत्काल नखुल्ने बरु कडा हुने संकेत दिईसकेका थिए । 

कोरोना रोकथाम तथा नियन्‍त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा सुरुमा चैत ११ देखि १८ सम्म लकडाउन गरिएको थियो । त्यसपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले भोलि वैशाख ३ सम्म अवधि थप गर्ने निर्णय गरेको थियो । यता विश्व स्वास्थ्य संगठनले सबै राष्ट्रहरुलाई लकडाउन खोल्न हतार नगर्न सचेत गराउँदै आएको छ ।

मन्‍त्रिपरिषद‍् बैठकले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । बैठकले वैशाख १८ सम्म अन्‍राष्‍ट्रिय हवाई उडान स्‍थगित गर्ने कोरोना रोकथाम तथा समन्‍वय समितिको सिफारिस अनुमोदन गरेको छ ।

ताजा खबर