आर्थिक ठगिका अनेक रुप र फितलो अनुगमन 

२०७६ फाल्गुण २२ बिहीबार ११:१०:०० मा प्रकाशित

कसैले ठगी गर्न वा गराउन हुँदैन भनेर ठगी गर्ने कार्यलाई अपराधिकरण गरेको छ, अपराध संहिताले । अपराध संहितामा थप लेखिएको छ– कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पु¥याएमा वा आप्mनो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ । 

तर, स्पष्टिकरण खण्डमा ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै लिखत गराएको रहेछ भने त्यस विषयमा लिखत बमोजिम हुनेछ भनेर लेखेको पाइन्छ । ठगीमा सजाय सम्बन्धी निम्न व्यवस्था रहेको छ । भ्रष्टाचारबाहेक नेपाल सरकार वा नेपाल सरकारकोे पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था हाल कायम गरेको छ । 

मुलुकी ऐन २०२०

कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल–अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेकोछ उसलाई ललाई–फकाई वा जाल परिपञ्च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई, दिई वा पेश गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरू जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल–अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएकोछ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए बिक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ भनी परिभाषित गरेको पाइन्छ । कसैले आफ्नो नाउँ ढाँटी सो नाउँ मेरो होइन, अर्कैको हो भनी वा सो मानिस म होइन अर्कै हो भनी र अर्को मानिसको नाउँलाई मेरो हो सो मानिस मै हुँ भनी भन्नु वा त्यस्तो कुरा अर्काबाट जानी बुझी भनाउनु भनी दिनु इत्यादि जुनसुकै कुरो गरी होस् कसूर सजायबाट बच्नाका लागि वा बेइमानीका नियतसँग अरू कसैलाई धोका, गफलत वा झुक्यानमा पारी अर्काको नोक्सान वा आफ्नो फाइदा हुने काम गरेमा ठगी गरेको ठहर्छ भनेर अपराधमा राखेको थियो ।

गाउँसमाजमा हुने सामान्य ठगि

हाम्रो समाज अशिक्षित छ । अशिक्षा हटाउनको लागि शिक्षा दिन जरुरी छ । त्यसको लागि सन्तानलाई स्कुल कलेज पढाउन पठाउनु पर्छ । १ कक्षादेखि १० कक्षासम्मको पढाइ समान्य पढाइ हो । यसले सामान्य कुरा बाहेक सिकाउन सक्दैन । तर, उच्च शिक्षाले व्यवहारिक कुरा सिकाउँछ । व्यवहार सिक्न पढ्नु र पर्नु दुवै पर्छ । सन्तानलाई पढाएमा अनावश्यक ठगीबाट बच्न सकिन्छ । यहाँ सामान्य ठगी किन भनिएको हो भने समाजमा सामान्य व्यवहारमा पनि ठगीजन्य काम हुने गरेका हुन्छन् । समाज ऐंचोपंैचोबाट चलेको हुन्छ । त्यसको फाइदा उठाएर सोझासाझा व्यक्तिलाई बाठाले ठग्ने गर्छन् । समाजमा चतूर व्यक्तिले बढि बठ्याइँ गर्छन् । ठगिंदैछु भन्ने कुरा सोझो व्यक्तिले बुझ्न सक्ने ल्याकत राख्दैन । त्यसको लागि व्यवहार केलाउन सक्नु पर्छ । मान्छे लोभको कारण ठगी गर्नतिर लाग्छन् । सामान्य व्यवहारमा हुने ठगीहरु यसमा पर्छन् । सामान्य व्यवहार भन्नाले त्यस्तो व्यवहार हो, जसमा ठगिनेलाई खासै असर गर्दैन । लोभका पनि प्रकार हुन्छन् । दाल चामल, दुध दही महि, घाँस दाउरा, कुलो पानी पँधेरो जस्ता कुरामा हुने ठगिहरु यस वर्गमा पर्दछन् । 

आर्थिक ठगी 

समाज झन् जटिलतातिर जाने क्रममा अर्थ बलियो हुन्छ । अर्थ भन्नाले रुपैयाँ पैसाको कुरा आउँछ । अर्थ भन्दा बचन बलियो भएको समाज पनि थियो तर अहिले बचन भन्दा अर्थ बलियो हुने बेला आयो । त्यसैले आजकल कागज गरेर मात्र लेनदेन गर्ने चलन हुन्छ । आर्थिक ठगिका पनि प्रकार हुन्छन् । कुनै बैंकिङ ठगिमा पर्छन् भने कुनै सहकारी ठगिमा ।

बैंकिङ ठगी

सोझासाझा व्यक्तिको सोझोपनको फाइदा समाजमा भएको बाठो मान्छेले उठाउँछ र मनग्गे कुम्ल्याउँछ । बैंक भनेपछि सोझासाझा व्यक्तिले पूर्ण विश्वास गर्छन् । यो एक यस्तो संस्थामा जहाँ सबै नागरिकले आफ्नो आर्जित धनलाई राख्ने सुरक्षित ठाउँको रुपमा बुझ्छन् । तर, यहाँ बाठा कर्मचारी र बाहिरका बाठा मान्छे मिलेर सोझा मान्छेले दुःख गरेर कमाएको लुटी खान्छन् । त्यो कुनै ऋणको रुपमा हुन सक्छ । यसमा कमसल धितोलाई अब्बल ऋण दिएर ठगी गरिन्छ । यस्तो ठगी ठगी होइन । पछि यो अपराधमा परिणत भएमा यो बैंकिङ्ग कसूरमा गनिन्छ । यसैमा अर्को किसिमले पनि ठगी गर्न सकिन्छ । जस्तो सोझासाझा व्यक्तिको सस्तो जग्गालाई बढि मूल्यांकन गर्न लगाइ ऋण दिने र पछि ऋणको सानो अंश जग्गाधनीले पाउने बढि रकम बाठोले कुम्ल्याएर पनि ठगी गरिन्छ ।

सहकारी ठगी 

चना बेच्ने, ठेलामा साग तरकारी बेच्ने, डोकोमा किराना चलाउने लगायतका व्यक्तिको दिनभरीको कमाइ थोरै बचत गर्ने मनसुवाले आफ्नो चिनेको, नजिकको नातेदार वा अन्य कसैबाट सूचना पाई सहकारीमा रु. १०० का दरले रकम जम्मा गर्ने गरिन्छ । ताकि भनेको बेला सानै भएपनि रकम झिक्न पाइएला भन्ने मनसुवा राखिएको हुन्छ । सहकारीमा पनि यस्तै बाठा मान्छेहरु हुन्छन् । जसले आफूलाई फाइदा हुने गरी कानुन बनाएका हुन्छन् । आफूखुशी संचालन हुने सहकारीमा २।४ जनाको मिलेमतोमा सबै कुलेलम ठोकेर पनि ठगी गर्ने चलन छ नेपालमा । जम्माकर्तासँग विकल्प भनेको उजुरी हाल्ने मात्र हो, त्यो पनि प्रहरीले सहज रुपमा लिइदियो भने नत्र त आफंैले दुःख गरी कमाएको रकम अर्कैले एकलौटी लिई खाई पचाइ दिन्छ । अदालतले फैसला गरिहाले बढिमा ४ वर्षको जेल सजाय होला । अर्बौं कुम्ल्याउनेलाई ४ वर्ष बढिमा सजाय गर्न पाइने व्यवस्था रहेको छ । ४ वर्षमा अर्बांै कमाइ हुन्छ भने बाठो मान्छे बरु ठगेरै भएपनि ठग्न उद्यत हुने नै हुन्छ ।

ढुकुटी/हुन्डी ठगी 

यस्ता काम देशले गैह्रकानुनी घोषित गरेको काम भएपनि काठमाण्डौकै सम्भ्रान्त परिवारका व्यक्तिहरु आजको दिनमा पनि यस धन्दामा लागेको पाइन्छ । यो एक समूह हो । यसमा ५ - १० - १५ जना मिलेर एउटा समूह बनाइन्छ । प्रत्येक महिनामा एकचोटि जम्मा हुने र सबैले निश्चित रकम जम्मा गर्ने हुन्छ । र आलोपालो गरी जम्मा भएको रकम एकजनाले उठाउने चलन हुन्छ । इमान्दार व्यक्तिले ब्याज सहित फिर्ता गर्छन् र अर्को व्यक्तिले त्यसैगरी लैजान्छ तर बाठो ठग रहेछ भने उसले अन्तिममा लैजान्छु भन्छ र जुन दिन करोडौं रकम जम्मा भएको हुन्छ त्यतिखेर उ रकम लिएर बेपत्ता हुन्छ । अहिलेसम्म सबैले जम्मा गरेको रकम झ्वाम गरेर पनि ठगी हुने गरेको पाइन्छ । यस्तो हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी यसमा लागेका हुन्छौं । राज्यले यसलाई गैह्रकानुनी घोषित गर्दा पनि यो व्यवस्था हटेको पाइदैन । अब त झन् बैंक ऋण पाइनै छाड्यो मान्छे झन यसमा लाग्ने सम्भावना बढेर गएको देखिन्छ  । हुन्डीलाई विदेशमा काम गर्ने कामदारले रकम पठाउने माध्यमको रुपमा मात्र प्रयोग गर्नुपर्नेमा ठगीको रकम व्यवस्थापनको माध्यम एक हुन्डी पनि हो । 

रोजगारमा हुने ठगी 

ठगीको माध्यम रोजगार पनि हो । अहिले विभिन्न कानुनी झन्झटबाट मुक्ति पाउन धेरैले आउट सोर्सिङ कम्पिनहरु स्थापना गरेको पाइन्छ । यो आउट सोर्सिङ कम्पनीको अवधारणा आफैंमा राम्रो हो तर यसबाट पनि ठगिनेको संख्या कम छैन । जस्तो कि रोजगारदाता जहिले कम दिन चाहन्छ र बढि कमाउन चाहन्छ । रोजगारदाता सिधै अहिले कर्मचारी लिन मान्दैनन् । किनभने श्रमकानुन कडा रुपमा आएको छ । रोजगारदाता बरु केही रकम विचकोलाई दिएर भएर पनि कानुन अड्चनबाट जोगिन चाहन्छ । सोही जगमा यस्ता थुप्रै कम्पनी छन् जसले आउट सोर्सिङको काम गर्छन् । हुनत रोजगारी पनि चलेको भएतापनि रोजगारदाताले आउटसोर्सिङ कम्पनीलाई भन्दा सिधै श्रमकिलाई दिएको भए सायद श्रमिकले सबै रकम पाउन सक्थे । यसैमा विभिन्न टे«ड युनियनहरुको पनि रोजगार चलेको हुन्छ । श्रमिकहरुलाई उचालेर उजुरी गर्न लगाउने पछि रोजगारदातासँग मिलेर श्रमिक ठगिएका पनि थुप्रै उदाहरण हामि पढ्न पाउँछौ । यसैमा आफ्नैले सेना पुलीसमा जागिर लगाइदिन्छु भन्दै ठगीको कुरै नगरौ । कतिपय नेताको खेती पनि यहि हो । अनुसन्धान प्रहरीमा जागिर लगाईदिने भनेर ठूलो ओहोदाका व्यक्तिले पनि ठगी गरेको उदाहरण हामीसँग छन् । 

वैदेशिक रोजगारीमा हुने ठगी 

माओवादी द्वन्दपछि धेरैलाई वैदेशिक रोजगारीले छोयो । विदेशमा काम गर्ने भनेपछि हाम फाल्ने हाम्रो वानिले धेरै नेपालीहरु बाक्सामा नेपाल फर्केका छन् । नियम कानुन थाहा छैन, रोजगार पाइने भएपछि घरजग्गा बेचेर पनि विदेश जाने तर विदेशमा आफूले काम नजानेका कारण झन तल्लोस्तरको काम गर्नुपर्ने बाध्यता, एउटा कामको लागि भनेर लगियो अर्कै काममा लाग्नु पर्ने बाध्यता, एउटा तलब भनेर लगिएको हुन्छ अर्कै काम गर्नुपर्ने बाध्यता हुन्छ । यस्ता कुरामा कानुन बलियो भएतापनि कार्यान्वयनको पाटो फितलो देखिन्छ । राज्य संयन्त्रको परिचालन राम्रो छैन । पहुँचवालाले सहजै सरकारी सेवा पाउन सक्षम हुन्छन् तर पहुँच नहुनेहरुलाई अपराधी आफैं खोज्नु पर्छ भन्ने जस्तो हाम्रो प्रशासनले व्यवहार देखाइदिएपछि ठगीनेका आँशु बाहेक अन्य केही देखिँदैन । 

जग्गा कारोबारमा हुने ठगी 

एकको जग्गा अर्कैले अर्कैसँग बैना गरेर बैना रकम मात्रै कुम्ल्याएर पनि ठगी गरिन्छ । ठगीका यस्ता उदाहरण निकै पाइन्छन् । ठगी गर्ने भन्दा ठगीनेले यस्ता कुराहरुबाट जोगिनु पर्र्छ । नत्र आजिवन दुःख गरेर कमाएको रकम अर्कैले ठगी गरेर खाइदिन्छ । पछुताउनु बाहेक कुनै विकल्प देखिँदैन । अदालतले न्याय दिन्छ तर केही नभेटिए अन्तिममा न्याय मात्र हातमा हुने अवस्था हुन्छ ।

साथिभाइका कारण हुने ठगी 

साथीभाइलाई निकै विश्वास गरिन्छ । कसैले कसैलाई रकम मागि दिएको हुन्छ । विश्वासका कारण साथिले रकम दिन्छ तर सो रकम उठ्दैन । शुरुमा यस्ता कारोबारी मनग्गे व्याजको प्रलोभन देखाउँछन् । तर, जब तिर्ने बेला हुन्छ बेपत्ता हुन्छन् । रकम लिएर आफुखुशी चेकमा काटेर दिने चलन हुन्छ । चेक त छ भनेर आशा गरिन्छ तर निकै ठूलो रकम तिर्नुपर्ने बनाइसकेको हुन्छ । त्यत्रो रकम तिर्नु भन्दा बरु फरार हुनु बेस भनेर उ आफ्नो सम्पत्ति व्यवस्थापन लगायतका काममा लाग्छ र वेपत्ता हुन्छ । कोही त फर्केर तिर्ने खालका हुन्छन् जसले कामाउँछन् । नत्र त उ आफंै आफ्नो नामै फेरर भएपनि आउँछ । जसलाई हामी चिन्नै सक्दैनौ र हामी ठगिन्छौं । 

ठगीका यस्ता कति हो कति प्रकार छन् । विवाह गर्दा पनि ठगी गरिएको हुन्छ । त्यसलाई पनि कानुनले बर्जित गरेको छ । समाजमा हुने यस्ता ठगीलाई झन बैधता दिने गरिएको  हुन्छ । एउटा दुलाहा देखाएर अर्कैसँग विवाह गरेका कुरा पनि समाचारमा पढ्न पाइएकै हुन्छन् । लोकलाजका कारण यस्ता कुरा धेरै बाहिर आउँदैनन् । ठगीबाट बच्न आफू सजग हुनुको विकल्प छैन । ठगीका अनेक रुप छन् । आफ्ना आवश्यकतालाई कम गर्ने, आफू सहि संगतमा छु वा छैन भनेर यकिन गर्ने र संगत छोड्ने, बाटो देखाउनेले देखाएको बाटोबाट सहि गन्तव्यमा पुगिन्छ त ? भन्ने कुरा जान्न आफूले जानेबुझेको व्यक्तिकोमा गएर सल्लाह गर्ने, कुनै काम गर्नुभन्दा पहिला उसलाई प्रश्न सोध्ने आफूलाई लागेको प्रश्न सोध्ने, बरु नजिकको प्रहरी वकिलकोमा गएर यस्तो काम गरे कसो होला भनेर सोध्ने, एकैचोटी पैसा छ भनेर विश्वास गरि हाल्ने सात्विक वातावरण अहिले छैन । कानुन भएपछि न्याय पाउन कठिन भइसकेको छ । पीडित भन्दा पिडक बाठो हुन्छ उसले सबै व्यवस्थापन गरेरै भएपनि न्याय समेत किन्न पछि पर्दैन । त्यसैले आफू जोगिऔं अरुलाई पनि जोगायौं भने मात्र देश र समाज बाँकी रहने हो नत्र त भावी पुस्तालाई हामीले अपराध बाहेक दिन सक्ने अरु केही छैन । 

ताजा खबर