अहिले सरकारका कमजोरी गनेर बस्ने समय होइन

२०७६ चैत ११ मंगलबार १२:२२:०० मा प्रकाशित

 विगत सन्दर्भमा राज्य, सरकार, हामी र कोरोनाको प्रकोप !
 
***
१. राज्य हाम्रो नागरिक अस्तित्वको आधार हो र सरकार हाम्रो अभिभावक र संरक्षक !

त्यसैले राज्य र सरकारलाई बलियो बनाउँदै आफ्ना सुरक्षा र अधिकारहरूका लागि राज्य र सरकारसँग लड्नु पर्ने हाम्रो अवस्था हो !

***
२. सवाल दृष्टिकोणको पनि हो जस्तो कि नेपाल शिक्षक सङ्घ र नेपाल शिक्षक युनियनमा रहँदा उपरोक्त दुवै रणनीतिक भूमिकामा हामी निष्ठापूर्वक संलग्न रहेका थियौँ ! हाम्रा वीच कुराकानी भैरहन्थ्यो —'राज्य र सरकारसँग हाम्रा माग हुन्छन , आशा र अपेक्षा हुन्छन् ,आन्दोलन गर्ने अवस्था आउँछ ! तर कमजोर राज्य र सरकारले हाम्रा माग, आशा र अपेक्षालाई पुरा गर्न सक्ने कुरै आउन्न !

धान्न पनि सक्दैनन् ! हाम्रा माग, आशा र अपेक्षालाई पुरा गर्न पनि राज्य बलियो हुनुपर्दछ ! सरकार सक्षम हुनुपर्दछ ! हाम्रो आन्दोलन सरकारलाई बलियो बनाउने र आफ्ना माग पनि पुरा गराउने रणनीति अनुरूप हुनुपर्दछ I’

अन्तर्राष्ट्रिय दात्री सँस्था र अन्तर्राष्ट्रिय गैर सरकारी सँस्थाले सरकारमाथि दवाव बढाइरहेको समयमा शिक्षा मन्त्रालय र शिक्षा विभागको पक्षमा हाम्रा प्रस्तुतिहरू हुने गरेका तथ्य पनि यहाँ विचारणीय छ I
***

३. अर्को कुरा, आन्दोलनले राज्य र सरकार बलियो पनि हुन्छ, उसको विश्वसनियता र क्षमतामा वृद्धि पनि हुन्छ I तर त्यसको लागि हाम्रा माग र अपेक्षा उचित, मान्य र ग्राह्य   हुनुपर्दछ I सही माग राखेर आन्दोलन गरियो भने त्यसले सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउँछ ! भविष्यलाई उन्नत र सुरक्षित बनाउँछ !

****
४. तर सरकार र राज्य कमजोर भएको अवस्थामा एक पछि अर्को गलत म़ाग राख्दै हामीले राजनीतिक, सामाजिक र पेशागत आन्दोलन गर्दै गर्दा हामी आजको राजनीतिक स्थितिमा छौँ ! संसदमा कुनै दलका सांसदको सङ्ख्या मात्रै राज्य र सरकारको बल होइन , भन्ने कुरा हामीले बुझिसकेको हुनु पर्दछ !

***
५. सरकार र राज्यको बल भनेको स्वयम् नागरिक हुन् र नागरिकको चेतना, शिक्षा, क्षमता,निष्ठा, विश्वास, सम्मान सहयोग, समर्थन हो ! सरकार र राज्यको क्षमता र विश्वसनीयतामा वृद्धि हो I राज्य र सरकारले जनता माझ त्यसलाई आर्जन पनि गर्नु पर्दछ , त्यो अर्को कुरा हो फेरी !

***
६. माग, विरोध,आन्दोलन, समर्थन र सहयोगको अत्यन्त जटील चरित्रलाई मिहिन ढङ्गले बुझ्न सकिएन भने राज्य र सरकार त कमजोर हुँदै जाने मात्रै होइन,हाम्रा माग,सुरक्षा र अपेक्षा पनि तुहिएर जान्छन् I हामी अभिभावकत्व र संरक्षकत्वविहीन हुन पुग्दछौँ ! राज्य असफल हुन पुग्दछ !

***
७. आज कोरोना सङ्कटले मुलुकलाई गाँजिरहेको अवस्थामा सरकारका कमजोरी होलान तर अहिले सरकारका कमजोरी गनेर बस्ने समय होइन ! सरकारलाई बल र भर दिने समय हो I सरकारको निर्णय र निर्देशनलाई अक्षरश पालना गर्ने समय हो ! कोरोना नियन्त्रण कै क्रममा सरकारको आदेश र निर्देशनलाई उल्लङ्घन गर्ने अनि सरकारलाई आलोचना गर्ने त हुँदै होइन !

विज्ञ डाक्टर र प्राविधिज्ञको सल्लाह मान्नु नागरिक धर्म हो !

***
८. अहिले नै राहत र क्षतिपूर्तिको नाउमा असम्भव माग राख्ने समय पनि होइन I कति दिन हो ? कति महिना हो ? के थाहा ?

आज सरकारले दिने त्यस्तो आश्वासन भोली उसले पुरा गर्न सक्ने अवस्था नै नआउने पो हो कि ? अहिले हामीसँग भएको आर्थिक साधन र स्रोतको पनि जगेर्ना गर्ने हो ! के थाहा भोली के परी आउँछ ?

***
९. सरकारले पनि अहिले देखि नै पटुका कस्ने बेला हो यो ! अहिलेको अर्जुन दृष्टि र प्राथमिकता भनेको -- एक कोरोना, दुई कोरोना र तीन पनि कोरोना हो ! जथाभावी खर्च गरेर जाँदा र कोरोना महामारीले उत्पन्न गर्ने आर्थिक संकटले भोली मुलुकहरू ढल्ने अवस्था पनि आउन सक्छ ? इटालीले ६० बर्ष माथिकालाई कोरोना महामारी पीडित भए पनि आइसीयु र भेन्टिलेटर जस्ता सुविधा दिन सक्दिन भनिसक्यो !

***
१०. अहिले कोरोना सँग जुध्न सरकारलाई सहयोग गरौँ ! राज्यको विश्वसनीयता बढाउँ ! यो सङ्कट टरेपछि हिसाव गरौँला सरकारसँग ! अहिले त हाम्रो स्वास्थ्य र सुरक्षाको लागि आँखा चिम्लिएर राज्य र सरकारलाई साथ र सहयोग गर्ने हो र अरू केही गर्न नसके उसको आदेश, सल्लाह र सुझावलाई अक्षरश पालना गर्ने हो ! सरकार र विज्ञहरुको परामर्श माने मात्रै यो सङ्कट सजिलो बन्दै जाने हो !

स्मरणीय छ छाडा र अनुशासनहीन समाजमा कोरोनाको प्रकोप उल्का बढिरहेको देखिन्छ !

***
जय पशुपतिनाथ ! 

 (नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक भट्टराईको फेसबुकबाट साभार)

ताजा खबर