प्रचण्डको खतरनाक रणनीतिको शिकार बन्दै एमाले

चिया पसलमा मदन कमरेडलाई कुर्दै गर्दा धेरै समय भयो अनि मैले आफ्ना लागि चिया अर्डर गरेर बसेको थिएँ । त्यतिकैमा साइकलमा सरर्र आउनु भयो मदन कमरेड अनि रोकेर साइकललाई डबल स्ट्याण्ड लाउनु भयो र सरासरी म भएको ठाउँमा आउनु भयो । म उठेर अभिवादन कमरेड ! भने पछि उहाँले सदा झैँ ‘के छ हाल खबर’ भनेर सोध्नुभयो । 

मैले उहाँको स्वर तथा अनुहारमा त्यति उत्साह देखिन । जवाफमा मैले भने– ‘ठीकै छ भनुँ भने ठीक छैन, छैन भनँु भने काम गरेकै छु । दुई छाक मन लागेको खान पाएकै छु । मोटरबाइक चढेकै छु । आफ्नै घरमा बसेकै छु ।’

मेरो कुरा सुनिसकेपछि ‘देशको हालखबर नि’ भनेर उहाँले थप्नु भयो । मैले पनि खरर्र सुनाएँ देशको खबर– ‘देश त छैन ठीक । लगभग दुई तिहाईको सरकारले राम्रोसँग काम गर्न नदिइएको अवस्था छ । विदेशी सामु नेपाल सरकारको विश्वसनियता खस्कँदो छ । वेरोजगारी बढ्दो छ, युवा कामको खोजीमा विदेश पलायन हुने क्रम बढ्दो छ । जसका कारण ग्रामीण क्षेत्रमा कृषि योग्य जमिन बाँझो हुने क्रम बढिरहेकै छ । तराईका युवा पलायनका कारण त्यहाँ सामाजिक कुरीतिहरु ब्यापक बढेको छ । तराईका जङ्गल तथा खोलामा रहेको बालुवा ढुङ्गा ब्यापक रुपमा सरहद बाहिर चोरीनिकासी बढ्दो छ ।’ 

मेरा कुरा सुनिसकेपछि उहाँले ‘के देशमा बिकास भएकै छैन त ? भनेर प्रतिप्रश्न गर्नुभयो । मैले भनें– बिकास पनि भएको छ । तराई, पहाड तथा हिमालका ग्रामीण वस्तिका बाटोहरुमा कालोपत्रे पनि भएको छ । तर तराईका मधेशी मूलका वासिन्दा भएका स्थानहरुमा कागजी बिकास भएको छ । यथार्थमा भएको छैन । त्यहाँ भ्रष्टाचारले चरम विन्दु पार गरेको छ । पहाडिया जनप्रतिनिधि भएका नगर तथा गाविसहरुमा केही बिकास भएका पनि छन् तर तराई मधेशी समुदायमा मधेशी जनप्रतिनिधि भएका स्थानको अवस्था चरम भ्रष्टाचारमा छ । त्यहाँ बिकासको कुनै सपना नै पनि पुग्दैन अपवाद वाहेक । चुरे तथा समथर जङ्गलहरु नाङ्गो छन्, जसका कारण मरुभूमिकरण बढ्दो छ । यही अवस्थालाई रोक्नका लागि सुरक्षा निकायलाई जिम्मा नदिने हो भने एक दशकमा ‘तराईको बन, हरियो धन’ भन्ने उखान मात्र रहने सम्भावना छ ।’

यसपछि उहाँले केही भन्न खोजेको बुझेर म चुपलागेँ । अनि उहाँले एउटै कुरा सटिक तरिकाबाट भन्नु भयो । ‘नीतिहरुको सवैभन्दा ठूलो नीति भनेको राजनीति हो, जुन देशमा राजनीतिले सही मार्ग तय गर्दैन, त्यो देशमा विचलनका सवै श्रृङ्खलाहरु देखिन्छन् । जुन नेपालमा भै रहेको छ’ भनेर उहाँले सवै विसङ्गतीको दोष ठूला दलका नेतृत्वलाई दिनुभयो । अनि प्रश्न गर्नुभयो– ‘लगभग दुई तिहाईको सरकार छ काम त हुनु पर्ने हो हैन र ?’

 मैले भने– ‘कमरेड बिकास निर्माणका कामहरु नभएका हैनन् तर सही तौरतरिकाले भएका छैनन् । एउटै उदाहरण हेरौं न’ भनेर अनामनगरको चिया पसल अगाडिीके सडक तर्फ देखाउँदै मैले वर्णन गरें– ‘ त्यहाँ हिजो राती पिच भयो, विहान हिँड्नेहरुले अब सडकमा खाल्टो पार्ने दिन नजिकिँदै छ । विगतमा यही भएर हुनु पर्छ जनतामा पिच भएपछि अब खाल्डो पार्ने काम सुरु हुन्छ भन्ने सोचमा हुन्छन् भन्ने गरिन्छ । सडक विभागमा कार्यरत प्रमुख ईञ्जिनियर देखि साधारण सब ओभरसियर या बिटुमिन (अलकत्रा) चेक गर्ने जाँचकीसम्मका असी प्रतिशतका घर जग्गा ठडाउने कार्यको जिम्मेवारी यही सडकको कालोपत्रेले बोक्नु पर्ने हुन्छ । के छ भने जव सडकमा पाइप, ढल या अन्य कुनै काम हुन सुरु हुने अन्तिम तयारी हुन्छ अनि सडक कालोपत्रेको काम सकिन्छ । बिजुलीका तारहरु पोलबाट अण्डरग्राउण्ड हुँदैछ रे, त्यसको लागि पिच भएको रे । ताकी अर्को कालोपत्रे गरेर टेवल मुनिको द्रब्य झ्वाम्म पारौं । नेपाल टेलिकमलाई माया गर्ने कुनै पार्टीका झण्डा नबोक्ने कर्मचारीहरुको गुनासो सुन्नमा आउँछ, उपत्यकामा मात्रै लगभग ५ अर्बको तामाको तार माटोमुनी पहिला प्रयोगका लागि राखिएका तर अहिले काम विहिन अवस्थामा रहेका छन् रे । राजधानीको यो हविगत छ अन्य ठाउँको के अवस्था होला ?’

हामी दुवै चियाको चुस्कि लाउँदै थियौं । त्यतिकैमा मैले मदन कमरेडलाई सोधेँ– ‘कमरेड अहिले नेता बामदेबलाई जस्केलोबाट राष्ट्रिय सभामा लैजाने निर्णय गरेर प्रधानमन्त्रीको घाँटी किन निमोठेको ?’ उहाँले मेरो जिज्ञासाको छोटकरी जवाफ दिनु भयो– ‘एमालेले पहिलो गल्ती माओवादीलाई आफ्नो पार्टीमा मिसाउनु नै हो । हेर सुनिल, प्रचण्डले जोसँग सहकार्य गरे त्यसैलाई ध्वस्त नपारेको आजसम्म रेकर्ड कहीँ छैन । अब एमालेको पालो आएको छ ।’ 

अनि मैले सवै कुरा नबुझी छोड्नेवाला छैन भन्ने बुझेर होला उहाँले अलि बिस्तारमा बताउनु भयो– ‘काँग्रेसलाई रसातलमा पुर्याउने अरु कोही हैन प्रचण्ड नै हो । गिरिजा बाबुलाई कहिले राष्ट्रपतिको, कहिले छोरी सुजातालाई प्रधानमन्त्री बनाउने लालसा देखाएर राज संस्थालाई राजनीतिको मूलधारबाट बाहिर राख्न सफल भए । अब केही दशक नेपाली कांग्रेस नेपालको राजनीतिबाट किनाराको साक्षीको रुपमा पनि रहँदैन । जसलाई हरसम्भव त्यसका नेता शेरबहादुर तथा रामचन्द्रले पुरा गर्दैछन् । अनि त्यसपछि एमालेको पाली । यो सव बखेडाको जड भनेको प्रचण्ड नै हो । प्रचण्डलाई संसदीय अभ्यास नेपालमा अफाप छ भन्ने प्रमाणित गराएर देखाउनु छ दुनियाँलाई अनि मात्र जनवादी सत्ता । म एउटा यथार्थ सुनाउँछु- 

भएछ के भने माओवादीका केही वरिष्ठ नेताहरु प्रचण्डकोमा गएछन् र प्रचण्डसँग एमालेका नेतृत्वबाट हेपिनु परेको भनि असन्तुष्टी पोखेछन् । यसरी सँगै बस्न सकिँदैन कमरेड अब भनेपछि प्रचण्डले अहिले पनि हामी जनयुद्धमै छौं । फरक यत्ति हो त्यो वेलामा जङ्गलमा बन्दुक र बम सहित थियौं अहिले संसदबाट । त्यो बेलामा हत्या गरिन्थ्यो अहिले शासकहरुको मनमा विचलन ल्याउनु परेको छ । अहिले पनि जनयुद्ध जारी छ । जसमा चैते माओवादी (भूमिगत हुँदा एमाले या अन्य दलमा रहेका तर २०६३ पछि माओवादीको सदस्य भएका) को पनि सहयोग पाइएको छ । तर यिनीहरु लोभीपापी हुन्छन् त्यागी हुँदैनन् । अहिले पनि म नै सुप्रिमो हुँ, यहाँहरु मेरो सहयोद्धा । त्यसैले केही महिना अझै कुर्नुस् । केपीको अब धेरै दिन छैन, त्यसपछि त मै हो । अनि एमालेलाई घोडा चढांैला । केपी पछि माधब, बामदेबहरु केही हैनन् यिनलाई त नाकमा नत्थी लाउन सकिन्छ । अहिले केही बोल्यो भने एमालेहरुले मलाई बाँकी राख्दैनन् । त्यहाँ ईश्वर पोख्रेल पनि छन् । अझ प्रदिप नेपाललाई भूमिकाविहिन बनाइएको रहेछ, त्यो बडा ठीक भयो । यदि प्रदिप नेपाल र ईश्वर पोख्रेल दुवै रहे भने त फलामको चिउरा नै हुनेछ हाम्रो लागि । यो पार्टी आफ्नो हातमा आएपछि गाउँ गाउँमा हाम्रोमा पकड रहन्छ । त्यसपछि देश हाम्रो कब्जामा जान्छ अनि जनवादी सरकार बन्छ । अहिलेलाई आ–आफ्नो मोर्चा सम्हाल्नुस् जानुस् भनेर पठाए ।’ 

कमरेड मदनले अझ थप्दै रोचक कुरा सुनाउनु भयो– ‘त्यसै मुताविक अहिले केपीको सरकारलाई असफल बनाउने प्रयत्न जारी छ । जुन पुरा गर्न कहिले माधव नेपाल त कहिले बामदेब र कहिले झलनाथलाई प्रयोग गरिएको छ । निर्वाचनमा हारेका बामदेबलाई सरकारी सिफारिसमा पुनः सभासद बनाएर जग हसाउने काम गरिँदैछ । संसदीय मान्यता बोकेर लामो अभ्यास गर्ने देशहरुले के भन्लान् ? अनि जनताले कसरी लेलान् सत्ताधारी दललाई ? संसदीय अभ्यासमा रहेपछि पार्टीले संसदीय दलको नेता बनाएर पठाएपछि उसलाई सरकार चलाउने पूरापूर अधिकार रहन्छ । यदि संसदीय दलको नेताको काम कारवाहीमा चित्त बुझेन भने संसदीय दलको नेतृत्व फेर्ने अधिकार पार्टीमा सुरक्षित नै रहेको हुन्छ तर त्यसो नगरी पार्टीको निर्णय जवर्जस्ती लादेर प्रधानमन्त्री पदको तेजोबध गरिँदैछ, जुन संसदीय अभ्यासको धब्बाको रुपमा हेरिन्छ । यो किन भैरहेको छ भने बुझ्न त्यति कठिन नै छैन । प्रचण्डलाई संसदीय अभ्यासमा जानु नै छैन । देशलाई जनवादी सत्ताको अभ्यासमा लानु उनको प्रमुख ध्येय हो, जुन कुरा अध्ययनशील झलनाथ खनाल, मध्यमार्गी माधव कुमार नेपाल या तिनै जुझारु बामदेबले यसो नगरांै भन्ने हिम्मत जुटाउन नसकेको देखिन्छ ।’

कमरेड मदन आज निकै खुलेर अगाडि बढ्नुभयो । उहाँका कुरा सकिएकै रहेनछन् र थप्नुभयो– ‘हेर सुनिल शक्ति राष्ट्रले ढिलो चाँडो संयुक्त राष्ट्र संघमा नेपालको शान्ति प्रकृयाका वारेमा कुरा उठाउने छन् र सत्ताधारी दलका नेतृत्वमा विभाजन आउनेवित्तिकै उनीहरुले द्वन्दकालिन मुद्दाको निहुँमा आफ्नो उपस्थिति नेपाल भित्र देखाउने सम्भावना बढ्दै गएको छ । उनीहरुले भारत र चीनलाई चिमोट्ने छन् । नेपालका नेतृत्वले कसरी व्यवस्थापन गर्छन्, उनीहरुको काममा भर पर्छ ।’

उहाँका कुरा चाख मानेर सुनिरहँदा मैले जिज्ञासा राखें– ‘कमरेड सत्ताधारी दलमा दुई धार देखिन्छन् । एउटा लामो समय देखि संसदमा अभ्यस्त र अर्को हजारौं निरीह जनताको हत्या गरेर आएको दल । यिनीहरुको गठजोड हेर्दा लामो जाला जस्तो देख्दिन त ।’ 

उहाँले मेरो जिज्ञासा शान्त पार्दै भन्नुभयो– ‘हेर सुनिल, अहिलेको अवस्था हेर्नु भन्दा पहिला नेपालको राजनीतिलाई चार पाँच दशक अगाडिको प्रसंगतिर जानु पर्छ । २०१७ सालमा चालिएको कदम त्यसै आएको हैन रहेछ भन्ने पुष्टी हँुदै गएको छ । तत्कालिन राजाले दुई तिहाइको सरकारलाई बर्खास्त गरेर २०१९ को संविधान ल्याउनु परेको हुनुपर्छ दक्षिण एसियाको सुरक्षाको लागि । नेपाल भूगोलको हिसावले सामरीक रुपमा महत्वपूर्ण स्थानमा छ । कुनै पनि कदम चालिनु भन्दा अगाडि धेरै कुराको सोचबिचार भएर नै यस्ता कदम चालिएका हुन्छन् । तत्कालिन प्रधानमन्त्री वीपी कोइराला हुँदाहुँदैको अवस्थामा त्यो कदम चालिएको थियो । तत्कालिन अवस्था वीपीको भारत भ्रमण हुने भएपछि वीपीले टङ्क प्रसाद आचार्यलाई बोलाएर मोरु १० हजार टङ्क प्रसाद आचार्यलाई दिएका थिए रे । उनले म भारत पुगेपछि मेरा विरुद्ध ठूला नारा लगाउनु जसका कारण भारतले मलाई कुनै सम्झौता गर्न दवाव दिने वातावरण नबनोस् । वीपीको अनुरोध बमोजिम काठमाडांैमा उनका विरुध्द नारा लाग्यो र भारतले सन्धी गर्न दवाव दिन सकेन । त्यस्तै कुनै हतकण्डा रचेर नै पनि २०१७ सालमा राजाले सो कदम चालेको हुनु पर्छ भन्ने भनाई पनि तत्कालिन अवस्थामा चासो राख्ने बूढापाकाहरुले भन्ने गर्दछन् । यस्ता धेरै कुराहरु मसिनो गरी बुझेर मात्रै नेपालमा सत्ता चलाउन सकिन्छ । 

मैले त्यसै जबज ल्याएको हैन नि सुनिल । वास्तवमा अहिले कम्युनिष्ट सिद्धान्तको अभ्यास विश्वमा एक दुई देशमा भन्दा अरुमा छैन । अव जनवादी सत्ताको दिवा सपना देख्नु भन्दा सबै शक्तिलाई एकैठाउँ समेटेर देशलाई बलियो बनाउन जरुरी छ, यसैमा सवैको भलो छ अनि देश बिकास पनि हुन्छ ।’

यत्तिकैमा मदन कमरेड हातको घडी हेर्दै ‘आजलाई अब जाउँ पनि भनि विदा माग्नु भयो । डि.सी.का कमरेडहरु आउँदै हुनुहुन्छ । बैठक छ त्यसको तयारी पनि छ’ भन्दै कमरेड साइकलतिर सोझिनु भयो । अनि म पनि आफ्नो बाटो लागेँ । (फायल तस्बिर)

ताजा खबर