शरीर शुद्धिकरणको लागि  बेसार

२०७६ चैत १३ बिहीबार १०:३५:०० मा प्रकाशित

 हामी आफ्नो भान्साघरमा बेसारको  नियमित प्रयोग गर्ने गर्छौँ । एक चिम्टी बेसारले समेत हाम्रो स्वास्थ्यमा अभूतपूर्व लाभ पुऱ्याउँछ । बेसारले रगत सफा गर्ने, रुघा–खोकी निको पार्ने अनि क्यान्सरमा समेत मद्दत गर्नुका साथै योगको अभ्यासमा पनि सहयोग गर्न सक्छ ।

बेसारको बहुगुणी उपलव्धिबारे सद्‌गुरु जग्गीबासुदेवले विस्तृतमा यसरी चर्चा गरेका छन्-

बेसारले तपाईंको रगतलाई सफा गर्दछ, साथै तपाईंका उर्जाहरूलाई निर्मल बनाउँछ । बेसारले तपाईंको शरीरमा मात्रै काम गर्ने नभई तपाईंको उर्जा प्रणालीलाई समेत प्रभावित गर्दछ । यसले शरीर, रगत र उर्जा प्रणालीलाई शुद्ध गर्दछ । शरीरलाई बाहिरबाट शुद्ध गर्नको लागि एक बाल्टी पानीमा एक चिम्टी बेसार हाल्नुहोस् र यो पानीले नुहाउनुहोस्— तपाईंले यो देख्नुहुनेछ कि तपाईंको शरीर जीवन्त र चम्किलो हुनेछ ।

२. बेसार— रुघा, खोकी र चिसोबाट बच्नको लागि

 

 

यदि तपाईंलाई चिसो सम्बन्धी रोगहरू छन् अनि हरेक बिहान नाक बन्द भइरहन्छ भने, तपाईंले नीम, कालो मरिच, मह र बेसारको सेवन गर्नुपर्छ । यसबाट निकै फाइदा हुन्छ । १०-१२ वटा कालो मरिच पिस्नुहोस् अनि यसलाई दुई चम्चा महमा रातभरि (लगभग ८ देखि १२ घण्टा) भिजाएर राख्नुहोस् । बिहान उठेर खाली पेटमा मह खानुहोस् र कालो मरिच चपाउनुहोस् । महमा बेसार मिसाउँदा अझ राम्रो हुन्छ । यदि तपाईंले सबै डेरी पदार्थहरूको सेवन बन्द गर्नुभयो भने, कफको समस्या आफैँ ठिक हुनेछ ।

३. बेसार: क्यान्सर प्रतिरोधक गुण हुन्छ

क्यान्सर आफैँमा कुनै रोग होइन । वास्तविकता के हो भने, तपाईंको शरीरले स्वयं तपाईं विरूद्ध काम गर्ने थालेको हो; शरीरका केही कोषिकाहरूले तपाईं विरूद्ध काम गर्न थाल्छन् । त्यसैले, समय-समयमा शरीरलाई शुद्ध गर्नाले क्यान्सरबाट बच्न सकिन्छ । खाली पेटमा बेसारको सेवन गर्नाले शरीरको शुद्धिकरणमा निकै प्रभावशाली रूपमा काम   गर्दछ । यदि क्यान्सर लागिसकेको छ भने, त्यसबेला यो प्रभावशाली नहुन सक्दछ । तर, अरू बेला हरेक बिहान सबैभन्दा पहिले खाली पेटमा बेसार र नीमको डल्लो (काफलको गेडा जत्रो) खानाले शरीरलाई एकदमै राम्रोसँग सफा गर्दछ, साथै तपाईंको शरीरमा हुने क्यान्सरका कोषिकाहरू हटाउँछ ।

४. बेसार: योग साधनामा लाभदायक

तपाईंले यस धर्तीबाट जे–जति चीजहरू लिनुहुन्छ— तपाईंको शरीर समेत— त्यसमा केही जडता हुन्छ । त्यसैले, यसप्रति सचेत हुन र जडताको स्तरलाई सकेसम्म कम गर्नु निकै महत्त्वपूर्ण हुन्छ । तपाईंको साधनाले काम गरिरहेको छ वा छैन भनेर हेर्नको लागि तपाईं कति सुत्नुहुन्छ र कति सजक रहनुहुन्छ भन्ने कुरामा ध्यान दिइरहेका हुन्छौँ— यी दुवै कुराबाट तपाईंले कति जडता उत्पन्न गरिरहनु भएको छ भनेर थाहा हुन्छ । यदि तपाईंको शरीरले कोषिकाहरूमा एक निश्चित स्तरसम्म उर्जाहरूलाई प्रवेश गर्नबाट रोक्यो भने, शरीरमा जडता बढ्दछ । नीम र बेसारको मिश्रणले शरीरको कोषिकाहरूको संरचनालाई फैलाउँछ, जसकारण यसले सबै छिद्रहरूमा उर्जाहरूलाई प्रवेश गर्न दिन्छ । नीम र बेसारले यस काममा भौतिक रूपमा सहयोग गर्छन्, जबकि साधनाले यही काम सूक्ष्म रूपमा गर्दछ ।

साधना अतिरिक्त अरू पदार्थहरू वा उद्दिपकहरू— जस्तै कि एक कप कडा कफी वा निकोटिन— बाट पनि आफ्नो शरीरमा भरपूर उर्जा सृजना गर्न सकिन्छ । तर, यसले कोषिकाहरूको संरचनालाई फैलाउँदैन अनि तपाईंको प्रणालीमा कोषिकाहरूको स्तरमा उर्जालाई प्रवेश गर्न दिँदैन । जसकारण, तपाईंको प्रणालीमा उर्जाहरू जम्मा हुन     पाउँदैन— उर्जाहरूलाई लामो समयसम्म शरीरमा सम्हालेर राख्ने र आवश्यक परेको बेलामा प्रयोगमा ल्याउने सम्भावना समेत रहँदैन । जब उर्जाहरू सङ्ग्रहित हुन पाउँदैनन् र तुरुन्तै खर्च भइहाल्छन्, त्यसबेला यो निकै हानिकारक हुन सक्दछ । यसले तपाईंको शरीरलाई मात्रै नभई, तपाईंको दिमाग, तपाईंका क्रियाकलाप र गतिविधिलाई असर पुऱ्याउँछ, अनि तपाईंको सेरोफेरोको संसारलाई समेत असर गर्दछ । जब हामी आफ्नो शरीरमा उर्जा उत्पन्न गर्छाैँ, त्यसलाई यत्तिकै प्रस्फुटित हुन नदिएर उर्जाहरूलाई सञ्चय गर्नु अनि आवश्यक परेको बेला रोजाइ अनुसार खर्च गर्न सक्नु एकदमै महत्त्वपूर्ण छ ।

neem

मनतातो पानीमा अलिकति मह मिसाएर नीम र बेसारको डल्लो सेवन गर्नाले कोषिकाहरूको संरचनालाई अद्‌भुत रूपमा शुद्ध गर्नुका साथै विस्तार समेत गर्दछ, जसकारण कोषिकाहरूले उर्जालाई राम्रोसँग जम्मा गर्न सक्षम हुन्छन् । जब तपाईं साधना गर्नुहुन्छ, कोषिकाहरूमा हुने यो विस्तारले तपाईंको मांसपेशीहरूमा लचिलोपन ल्याउँछ । यही लचिलोपनले बिस्तारै–बिस्तारै तपाईंको प्रणालीलाई एउटा शक्तिशाली सम्भावनाको रूपमा स्थापित गर्दछ । तपाईंले यो अनुभव गर्न सक्नुहुन्छ— जब तपाईं विभिन्न आसनहरू गर्नुहुन्छ, शरीरमा अलग्गै किसिमको उर्जा प्रस्फुटन हुन्छ । (स्रोत: https://isha.sadhguru.org)

ताजा खबर