‘बिरालोको प्रेरणाले मैले ३६ दिन लामो उपवास गरें’

२०७६ चैत ६ बिहीबार १७:५०:०० मा प्रकाशित

सबैभन्दा पहिले पशुहरुले नै मलाई भोजन र स्वास्थ्यका बारेमा झक्झक्याएका हुन् । म किसान परिवारमा जन्मिएका कारणले पशुहरुसँग निकै नजिक थिएँ । जब गाई, गोरु, भैंसीहरु बिरामी हुन्थे तब भोजन छाडेर प्रशस्त पानी पिउने र विश्राम गर्ने गर्दथे । जब स्वस्थ हुन्थे पुनः स्वाभाविक रुपमा खान थाल्दथे । सबैभन्दा बढी त मलाई बिरालोले आश्चर्य पारेको   थियो । जब बिरालो अस्वस्थ हुन्छ तब हरियो घाँसको सहाराले उल्टी गर्दछ र खाना छोेडेर पूर्ण विश्राम गर्दछ । देख्दा लाग्दथ्यो कि त्यो मरेको हो । कहिले तीन चार दिन, कहिले त हप्ताभर पनि त्यसरी रहेपछि पुनः स्वस्थ भई स्वाभाविक स्थितिमा आउँथ्यो ।

यी कुराहरुले मेरो दिमागमा भोजन त्याग र स्वास्थ्यका बारेमा एक प्रश्न चिन्ह खडा गरेको थियो । बिस्तारै पछि मैले उपवास चिकित्साका अनेकन पुस्तकहरुको अध्ययन गरें । साथै लामा–लामा उपवासहरु गरें । क्रमशः बढाउँदै १–२ दिनका छोटा उपवासहरुबाट ५– ७ अल्पउपवास र ३६ दिनको लामो उपवाससम्म गरें । यी सबै उपवासका अनुभवहरुबाट मैले यो भन्न सक्ने अनुभव प्राप्त गरें कि–‘उपवास चिकित्सा चिकित्साजगतका लागि पुनर्जीवनको महाकल्प हो एवं उपवास शारीरिक स्वस्थता र मानसिक प्रखरताका लागि पूर्णतः वैज्ञानिक विधि हो ।’

उपवास एक प्राचीनतम पूर्वीय चिकित्सा पध्दति हो । उपवासलाई कहीं आध्यात्मिक उन्नतिका लागि त कहीं रोगको उपचारका लागि प्रयोग आरम्भदेखि नै गरेको पाईन्छ । उपवासको शाब्दिक अर्थ सम्पूर्ण ठोस एवं तरल पौष्टिक भोजनहरुलाई छोडेर केवल स्वच्छ जल आवश्यकता अनुसार पिई केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई भनिन्छ । 

धेरै दिनका उपवासहरु गर्दा धेरै कुराहरुमा सावधान रहनुपर्दछ । जस्तैः उपवास कस्ता व्यक्तिलाई, उपवास र शरीरमा हुने प्रभाव, उपवासको आरम्भ, उपवासमा उभाड, उपवासको दिनचर्या, उपवास प्रक्रिया र सावधानी, उपवासको साथमा अन्य उपचार तथा सुश्रुषा, उपवास र मानसिक मौन, उपवासको समाप्ति आदि ।

उपर्युक्त कुराहरुमा पूर्व ज्ञानविना गरिने लामा उपवासहरु जीवनदायी नभई मृत्युको कारण पनि हुन सक्दछन् । यसैले लामा उपवासहरु अनुभवी र योग्य चिकित्सकको निर्देशनमा घरमा नभई योग एवं प्राकृतिक चिकित्सा केन्द्रमै रहेर गर्नु पर्दछ । घरमा लामा उपवासहरु गर्दा एक त संकटकालीन अवस्था अचानक आएमा या उभाड एवं शारीरिक प्रतिप्रभावमा ठीक रेखदेख हुन सक्दैन । दोस्रो, उपवासकालीन उपचारहरु जस्तै– एनिमा, कटिस्नान, पेड्डुपट्टी आदि हुन पाउँदैनन् । त्यसभन्दा पनि मूलभूत कुरा उपवासको ज्ञान नभएका घरपरिवार एवं समाजका सदस्यहरुले उपवासलाई भुखमरीसँग दाँजी अनेकन अनावश्यक कुराहरु गरी रोगीको शारीरिक स्थितिमा तनाव उत्पन्न गरेर विपरित स्थिति पैदा  गरिदिन्छन् । 

चिकित्सकको निर्देशनमा उपवास गर्नाले चिकित्सकले रोगीको शारीरिक स्थिति र वातावरणको आधारमा, रोगीको मानसिक स्थिरता र उपवासप्रतिको विश्वास एवं दृढताको आधारमा, रोग एवं आकृति विज्ञानको आधारमा के कसरी कति लामो उपवास गराउने भन्ने निर्णय गर्दछन् । कहिले उपवास बीचैमा तोड्नुपर्ने हुन्छ त कहिले सोचेभन्दा बढी लम्ब्याउनुपर्ने हुन्छ । चिकित्सकले हरेक दिनको रोगीको शारीरिक एवं मानसिक स्थितिबारे अवगत गरी उपवासलाई के कसरी अगाडि लैजाने भन्नेमा स्वयं निर्णय गर्दछन् ।
तपाईंहरुलाई लाग्ला भुखमरीले पाँच सात दिनमै धमाधम मानिसहरु मर्न थाल्दछन् तर उपवासमा महिनौं बाँच्नु कपोलकल्पित हो ।

यसबारेमा म के भन्दछु भने, भुखमरीमा हरेक व्यक्ति उत्पन्न संकटावस्थाबाट शारीरिक र मानसिक रुपमा तनावले भरिएको हुन्छ । उसले उत्पन्न संकटावस्थालाई समग्र अभावको विषम अवस्था सम्झेको हुन्छ भने अर्कोतर्फ साथमा मल निष्काशनका लागि प्राकृतिक चिकित्सा विधिहरुको अभावले शरीरभित्र संकलित मलले विषतत्व पैदा गर्न थाल्दछ । यसैले भुखमरीमा मानिसहरु छिटो छिटो मर्न  थाल्दछ । उपवासमा कुनै तनाव हुँदैन । रोगी उपवासलाई आफू स्वस्थ हुन थालेको अभियान सम्झी मानसिक रुपमा प्रफुल्ल हुन्छ । फेरि शरीरभित्र संकलित मल निकाल्नका लागि विभिन्न स्वाभाविक चिकित्सा विधि चलाईन्छ, जसले शरीरगत विषलाई निकाली स्फूर्ति दिन्छ ।

म निचोडमा यो भन्न चाहन्छु कि तपाईंहरु लामा लामा उपवासहरु योग्य चिकित्सकविना नगर्नोस् तर सप्ताहमा एक दिन अनुकूल पर्दछ भने पूर्णतः जल पिएर उपवास बस्नुहोस् । जलको भरमा रहन सक्नुहुन्न भने फलफूलको रस थोरै थोरै एकपटकमा ५० मिलिलिटर प्रति ४ घण्टा पिउनुहोस् या त महपानी पिएर रहनुहोस् । एकदिनमा ५०  ग्रामभन्दा बढी मह नपिउनुहोला । यसरी पनि नसके रसदार फलफूल खाएर बस्नुहोस् र पनि नसके कुनै पनि फलफूल र सागपात उमालेर खाएर बस्नोस् । फलफूल एवं सागपात ९०० ग्रामभन्दा बढी नहोस् र तीनपटक ३०० –३०० ग्राम गरी खानुहोस् । यदि जलमात्र पिएर उपवास गर्ने हो भने अर्को दिन बिहान एनिमा (ठूलो आन्द्रालाई सफाई गर्ने डुस) लिनाले लाभमा ५० प्रतिशत वृध्दि हुन्छ । साप्ताहिक उपवास नियमवध्द गरेमा पेटको कुनै पनि समस्या लिएर अस्पताल धाउनु पर्ने हुँदैन । (डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले ‘आरोग्यको मूलबाटो’ पुस्तकमा वर्णन गरेको अनुभवमा आधारित संस्मरण ।)  

  
 

ताजा खबर