सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

२०७७ बैशाख २ मंगलबार १३:२२:०० मा प्रकाशित

काभ्रेपलाञ्चोक । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।
 
धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।” उनका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ । 

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा ती तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो । उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्टमा सोमबार नै ‘सिल’ गरिएको छ । पाँचवटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् ।
 
यसैबीच काभ्रेपलाञ्चोकमा आइतबारदेखि विदेशबाट फर्किएकाहरुको  आरडीटी थालिएको छ । हालसम्म ९७ जनाको आरडिटी भएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले बताए।  आरडिटी स्थानीय तहमै गरिएको हो ।
 
कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि विदेशबाट काभ्रेपलाञ्चोकमा घर फर्किएर एकान्तवास ९होम क्वारेन्टाइन०मा राखिएका सबैको आरडिटी गर्न थालिएको हो । कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको सम्पर्कमा ल्याइएको हो । 

झाले घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको र यसअघि उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेको बताए। उनका अनुसार हालसम्म पाँचखाल नपाका २७, बनेपा नपाका १७, पनौती नपाका १७, धुलिखेल नपाका १८ तथा महाभारत गाउँपालिकाका पाँच, चौँरी देउरालीका पाँच, बेथानचोकका चार र रोशी गाउँपालिकाका चार जनाको आरडिटी परीक्षण भएको र उनीहरुको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
 
वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले गत हप्ता आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका   छन् । रासस

ताजा खबर