नयाँ वर्ष २०७७: म कस्तो शुभकामना बाँडौं ?

२०७६ चैत २७ बिहीबार १५:२६:०० मा प्रकाशित

हिजोका फूलहरू मरिसकेका छन्
पूजाकै थालिमा
दिन उसरी नै दिन दिन मरिरहेछ
प्रार्थनाकै कक्षमा
खै मित्रहरू म के शुभकामना बाँडौं !

नयाँ वर्षको
नयाँ समयको र 
नयाँ दिनको ।
वसन्त त ऐले यतिबेला 
निदालको गौंथलीसित रमाईरहेछ
गौंथली स्वतन्त्र गीत गाईरहेछ
चिर्वीर चिर्वीर

वसन्त उसँगै नाचिरहेछ
तपाईं र म फगत देख्न सक्छौं 
छुन सक्दैनौं
चुम्न सक्दैनौं 
यो क्षण कोरोना कैदबाट ।

नयाँ दिन नयाँ घाम झुल्किँदा 
नयाँ परिवेश सिर्जना हुन पर्नेथियो
नयाँ उमंगले छुन पर्ने थियो
नयाँ भावका तरंगहरूले
नयाँ पालुवा फेर्नु पर्नेथियो
नयाँ जाँगरका हातहरूले
नयाँ बिरुवा उमार्नु पर्ने थियो
सुके ती सब कोरोनाकै मरूभूमीमा
लुके ती एक एक कोरोनाकै साम्राज्यमा
भन्नुहोस मित्रहरू 
यस्तोमा म कस्तो शुभकामना बोलुँ
यस्तोमा म कस्तो शुभकामना बाँडु ।

आउनत वैशाख नै आउनेछ
पैँयूका फूलहरू भएर
हरिया पोशाकहरू बोट विरूवामा सजाएर
रंगिन इन्द्रेणी सुनाखरीमा पस्किएर
आयुको हामीहरूलाई
अर्को एक धर्सो थपेर
ऊ जानेछ 
कालको जस्केलोबाट सुटुक्क 
हामी चुपचाप हेरिरहने छौं
मौन मौन र मौन ।

अब भन्नुहोस् मित्रहरू
यो मौनतामा म कस्तो शुभकामना बाँडौं
यो सन्नाटामा म कस्तो शुभकामना लेखौं !

 

ताजा खबर