भाइटीकाको साइत कात्तिक ४ शनिबार ११ः५१ बजे  

२०७४ असोज २९ आइतबार १२:५४:०० मा प्रकाशित

काठमाडौँ, २९ असोज । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् विजय मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए। उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । 

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले बताए। 

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । रासस

ताजा खबर