के हो अल्जाइमर्स डिमेन्सिया ?

२०७६ चैत ५ बुधबार १८:०४:०० मा प्रकाशित

हृदयरोग, मधुमेह र क्यान्सरजस्ता रोग प्रायः उमेर ढल्किँदै जाँदा देखिने रोग हुन्। यी रोगको एक आपसमा सम्बन्ध छ जस्तै मधुमेह भएको व्यक्तिलाई हृदयरोग हुने खतरा बढी छ। वृद्ध अवस्थामा हुने अर्को समस्या डिमेन्सिया हो। डिमेन्सिया धेरै किसिमका हुन्छन् तीमध्ये बढी देखिने अल्झाइमर्स डिमेन्सिया हो। किन यो रोग लाग्छ भनेर निकै अनुसन्धानहरु भै रहेका छन्। हर्पिज सिम्पेलक्स भाइरसको संक्रमण र अल्झाइमर्स डिमेन्सियाको केही लिंक छ भन्न लागिएको छ। यस्तो संक्रमणको राम्रो उपचार गरेर अल्झाइमर्स रोक्न सकिन्छ कि भन्ने कुराहरु आएका छन्।

कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई डिमेन्सिया (डिमेन्टिया)  नामक रोग लागेको हुनसक्छ। यो रोग लागेपछि सम्झने, आफन्तजनहरुलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाइ, नुहाइधुवाइ तथा दिसा–पिसाब गर्ने जस्ता पहिले गर्दै आएका महत्त्वपूर्ण कार्यहरु गर्ने शक्ति क्षीण हुँदै जान्छन्। यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर बढ्दै गयो डिमेन्सिया हुने सम्भावना पनि बढ्दै जान्छ। प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९०–९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने हो। मस्तिष्कमा रोग नलागेका नब्बे वा सय वर्षका वृद्धवृद्धामा डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा ‘स्मृति भ्रंस” भन्ने रोग तीन हजार वर्षभन्दा पहिलेदेखि नै छ जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको छ।

मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठीक, बेठीक कुराको निर्णय लिने गर्छ। यस्तैगरी हिसाब गर्न सक्ने आफू कुन ठाउँमा छु, के कस्तो अवस्थामा छु, आफ्नो घर÷डेरामा कुन–कुन बाटोबाट र  कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्दहरुको चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ। तर डिमेन्सिया रोग सुरु भएपछि यस रोगका  लक्षणहरु बिस्तारै  देखिन थाल्छन् र अलि अलि गरेर बढ्दै जान्छन्। रोग बढी सकेपछि मस्तिष्कले पहिले सहज रुपमा गर्दै आएका कामहरु र खास गरेर पहिले सजिलै सम्झिने कुराहरु बिर्सन सुरु हुन्छ।

डिमेन्सियाका लक्षणहरु

डिमेन्सिया रोग लागेपछि विभिन्न किसिमका लक्षणहरु देखिन्छन्  र यस किसिमका लक्षणहरु परिवारका सदस्यहरुले थाहा पाउन सकिन्छ।

  • गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने हुन्छ।
  • परिवारका सदस्यहरुको नाम सम्झन पहिले कुनै कठिनाइ नहुने गरेकोमा रोग लागेपछि बिर्सी राख्ने र सम्झाए पनि एकैछिनमा बिर्सिने हुन्छ।
  • पैसा, गरगहना, साँचो वा कागजपत्रहरु राखेको ठाउँ प्रायजसो बिर्सिने र घण्टांै खोजी गर्नुपर्ने हुन्छ। (तर कहिले काहीँ बिर्सने जो कोहीलाई पनि हुन सक्छ यसलाई रोग मानिँदैन।)
  • समय तथा स्थानको ज्ञान हराउने।  महिना, बार, गतेजस्ता कुराको सम्झना हँुदैन। आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने हुन्छ।
  • रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने, खाना माग्ने समस्या हुन्छ।
  • आफ्नै छोराछोरी, बुहारीलाई नचिन्ने, हजुर, तपाईं, भन्ने, हुन्छ।
  • आफ्नै परिवारका सदस्यहरुलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि ? सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने जस्ता लक्षणहरु देखिन्छन्।
  •  

डिमेन्सियाका बिरामीहरुमा देखिने सबै लक्षणहरु एकै चोटी देखिँदैनन्। सुरुको अवस्थामा अलि अलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरु पनि देखिँदै जान्छन्। डिमेन्सिया धनी, गरिब, महिला, पुरुष जुनसुकै जातजाति र भाषा भाषीलाई हुन सक्छ। याद राख्नुपर्ने मुख्य कुरा के हो भने डिमेन्सिया रोग हो, बुढेसकालको लक्षण होइन। तर पनि हाम्रो समाजमा यो बुढेसकालका कारण भएको हो भन्ने गलत सोचाइ व्यापकरुपमा छ।

किन यस्तो रोग लाग्छ भन्नेबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन्। मस्तिष्कका स्नायुकोषहरु मर्दै जाने र मस्तिष्कमा भएका केही रसहरु उत्पन्न गर्ने स्नायुकोष (न्यूरोनेस) पनि हराउँदै जाने गरेको पाइएको छ। डिमेन्सिया हुने कारणहरु धेरै छन् तीमध्ये करिब ७० प्रतिशत बिरामी अल्जाइमर्स रोगका कारण हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो। डिमेन्सिया हुन सक्ने अन्य कारणहरुमा अत्यधिक मदिरा सेवन, एचआइभी÷एड्स, पोषण तŒवको कमी, र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन्। डिमेन्सिया रोग लागि सकेपछि उपचार  गरेर पुरै निको हुने सम्भावना निकै कम हुन्छ।

डिमेन्सियाको निदान

धेरै जसो डिमेन्सियाका बिरामीहरुमा लक्षणहरु बिस्तारै सुरु हुन्छन्। सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाइ हुने र रिसाउने लक्षणहरु देखिन्छन्। यस्ता लक्षणलाई परिवारजनले बुढेसकाल लागेर होला भनेर सामान्य रुपमा लिन्छन्।  रोग निकै बढी सकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ।

सुरु सुरुमै रोगको निदान हुन सके केही औषधिहरुको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ। रोग बढी सकेपछि औषधिले रोकथाम गर्न पनि सकिँदैन। त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हुन्छ। परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के कसरी स्याहारसुसार गर्न सकिन्छ भन्ने बारेमा पनि ध्यान दिन तथा तयारी गर्न सकिन्छ।

रोगको निदान गर्ने भनेको बिरामीको सम्झना शक्ति ठीक छ कि छैन भनेर चिकित्सकले परीक्षण गर्ने हो। अन्य कुनै रोगको कारण हो कि ? भनेर खोजिनीति गर्ने र रगत आदिको परीक्षण गर्ने गरिन्छ। उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको रहेछ भने उपचार पछि निको हुन्छ। अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरणशक्ति हराउँदै गएको हो भन्ने एकिन भएपछि बिरामीको स्याहार सुसार र ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ। सुरुको अवस्था हो भने औषधिको प्रयोग पनि गर्न सकिन्छ।

डिमेन्सियाको उपचार

ब्रिटिस मेडिकल जर्नल (जनवरी २०१२) अनुसार एसीटाएल कोलिन नामक न्युरोट्रन्समिटरले मस्तिष्कमा न्युरोन्स (नर्भ सेल्स) हरुबीच नयाँ नयाँ कनेक्सन वा सम्पर्क स्थापना गर्ने काम गर्छ। जति राम्रो र बलियो यस्ता कनेक्सनहरु भए त्यति मस्तिष्क तेजिलो हुन्छ। यो न्युरोट्रान्समिटरको कमी हुँदै जाँदा न्युरोन्सहरु सुक्दै जान्छन्।

एसिटाएल कोलिन उमेर बढ्दै जाँदा, घट्दै जान्छ। जस्तै हाम्रो मांसपेशीहरु कुनै पनि शारीरिक व्यायाम वा परिश्रम नगरे घटदै जान्छन् त्यस्तै मस्तिष्कलाई सक्रिय राख्न व्यायामको आवश्यकता पर्छ।

एसिटाएल कोलिन मस्तिष्कमा कम हुन नदिन के गर्न सकिन्छ त? स्वाभाविक प्रश्न हो। यी पाँच प्रकारका तत्त्वहरुले एसिटाएल कोलिनलाई ब्यालेन्समा ल्याउछन्। ती हुन्, ह्युपरजाइन ए, बाकोपा मोनिएरी, लायन्स मेन मस्रुम, अल्फा जिपिसी÷गिन्को बिलोबा, ह्युपरजाइन ए चीनमा प्रयोग गर्छन् भन्ने सुनेको छु, बाकोपालाई ब्राहमी भन्ने रहेछन्, यो नेपालमा पाइन्छ। शायद गिन्को बिलोब नेपालमा पाइन्छ।

पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थीसम्बन्धी रोगका कारण डिमेन्सिया भएको रहेछ भने त्यसको उपचार गर्नुपर्छ।

विशेष ध्यान दिनुपर्ने कुराहरुः–

  • व्यक्तिगत सरसफाइ र खानपिन आदि साना बच्चाबच्चीलाई गरेजस्तै गर्नुपर्ने हुन्छ।
  •  दिउँसो सुत्न दिँदा राती ननिदाउने समस्या हुने हुँदा राति सुत्ने बानी बसाल्नु राम्रो हुन्छ।
  • खास गरेर शहरमा घरको ढोका, घर कम्पाउन्ड भए ढोका/गेट राम्रोसँग बन्द गर्नु पर्छ, अन्यथा घर वाहिर गएमा बिरामी आफैँ घर पर्किन सक्दैनन् र परिवारलाई बिरामी खोज्न सास्ती हुन सक्छ। बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नं. भएको कार्ड राखिदिएमा हराएमा पनि खोज्न सजिलो हुन्छ। नाम÷फोन नंं भएको ब्रासलेट (चाँदी वा अन्य धातुको) लगाई दिँदा पनि हुन्छ।
  •  अन्य समस्याहरु जस्तै आँखामा मोती बिन्दु, सुन्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदि भए त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ।
  •  लडेर चोटपटक लाग्ने र विभिन्न संक्रमणहरु भएर समस्या हुन सक्ने भएकोले त्यसतर्फ सतर्क हुनु जरुरी छ।
  • निद्रा नलाग्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधहरुको प्रयोग गर्न सकिन्छ।
  • अनुपयुक्त व्यवहार गर्ने जस्तै कपडा खोल्ने, नांगै हुने, यौनागं खेलाउने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्नेजस्ता समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिको प्रयोग गर्न सकिन्छ।
  • बिरामीहरु बिस्तारै आफूले आफ्नो हेरचाह विल्कुलै गर्न नसक्ने अवस्थामा पुग्छन्। उनीहरुका परिवर्तनलाई रोग मानेर गर्न सक्ने रेखदेख गर्नु गराउनु आवश्यक हुन्छ। यसलाई बोझको रुपमा लिएन भने मानसिक तनाव पनि त्यति हुँदैन।

डिमेन्सियाबाट बच्ने उपाय

यो रोगबाट बच्न र बचाउन सकिन्छ कि भन्ने सम्बन्धमा धेरै अध्ययनहरु भएका छन्। तर यसबाट बच्ने उपाय भेटिएको छैन। विभिन्न अध्ययनहरुबाट यो रोगबाट पूरै बच्ने सम्भावना नभेटिए पनि केही  तथ्यहरु भने पत्ता लागेका छन् जुन अवलम्बन गर्दा यो रोग नलाग्न सक्छ।

पहिलो कुरा, स्मरण शक्तिमा कमी आउने अरु धेरै कारणहरु छन्। जस्तै केही भिटामिनहरुको कमी (जस्तै भिटामिन द्य ज्ञद्द ), केही हर्मोनहरुको कमी (ल थाइरोइड हर्मोन) र केही औषधिहरुको प्रयोग जस्तै(ट्रान्क्वीलिजर्स)। त्यस्तै गरेर डिप्रेसन रोग लाग्दा, धेरै मानसिक तनाव हुँदा,  निद्राको समस्याले गर्दा, लागू औषधिको प्रयोग वा धेरै मदिरा पानका कारण पनि स्मरण शक्ति कम भएको हुन सक्छ। यी कारणहरुले गर्दा स्मरण शक्ति कम भएको हो भने, कमी भएको तत्त्व पूरा गर्दा र नोक्सान गर्ने पदार्थहरु छोड्दा फाइदा हुन्छ।

दोस्रो महत्त्वपूर्ण कुरा हो धूमपान नगर्ने, मधुमेह (डाइबिटिज) छ भने राम्रो नियन्त्रण गर्ने, उच्च रक्तचाप छ भने राम्रो नियन्त्रण गर्ने, शरीरको वजन बढी छ भने घटाउने, नियमित शारीरिक व्यायाम गर्ने र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउने। यी प्रयासहरुले हृदयाघात (हार्ट अट्याक) हुनबाट बचाउँछन्। साथै डिमेन्सियाको रोकथाममा महत्त्वपूर्ण योगदान पुग्छ। सन्तुलित भोजन गर्नु र पोषण तत्त्वको कमी हुन नदिनु आवश्यक छ।

टाउकोमा जोडले चोटपटक लागेमा पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ। टाउकोमा चोटपटक नलागोस् भन्नेतर्फ ध्यान दिनुपर्छ।

त्यस्तै तेस्रो महत्त्वपूर्ण कुरा हो मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ। तनाव हुँदा कर्टिसोल भन्ने हार्मोन शरीरमा बढी निस्कन्छ जुन शरीर र मस्तिष्कलाई हानिकारक छ। तनावको राम्रो व्यवस्थापन गर्नु भनेको आफ्ना समस्याहरु मिल्ने साथी वा परिवारका सदस्यसँग भन्ने, समस्या समाधान गर्ने प्रयास गर्ने, शारीरिक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवण आदि हुन्। यसबारे थप जानकारी विशेषज्ञबाट लिन सकिन्छ।

भनिन्छ, मस्तिष्कलाई कि त प्रयोग गर कि गुमाऊ। केही काम छैन भनेर चुप लागेर निराश भई बस्नुको बदला नयाँ–नयाँ विषयबारे पढ्ने, सिक्ने गर्दा फाइदा हुन सक्छ।

स्वस्थ जीवनशैली अवलम्बन गर्दा डिमेन्सियालगायत धेरै रोगबाट बच्न सकिन्छ, त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुनेछ। (एजेन्सीको सहयोगमा) 

ताजा खबर