हतारमा पोष्ट गरिने समाचारको पीडा !

२०७६ चैत १४ शुक्रबार १७:१७:०० मा प्रकाशित

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बारेमा विभिन्न मिडियाबाट प्रसारित आतंक झन् बढी खतरनाक हुँदैछ । कोरोना भाइरसका विषयमा विज्ञता भएका आधिकारिक व्यक्ति वा निकायले बाहेक यस विषयमा अरूले नबोल्दा राम्रो हुन्थ्यो । अहिलेको मिडिया आतंक हेर्दा हामीहरू सबैजसोमा मानसिक उद्वेलन रहेछ जस्तो लाग्दैछ । जति प्रचार गरिएको छ, त्यसको १० प्रतिशतको हाराहारीमा यो भाइरसले हानी पुर्याएको तथ्यांक हामीले देखिरहेका छौं ।

 

यो भाइरस नफैलिँदा पनि विश्वमा मानव मृत्युदर यस्तै देखिन्छ । कोरोना भाइरस फैलिनुभन्दा करिब तीन महिना अगाडि विश्वमा दैनिक मृत्युदर करिब ८५ हजार रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमणको जम्मा केस छ लाख ३६ हजार ३ सय  ७४ मध्य २४ हजार १ सय १२ जनाको मृत्यु भएको छ । ३ लाख  ६८ हजार २ सय ११  जनाको स्वास्थ्य सुधारोन्मुख छ भने १९  हजार ६ सय ५७ जनाको अवस्था चिन्ताजनक छ । १ लाख २४  हजार ३  सय ९४ जना सम्पूर्ण रूपमा स्वास्थ्यलाभ गरी घर फर्किएका    छन् ।

 

यस्तो अवस्थामा यथेष्ट सावधानी अपनाउनु बाहेक आत्तिने र इस्युलाई अनावश्यक तनावपूर्ण बनाउनु गम्भीर सामाजिक अपराध हो । ३ महिना अगाडिको दैनिक मृत्युदर सरदर ८५ हजार हुँदा अहिले समग्र मृत्युदर सरदर ८६ हजारको हाराहारीमा छ । ‘वर्ल्ड पपुलेसन क्लक’ ले गरिरहने निरन्तर तथ्यांक प्रक्षेपण अनुसार आज मिति २०७६, चैत्र  १४ गते अपरान्ह १४ १ बजे विश्वको जनसंख्या ७ अर्ब ७७ करोड ३६ लाख ५६ हजार ७० रहेको छ । सोही समयको जन्मदर २ लाख ७ हजार ७ सय ६९ छ भने मृत्युदर ८६ हजार ८   सय ६० छ । हामीले जति कोकोहोलो गरे पनि समग्र अवस्था सामान्य नै छ । सावधानी अपनाउनु बाहेक हताश हुनुपर्ने कुरा छँदैछैन । आत्मबल बलियो बनाइयो भने यो भाइरस सजिलै हामीसँग पराजित हुन्छ । यो एउटा सृष्टिचक्र हो । यो संसार हामी लोभी पापी एवम् प्यासी मनुष्य जातिले सोचे अनुसार मात्रै चल्दैन । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको एउटा तथ्यांक अनुसार विश्वका हरेक छ जना मानिसमा  १ जनालाई कुनै न कुनै प्रकारको मानसिक समस्या छ ।

 

यसमध्ये म्यानिक डिस अर्डर अर्थात छिन छिनमा मूड परिवर्तन हुने र ‘मेजर डिप्रेसिभ एपिसोड’ अर्थात् निराश भइरहने समस्या अत्यधिक छ । सानु समस्याले पनि यस्ता व्यक्तिहरूलाई तुरुन्त प्रभाव पार्छ । हामी कोरोना भाइरसको विषयलाई लिएर सामाजिक सञ्चार माध्यममा आफ्नो कथित हिरोइजम देखाउन मजाक गरिरहेका छौं, आफंै सर्वज्ञ जस्तो भएर उपदेश दिँदैछौं । यसको प्रभाव कस्तो परिरहेको छ, यो कुरालाई पनि ध्यान दिन उचित हुन्छ होला । मानसिक रूपमा कमजोर व्यक्तिहरूलाई यस्तो अनावश्यक हल्लाले झन् बढी नकारात्मक असर पर्छ । जति मानसिक रूपमा नकारात्मक असर पर्छ त्यति नै सजिलोसँग कोरोना भाइरस संक्रमण हुन्छ । मानिससँग   २ प्रकारको अस्तित्व हुन्छ, एउटा भावनात्मक र अर्को शारीरिक । भावना मनभित्रबाट पैदा हुन्छ । मनले नै मस्तिष्कलाई हाक्छ । शरीरले त्यही भावना अथवा मनकै पोषण पाएर संपोषित हुन्छ । शरीरलाई बाहिरी आहार बिहारले पनि पोषण दिन्छ । जस्तो पोषण छ शरीर त्यस्तै हुँदै जान्छ ।

 

बारम्बार नकारात्मक एवं निराशाजनक समाचारले कमजोर मनोविज्ञान भएका व्यक्तिहरूलाई गम्भीर असर पर्न जान्छ । मानसिक तनाब पैदा हुन्छ । मस्तिष्कका लागि तनाव कोरोना भइरसभन्दा पनि धेरै खतरनाक हुन्छ । तसर्थ अरूको आत्मबल कमजोर हुनेगरी सबलात्महरुले अनावश्यक रूपमा आतंक फैलाउने गरी तथा सन्त्रास पैदा हुने गरी समाचार वा विचार सम्प्रेषण गर्नु दुर्भाग्यपूर्ण कुरा हो । यस्तो बेलामा सामाजिक सञ्जाल मार्फत आफ्नो कथित हिरोइजम प्रदर्शन गर्ने चेष्टा नगर्नु नै राम्रो हुनेछ ।
 

ताजा खबर