लकडाउनमा ‘लक भएको मन !’ 

२०७६ चैत २९ शनिबार २१:१४:०० मा प्रकाशित

प्रिय मन
मिठो सम्झना ..!

मलाई थाहा छ, तँ निकै चुलबुले छस् । सायद त्यसैको कारणले होला तँ आज ‘लक’ भएको छस् । लकडाउनपछि घरबन्दी हुँदा तँलाई धेरै कुराको तलतलले कति सताइरहेको   होला ? लकडाउनअघि जस्तो माहोल थियो, जस्तो जीवन थियो । अहिले त्यस्तो महसुस गरी राखेको छैनस् होला । कोरोना भाइरसको संक्रमणको संत्रासले विश्वलाई सताइरहेको बेला तँ पनि बेचैन छस् । अब केहि समय तैँले धैर्य गर्नैपर्छ । यदी तँैले धैर्य गर्दिनस् भने, मेरो कारणले कसैलाई संक्रमण फैलिन सक्छ, म संक्रमणको माध्यम बन्न सक्छु वा म आफैं पनि संक्रमित हुनसक्छु । त्यसमा तँ पक्कै पनि खुशी हुँदैनस् होला । त्यसकारण अहिले तँ ‘लक’ भएर बस्नु बाहेकको अरु बिकल्प केहि छैन । माहोल सहज भएपछि फेरि उस्तै होलास् !’ 

जसरी जसरी समय बित्दै जान्छ त्यसरी त्यसरी मनको चाहना र धैर्य प्रस्फुटन हुँदै जाँदो रहेछ । भनिन्छ नि जीवनमा पढेर भन्दा परेर धेरैै   कुरा सिकिन्छ । हो, मैले पनि थुप्रै कुरा सिकेँ यो १८ औँ दिनसम्मको लकडाउनमा । प्रिय मन, मलाई थाहा छ तेरो चुलबुल– चुलबुलले कुनै दिन नमीठो घटना गराउन सक्छ ! त्यसैले पनि तँलाई अहिले नै सतर्क बनाउन यो चिठ्ठी लेखेको हुँ । थुप्रै खालका भावनाहरूले तेरो मन र मस्तिष्कमा डेरा जमाएको हुनसक्छन् । अहिले यसरी बन्दी भएर बस्दा यस्तो हुनु स्वाभाविक पनि हो तर विडम्बना अहिले जलमा, थलमा, नभमा सबैतिर कोरोना मात्रै छ । कोरोनाको आगमनले अहिले समुन्द्रमा जहाज चल्दैनन्, आकाशमा विमान उड्दैनन्, धर्तीमा गाडी गुड्दैनन्, घुमन्ते प्राणी भनेर चिनिएको मानिस घरभित्रै थन्किएको छ । कोरोनाको आगमनले हिजोका सबकुरा थोत्रा भइसकेका छन् । जीवन जगतको परिभाषा नै बदलिएको छ, बानी व्यवहार बदलिएका छन्, चलन र संस्कारहरु समेत उल्टिएका छन् । 

हिजोआज एक्लाएक्लै रहनु सामुहिक शक्ति प्रदर्शन हो । एकान्तमा बस्नु ऐक्यवद्धता हो । कसैलाई नभेट्नु नै गाढा मित्रता हो । तिरस्कृत भएर बुढेसकालमा बिताउन बाध्य पारिने एक्लो जीवन नै अहिले जीवन जीउनुको शौभाग्य हो । यहाँ अहिले मायाँ भन्ने कुरा फेसबुकको प्रोफाइल पिक्चरमा बेचिन्छ । म्यासेन्जरको गफमा समेटिन्छ । टिकटकको भिडियोमा अड्किन्छ । त्यसैले मायाँको त्यो जालझेलमा पनि नपर्नु तँ ! यसले जति तँलाई तताउँछ त्यतिनै यसको सामिप्यतामा जोडिएका क्षणहरुले सताउँछ । 

म थाहा पाउँदै छु– शक्ति पाखुरामा होइन, तँ भित्र हुँदो रहेछ । इच्छा मनको शक्ति रहेछ । अब मेरो वशमा केही छैन, सबै कुरा तैँले कब्जा गरिसकेको छस् । बाँच्ने इच्छा र आकांक्षाले मलाई चलाइरहेछन् । त्यसैले म अहिले यस्तो चालढाल देखाउन बाध्य छु जसले लकडाउनसँग साच्चै प्रेम बसेको देखाओस् । यस्तो माया देखाओस्, जुन आजसम्म मैले कसैलाई गरेकै थिइँन । तँ जे भन्– म त लकडाउनलाई औधी माया गर्न थालेको छु । मानिसले भन्थे प्रेममा कुनै शर्त हुँदैन तर आज म आशा गरेर लकडाउनलाई प्रेम गर्दैछु, किनभने इच्छा टुटेपछि नै त बुद्धि पलाउँदो रहेछ । कोरोनाको आगमनले मेरा जीवनका रुपरेखा नै सरल बनेका छन् । जसले जे भन्छ लुरुक्क मान्ने, जे भेटियो त्यही खाने, चुपचाप घरमा बस्ने । मेरो यो मलिन अनुहार र हाउभाउहरु मृत्युसँग डराएका चिनो हुन् । आजकल मौनता नै मलाई स्वादिलो लाग्न थालेको छ । यो समयमा तँ पनि लकडाउनलाई प्रेम गरेर मलाई साथ दे है !

विकास भनेको आधुनिक उत्तेजना होइन रहेछ । आफ्नै कर्मबाट प्राप्त अनिश्चय र असुरक्षा नै आज मानिसको दिनचर्या भएको छ । त्यसैले अबका दिनमा म भविष्यको निर्माण गर्ने होइन चरित्रको निर्माण गर्नपट्टि लाग्नेछु । मृत्युलाई छलेर जीवन निर्वाह गर्नपट्टि नलागी मृत्युको सामना गर्न सिक्नेछु । त्यसैले तँ जती चुलबुले भए पनि अबका दिनहरुमा मलाई यी कुराहरुमा साथ दे ।

मलाई विश्वास छ आज लेखिएका यी शब्दहरुमा त्यत्ति धेरै तागत त छैन ! बस सन्देह गर यसको भाव प्रति ? सन्देह गर प्रेममा, मायामा ? अन्ततः इच्छा, चाहना, विश्वास कायमै राख्नु मर्न नदिनु !  

म तँलाई कती धेरै माया गर्छु, कती धेरै प्रेम गर्छु, त्यो त तँलाई थाहा नै छ नि । तँ नि मलाई त्यती नै धेरै माया प्रेम गर्दे न है मन ! तँलाई फकाउन यो माया, प्रेमको परिभाषा पनि लेखेको छु पढ है ।
 
प्रेम र माया शब्द आफैँमा एक सिक्काका दुई पाटा हुन् । प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन । त्यसको जमर्को म गर्दिन पनि । जसरी हामीले हावामा उडिरहेको फूलको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

तर यो भनिरहँदा माया के हो त त्यसो भए ? माया पनि प्रेम सरह अदृश्य शक्ति हो । माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । हृदयमा आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन । शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ । पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ । माया अपवाद हो । माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो । प्रश्न चिन्ह हो, माया । अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया ।

जे जे भए पनि अहिले मेरो एक मात्र प्रेमी तँ नै होस् । यो लकडाउनमा जती ‘लक’ भए पनि मलाई साथ दे । तँ नै होस् अहिलेको मेरो एक मात्र साथी । तँ नै होस् अहिलेको मेरो सबै कुरा । तेरो नियन्त्रणमा छु म, तसर्थ मलाई संयमित र धैर्य बनाउने काम तेरो नै हो । जती चुलबुले भए पनि “जीवन रहे न जगत देख्न पाइन्छ” भनेर मलाई सिकाउने तैं त होस् नि । ल फेरी फेरी पनि पत्र लेख्दै गरौँला । सँगै संयमित र धैर्य बनेर यो परिस्थितिलाई सामना गरौँ ।

उहि तँ (मन) लाई बोक्ने साथी,

दिबस खनिया
 


(लेखक खनिया सामाजिक अभियन्ता साथै टेलिभिजन कार्यक्रम निर्माता हुन्।)


 

ताजा खबर