सबै वैभव र सामर्थ्य ध्वस्त पार्दैछ कोरोना

२०७६ चैत २३ आइतबार १३:४९:०० मा प्रकाशित

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिँदो छ । देशका भौगोलिक सीमा र सामरिक शक्तिका सबै दूर्ग भत्काउँदै यो भाइरसले मानिसको ज्यान लिईरहेको छ । अमेरिका जस्तो वर्तमान विश्वको महाशक्ति होस् कि भौतिक सरसुविधाको वैभवमाथि उभिएको यूरोप नै किन नहोस् यो महामारीका सामु निरीह साबित भैरहेका छन् । चिकित्सा लगायतका सबै शक्तिको उपयोगबाट पनि कोरोना भाईरससँग पराजित पो हुनुपर्ने हो कि भनेर विश्व यतिबेला भयभित छ । संसारका चिकित्सा क्षेत्रका एकसेएक हस्ती समेत काँपेको देखिँदा सम्पूर्ण मानव जगत चिन्तित नहुने कुरै छैन । अर्को शक्ति राष्ट्र चीन कोरोनाको महामारीबाट तंग्रिन खोजेजस्तो देखिए पनि उ अझै आफ्नै निष्कर्षमा भर पर्न नसकिरहेको देखिन्छ । यद्यपि उसले आफ्नो घाउमा मल्हम लगाउँदै अरु ज्यादा संक्रमित मित्र राष्ट्रलाई पनि सहयोगको हात बढाईरहेको छ । संकटका बेला पनि चीनको यो सद्भाव सराहनीय छ ।

विश्वको पश्चिम तर्फको ठूलो भूभागमा कोरोना भाईरसको संक्रमण रातदिन नै भयानक तरिकाले बिस्तार भैरहँदा यता दक्षिण एशियाली देशहरु प्नि तर्सिनुपर्ने अवस्था देखिँदै छ । भारत र नेपालले चीनबाट संक्रमण पश्चिमतिर सर्दैगर्दा नै यसबाट बच्ने प्रयाशस्वरुप जेजस्ता उपाय अपनाए, त्यसले ठूलो मानवीय क्षति रोक्न सकेको विश्वास गरिएको छ । तर पछिल्ला दिनहरुमा भारतको राजधानी नयाँदिल्ली र फिल्मी नगरी मुम्बई लगायतका शहरी इलाकामा संक्रमितहरु बढ्दै गएपछि त्यहाँका चिकित्सक र नेताहरु झस्किएका छन् । लामो लकडाउनबाट आत्तिएर नागरिकहरु नभड्किउन् भनेर प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय टेलिभिजन दूरदर्शनबाट महाभारत र रामायण जस्ता लोकप्रिय धार्मिक सिरियल समेत प्रशारण गराएका छन् । यसले लामो समयदेखि घरको छानामुनी सीमित भएका नागरिकलाई निकै राहत दिएको त्यहाँका सञ्चारमाध्यमले चर्चा गरेका छन् । वास्तवमा यो एक वुध्दिमानी काम भन्नलाई कन्जुस्याँई गरिरहनु पर्दैन । यसका साथै भारतका प्रधानमन्त्री र उनका क्याबिनेट सदस्यहरु निरन्तर कुनै न कुनै माध्यमबाट आफ्ना नागरिकसँग सम्बादमा रहेका देखिन्छन् । र विशेषज्ञहरुको भरपूर सहयोग लिईएको छ त्यहाँ ।

हाम्राले केही पनि गरेनन् भन्ने गुनासो पटक्कै होइन । समयमै लकडाउन घोषणा गर्नु नेपाल सरकारको वुध्दिमानी कदम थियो । यसको निरन्तरताले अहिलेसम्म त मानवीय क्षति हुनबाट जोगाएकै छ । तर खुला सीमानाको उपयोग गर्दै भारतबाट स्वदेश फर्किएका नेपालीहरु मार्फत भाइरस संक्रमण फैलिने हो कि भन्ने सन्त्राश भने बढेको छ । चीनबाट ल्याईएको चिकित्सा सामग्री तत्कालै प्रदेशहरुमा पठाएर परीक्षण सेवा समेत थालिएकाले संक्रमण फैलिन नपाउला भन्ने झिनो आशा गरिएको छ । तर हरेक दिन संक्रमितको संख्या बढ्दै गएको पाईएकाले परीक्षण अभियानलाई अझै तिव्रतासाथ अघि बढाउनुपर्ने देखिन्छ । प्रदेश र स्थानीय तहमा आइसोलेशन केन्द्र र कोरिन्टाईन स्थापनाको अभियान नै चलेको देखिएको छ तर यो काम आवश्यकता अनुसार उचित भए नभएको परीक्षण भएको देखिँदैन । स्थानीय नागरिकले स्वतस्फूर्त गरेको यस्तो सत्प्रयाशलाई चिकित्सा सेवा अनुकूल बनाउन आवश्यक भएको विज्ञहरुका प्रतिक्रियाहरु आएका छन् । जसलाई वेवास्ता गर्न मिल्दैन ।

यस्तो संकटको समयमा चीनबाट चिकित्सा सामग्री झिकाउँदा आर्थिक चलखेल भएको र यसमा राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरु नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको भन्ने समाचार प्रकाशमा आउनु निकै दुःखदायी बिषय हो । सिंगो देश एकढिक्का भएर कोरोना भाइरसको संक्रमण विरुध्द संघर्ष गर्नुपर्ने समयमा भ्रष्टाचारजन्य बिषयमा सवाल जवाफमा अल्झिनु पर्ने अवस्था आउनु देशकै लागि दूर्भाग्य हो । यसलाई भविष्यमा पनि अनुसन्धान गरेर दोषीलाई दण्डित गर्न सकिन्छ भने सम्बन्धित निकायले काखापाखा नगरी निर्ममतार्पूवक न्याय गर्न हच्किनु हुँदैन । तर सरकारले गरिरहेका हरेक प्रयाशमा नेपाली नागरिकले जो समर्थन र साथ दिईरहेका छन् यो भने निकै उल्लेखनीय बिषय हो । सरकारले यसलाई शक्तिको रुपमा आत्मसात गर्दै संकटको निराकरण गर्न सम्वन्धित बिषय विज्ञहरुको पर्याप्त योगदान लिन सक्नुपर्दछ । यसमा भने निकै कमी देखिएको छ । संकट परेका बेला देशले विज्ञहरुको योगदान लिन पाउनु पर्छ, यसमा सरकारले कन्जुस्याईं गर्नु हुँदैन ।

महामारीको बिस्तारले जनजीवन भयभित छ । यो कुरा कहिँकतै छिपेको छैन । यस्तो अवस्थामा नेतृत्व वर्ग निरन्तर नागरिकसँग विभिन्न माध्यमहरुबाट सम्वादमा रहनुपर्ने हो । प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक रुपमा तन्दुरुस्त छैनन् भन्ने कुरा सबैलाई जानकारी भएकै हो । तैपनि सार्कका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्स जस्तै प्रदेश तहमा पनि उनको सम्वादलाई निरन्तरता दिन नसकिने होइन । सहयोगीहरुको उचित सल्लाहको अभावमा हो कि किन हो प्रधानमन्त्रीको अपेक्षित सक्रियता चाहिएको बेला लगभग शून्य जस्तो देखिन्छ । आखिर किन ?

यहीबेला सत्तारुढ दलभित्र बदलाको राजनीतिक दाउपेच पनि देखिएको छ । जुन कुरा सर्वथा दुर्भाग्यपूर्ण हो । सेनालाई चिकित्सा सामग्री खरिदको जिम्मेवारी दिईएको बिषयले सत्तारुढ नेकपाभित्र दाउपेचको राजनीति पन्पिएको बताईँदैछ । यसै बिषयमा विपक्षी नेपाली कांग्रेस समेत बढी संवेदनशील भएको देखिएको छ । तर प्रधानमन्त्री ओली र उनका निकटस्थ सहयोगीले यसबारेमा प्रष्टतासाथ मुख खोलेका छैनन् । जसले जनमानसमा अन्योल थपेको छ । एकातिर बिस्तार हुँदो महामारी अर्कातिर सत्तारुढ दलभित्रको जुहारी !

घर फर्किन महाकाली सीमा र अन्य सीमा क्षेत्रमा पुगिसकेका नागरिकलाई जहाँको तहीँ रोकिनु दुःखद कुरा हो । संक्रमण फैलिने त्राशले उनीहरुलाई रोक्नु सरकारको वाध्यता नै थियो भने पनि यो सम्भावित समस्याको समाधानको विकल्प पहिले नै तयार हुनुपथ्र्यो । देशभित्र आएर पनि उनीहरुलाई सुरक्षित राख्न सकिन्थ्यो भन्ने तर्फ त्यस क्षेत्रका जनप्रतिनिधिहरुको ध्यान पुगेको देखिएन । खासगरी महाकालीपारी रोकिन वाध्य सयौं नेपाली नागरिकको हकमा त्यस क्षेत्रबाट पटक पटक प्रतिनिधित्व गरिरहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, भीम रावल, रमेश लेखक र दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरुले नैतिक जिम्मेवारीबाट भविष्यमा पनि उम्किन पाउने छैनन् । सरकारको अदूरदर्शिता त आफ्नो ठाउँमा जिम्मेवार छँदैछ नै छ ।

कोरोना भाइरसको संक्रमणले महामारीको रुप धारण गरेदेखि नै यसले मानव समूदायलाई हायलकायल पारेर मात्र विश्राम लिन्छ भनेर विश्लेषण गरिँदै आएको छ । परिणामले त्यतैतिर संकेत पनि गरिरहेको छ । चीन, अमेरिका, इटाली र स्पेन लगायतका देशमा सयमा होइन हजारमा गणना गर्नुपर्ने गरी मानिसहरुको चोला उठिरहेको छ । भलै चीनले यसलाई नियन्त्रण गरेको बताएको छ तैपनि ढुक्क हुनेगरी त्यहाँ पनि स्थितिमा सुधार भएको देखिँदैन । तर अरु बाँकी देशहरुमा त्यहाँका सबै सामथ्र्य नै गलाउनेगरी संक्रमण बिस्तार भैरहेको छ । यो अवस्था हेर्दा संक्रमणको चपेटमा परिसकेका लाखौं मानिसको जीवन जोगाउन नै ती देशहरु असमर्थ पो हुने हुन् कि भनेर विश्लेषण गरिँदैछ । यता हाम्रो क्षेत्र दक्षिण एशियामा पल्किसकेको भाइरसको चक्र टुटाउन सरकारी प्रयत्नहरु सफल भए भने त भयावहबाट मानव समुदाय बच्न सक्ला अन्यथा यहाँका अनेक कमजोरीको छिद्र छिचोलेर भाइरसले रणसंग्राम मच्चाउन पायो भने कल्पना पनि गर्न नसकिने विभत्स दृश्य बाँच्नेहरुले टुलुटुलु हेरेर बस्नुपर्ने छ ।

तर यस्तो नहोस्, कल्पनामा पनि नहोस् । यसका लागि नेपाल सरकारले आजदेखि लागू हुनेगरी घोषणा गरेको निषेधहरुको पालना गरौं । यही नै बच्न सकिने एक महत्वपूर्ण उपाय हो । संकट व्यवस्थापनका बेला भएका सबै अनियमितताको भविष्यमा लेखाजोखा गरौंला तर अहिलेलाई भने बाँच्ने र बचाउने प्रयाशहरुमा आआफ्नो स्थानबाट सहयोगी बनौं । 
कोरोना भाइरस बाहेक सबैको कल्याण होस् !

ताजा खबर