यतिबेला त डाक्टर नै भगवान्

२०७६ चैत २२ शनिबार १६:३४:०० मा प्रकाशित

  एउटा सानो बच्चालाई “तिमीलाई मम्मी मन पर्छ कि ड्याडी ?” भनेर सोध्यो भने उ जसरी अनकनाउँछ, त्यस्तै हालत हामीलाई कसैले शरीरमा मुटु ठूलो कि फोक्सो ? मष्तिष्क ठूलो कि पेट ? हात गोडा बढी महत्वपूर्ण कि मुख ? इत्यादि प्रश्न सोधेको देख्दा यस्ता प्रश्नै नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ । कुनै पनि साधारण अंगबाट दिएको सुइले औषधी वा बिष पूरै शरीरमा फैलिनसक्छ र पूरै शरीरको अन्त्य वा निको हुन सक्छ । 

त्यसैले राज्य एउटा बिशाल शरीर हो, जसमा भएका शिक्षक, डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, मजदूर, चौकिदार सबैको महत्व आ–आफ्नो स्थानमा उत्तिकै हुन्छ । कुनै एकले अर्काको गरिमाको खिल्ली उडाउनु एक पेटे दुई टाउके चराको उक्ती जस्तै सावित हुन्छ ।

 एक पटक अंक ९ ले ८ लाई हेप्दै भन्यो कि तिमीले मसँग जोरी खोज्न सुहाउँदैन । तिमी मभन्दा सानोनै हौै । यही रीस ८ ले ७ सँग पोख्यो । एवं प्रकारले २ लेमात्र होइन कि सारा अंकहरुले १ लाई हेप्दा पनि चुपचाप सहेर बसेको देख्दा ० लाई रीस उठ्यो । उ गुड्दै गुड्दै १ को छेवैमा गएर बसिदियो । अनि त हेपाहाहरु सबैको होस उड्यो । १ मात्र हो र ० लाई झनै कति हेप्दा हुन् यिनीहरुले ? अब सबैको चेत खुल्यो कि शून्यको पनि ठाउँ अनुसार ठूलै महत्व हुँदोरहेछ । आ–आफ्नो स्थानमा सबैको उत्तिकै महत्व हुन्छ केवल समय र परिस्थिति पर्खिने हो । यसैले आज पद र सत्तामा हुनेहरुले नागरीकहरुको कदर नगर्नु अल्पबुद्धिता सावित हुनसक्छ । 

    भूकम्प आएर सारा घर, पुल भत्किए भने हामी आफै जान्ने बन्नु हुँदैन । इन्जिनियरलाई गुहार्ने हो । त्यस्तो बेलामा बढी खटिनु इन्जिनियरले नै पर्दछ । डाक्टरको मुख हेरेर के  काम ? कतै भोकमरी भयो, तरकारी, फलपूmल अभाव भयो, दूध, उन, माशु अभाव भयो भने किसानलाई नै सम्झिने होला, नेतालाई सम्झेर के काम ? बालवालिकाहरुलाई शिक्षादीक्षा दिनु प¥यो, ट्युशन पढाउनु प¥यो, शीप सिकाउनु प¥यो भने शिक्षक नै अगाडि बढ्नु पर्दछ, इन्जिनियर आएर के काम ? देशका सीमाना मिचिए भने सैनिकहरुनै अघि सर्नुपर्ने देखिन्छ । एवं प्रकारले कतै ड्राइवर, कतै पाइलट, कतै वकील, कतै मादल ठोक्ने त कतै गीत गाउन जान्ने, कतै कवाडीकै महत्व हुन्छ । जुन घडीमा जसको सर्वाधिक आवश्यक्ता ब्यक्ति, समाज र देशलाई हुन्छ, त्यसले आफ्नो कौशलता पस्किन आनाकानी ग¥यो वा भाग्यो वा लुकेर बस्यो भने त्यसलाई के भन्ने ? गर्लफ्रैण्डलाई कसैले लुछ्न आएको बेलामा ब्वाइफ्रण्ड भाग्ने हो र अघि पछि त्यस्ताले ‘आइ लव यु’ भनेको कस्तो लाग्छ होला ? ठीक त्यस्तै हाल अहिले डाक्टरको छवि भएको पाइयो, त्यो पनि निजी अस्पतालहरुमा । 

    पूरै राज्य र सारा संसार कोरोनाले आतंकित भएको बेलामा हाच्छ्युँमात्र आए पनि वा सधैंकाझंै अलिकति ज्वरो आउँदा सर्वप्रथम सम्झिइने ब्यक्तित्व भनेको स्वेत विचारका स्वेत वस्त्रधारी डाक्टरमात्रै हुन् । अहिले प्रधानमन्त्री देखि सडकछापेसम्म सबैको लागि डाक्टरनै भगवान हुन् । अरुथोकको कमी भए त केहि दिन कुर्न सकिन्छ तर इमर्जेन्सीमा त डाक्टरको लागि पल पल कुर्नु गाह्रो हुन्छ भने त्यस्तो महत्वपूर्ण र सम्वेदनशील समयमा तीं डाक्टरले बिरामी छुन नमान्ने, भर्नानै नलिने, अन्यत्र रिफर गरी पठाईदने, हस्पिटलनै बन्द गरी बस्ने गर्नाले सेवाग्राहीलाई कस्तो छाप बस्ला ? कसैले पनि आफ्नो सन्तानको नाम रावण, कंश, हिटलर राख्न नचाहेजस्तै भविष्यमा कसैले पनि आफ्ना सन्ततीलाई डाक्टर बनाउन चाहने छैनन् ।

अब त थाहा भयो नि, निजी अस्पतालहरु किन खोलिँदा रहेछन् ? सेवा गर्न वा पैसा लुट्न ? यो त पैसा कमाउनेजस्तो पनि देखिएन । स्वच्छ कमाइमा त सेवा पनि गाँसिन्छ तर यहाँ सेवा भन्ने नामै देखिएन । भनेको सुनिन्थ्यो, निजी अस्पतालहरुमा त मरेको मान्छेको पनि लामो समयसम्म उपचार हुन्छ रे । त्यसो हो भने डाक्टर भनेका भगवान होइनन् रहेछन् त ! तिनीहरुको अर्जुनदृष्टि केवल पैसामामात्र रहेको पाइयो । राज्यबाट अस्पतालको नाममा अर्वौं रकम भन्सार छुट लिने, सिजरीङ गर्नै नपर्ने केसमा समेत अपरेशन गरी ढाड सेक्ने गरी अशूल्ने तर त्यसै राज्यका नागरिकहरुलाई आपत पर्दा सेवा नदिने र अस्पताल बन्द गर्नेहरु डाँकामात्र होइनन् दैत्य पनि हुन भन्न संकोच लागिरहेको छैन ।

    सरकार भनेको झनै संवेदनशील संयन्त्र हो जसले गरीव भन्दा गरीव र निमुखाहरुको मनको भावना अनुसार सबै प्रकारका सेवा दिन तत्पर हुनु पर्ने हो । कैयौं देशले यस्तो घडीमा प्लेन पठाएर आफ्ना नागरीकहरु स्वदेश भित्र्याइसकेका छन् तर पनि हाम्रो कम्युनिस्ट सरकार जो कम्युनहरुको उत्थानको लागि जन्मेको हो, आज मजदूरहरुको हीतको लागि कति निर्दयी देखिएको छ । तिम्रो झण्डाको हँसीया हथौडाको ब्याजमात्र चुक्ता गरे त हुने नि । कि त त्यो चिन्ह हटाएर डलर, मुद्रा, सुनको चित्र राखे सार्थक देखिन्थ्यो । संवेदनशील घडीमा समेत औषधी, पिपिइ, किटमा कमिशन खाने, प्लेन भाडामा कमिशन खाएको सुन्नुपर्दा मेरो प्रेशर १५० नाघेको छ । राजा महेन्द्र वा जंगबहादुर भएको भए यस्तो अवस्थामा के हुन्थ्यो थाहा छ ? कसैले सुन्न पनि सक्दैन । उहिलेको कुरै छाडौं न अहिलेको चीन वा उत्तर कोरीयाको हातमा भएको भए आधि भन्दा बढी शाशक र उच्च कर्मचारीहरुको के अवस्था भैसक्थ्यो होला ? 

    देश सबैको साझा हो । सामान्य अवस्थामा त चलेकै छ तर कठिन अवस्थामा त सबै नागरिकले देश उसको पनि हो भन्ने कुरा समान व्यवहारबाट थाहा पाउनु पर्ने होइन र ? किन सत्तामा बसेका र प्रतिपक्षमा उभिएका नेताको मन मष्तिष्कमा पीडामा परेका नागरिकमाथि किंचित पनि दयाभाव नआएको होला ? 
 
 

ताजा खबर